Skip This
मकवानपुर जिल्ला लिग फुटबलको उपाधि पदमपोखरीलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार २२:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिग फुटबलको उपाधि पदमपोखरीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार २२:४१:oo

मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिका– १३ को पदमपोखरी युवा क्लबले जितेको छ।

शनिबार भएको उपाधि भिडन्तमा बागमती गाउँपालिकाको सहिद स्मृति क्लबलाई ३–१ ले हराउँदै पदमपोखरीले उपाधि जितेको हो। 

खेलको २४औँ मिनेटमै दिवश गोलेको गोलमार्फत पदमपोखरीले अग्रता लिएको थियो। ३९औँ मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत सहिद स्मृति खेलमा फर्किएको थियो। त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाउँदा बराबरी गर्नबाट चुकेको थियो। 

पहिलो हाफ बराबरीमा सकिएकोमा पदमपोखरीले दोस्रो हाफमा दुई गोल थपेको हो। पदमपोखरीका विजेश तितुङले ६८औँ मिनेटमा अग्रता दोब्बर बनाउँदा अतिरिक्त समयको अन्तिम मिनेटमा विकी जिम्बाले गोल गर्दै पदमपोखरीको जित पक्का गरे।

खेल अवधिभर बागमतीको चारवटा प्रहार पोष्टमा लागेर फर्किएको थियो भने एउटा पेनाल्टीको अवसर खेर फालेको थियो। पदमपोखरीले मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लबलाई र सहिद स्मृतिले हेटौँडाको कम्बाइन क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। 

विजेता पदमपोखरीले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बागमतीले ५० हजार पाएको छ। लिगको विजेता पदमपोखरीले बागमती प्रदेश लिगसमेत खेल्नेछ। 

प्रतियोगितामा विधागत पुरस्कारमा उपाधि बिजेता पदमपोखरीकै वर्चश्व रह्यो। पदमपोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए। 

बागमतीका अरुण आले उत्कृष्ट डिफेन्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए। प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामालगायतले पुरस्कार वितरण गरे। 

१२ असोजमा हुनुपर्ने लिगको फाइनल अविरल वर्षा र एन्फा एकेडेमी सिस्नेरी मकवानपुरका ६ जना युवा फुटबल खेलाडीको निधनका कारण स्थगित भएको थियो। प्रतियोगितामा जिल्लाका २८ टिमको सहभागिता जनाएका थिए।