Skip This
काठमाडौं महानगरको नगरसभा अझै अन्योल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २२:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको नगरसभा अझै अन्योल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २२:o३:oo

उपत्यकाका सबैजसो स्थानीय तहले आर्थिक वर्ष ०८१/८२ को बजेट नगरसभाबाट पारित गरिसक्दा पनि काठमाडौं महानगर भने विवादमा अल्झिएको छ। १० असारभित्रै नगरसभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार महानगरले पनि निर्धारित समयमै नगरसभामा बजेट पेस गरेको थियो। बजेटमाथि छलफल गर्न १४ असारका लागि बैठक बोलायो। बैठक बोलाए पनि मेयर बालेन्द्र साह (बालेन)नै अनुपस्थित भए। त्यसपछि भने बैठक बोलाइएको छैन। 

महागनरका प्रवक्ता नवीन मानन्धरका अनुसार हालसम्म नगरसभा बस्ने मिति तोकिएको छैन। ‘यसबारे मेयरसापसँग कुराकानी भइरहेको छ। हामीले दर्ता गराएको बजेट संशोधन प्रस्ताव दर्तामाथि पनि छलफल भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने, ‘हाम्रो र मेयरसापको कुरा एउटै भएकाले अब धेरै विषय मिलिसक्यो। तर, नगरसभा कहिले बस्ने भनेर मिति तोकिन भने सकेको छैन।’ १० असारमा बसेको नगरसभाको तेस्रो बैठकमा मेयर बालेनले एकलौटी रूपमा नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेको भन्दै कार्यपालिका सदस्यहरूले नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका थिए। सोही २८ बुँदे संशोधन प्रस्तावमाथि १४ असारमा छलफल हुने कार्यक्रमा थियो। तर, बालेन नै अनुपस्थित भएपछि छलफल अगाडि बढ्न सकेन। सोही दिन बालेनले सामाजिक सञ्जालमा कांग्रेस र एमालेका वडाध्यक्षहरूले बैठक रोकेको आरोप लगाएका थिए। 

यही साता नगरसभा बस्ने मेयरका स्वकीय सचिवको दाबी
मेयर बालेनले पटक-पटक सामाजिक सञ्जालमार्फत कांग्रेस, एमाले र नेकपा एसका जनप्रतिनिधिलाई विभिन्न आरोप लगाउँदै आएका छन्। पछिल्लो समय दलको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले पनि मेयर बालेनमाथि नगरसभामै प्रश्न गर्ने गरेका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमा लेख्ने अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाउन थालेका छन्। यी सबैका बाबजुद अब भने विगतमा देखिएका धेरै समस्या हल भएको र नगरसभा यसै साता बस्न सक्ने बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए। ‘केही कुराबाहेक उहाँहरूले दर्ता गराउनुभएको संशोधनमा धेरै कुरा मिलिसकेको छ। केही कुरामा कानुनी अड्चन छन्। ती विषयमाथि छलफल भइरहेको छ।

'यसै साता नगरसभा बसेर बजेट पारित गर्छाैं,’ शाहले भने। उनका अनुसार यसबीचको समयमा नीति तथा कार्यक्रम, बजेटमाथि विस्तृत छलफल भएको छ। १० असारमा नगरसभामा उपमेयर सुनीता डंगोलले आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट पेस गरेकी थिइन्। त्यसपछि १३ दिन बितिसक्दा पनि महानगरको नगरसभा बस्न सकेको छैन।