Skip This
दाउन्ने सडक जीर्ण बन्दा दसैँ मान्न हिँडेका यात्रुलाई सास्ती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार २१:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्ने सडक जीर्ण बन्दा दसैँ मान्न हिँडेका यात्रुलाई सास्ती

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीकाे सुझाव- ‘बाटोको अवस्था ठिक छैन, दुःख कष्ट सहन सक्नेले यात्रा गर्दा हुन्छ, सहन नसक्नेले यात्रा नगर्दै उचित हुन्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार २१:२६:oo

पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्डको यात्रा अनिश्चित र कष्टकर बनिरहेको छ। यसले दसैँ मान्न हिँडेका यात्रुलाई सास्ती दिएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्ने खुर्सानीखोला क्षेत्रको सडक चार दिनअघि भासिएको थियो। एक दिन एक रात पूर्ण रूपमा सवारी आवागमन बन्द गरेर मर्मत गरिएको सडक शुक्रबार रातिदेखि पुनः भासिएर अवरुद्ध बनेको हो।

हिजो रातिदेखि २० फिट लम्बाइ र पाँच फिट गहिराइमा सडक भासिएर अवरुद्ध भएको सडक रातभरि मर्मत गरेर बिहानदेखि एकतर्फी सञ्चालन गरिए पनि सडक अनिश्चित बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए।

‘जहाँ भासिन्छ त्यहीँ मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको छ, तर सडक भासिने क्रम नरोकिएकाले पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक बोहोराले भने, ‘एकैछिन खुल्छ, फेरि उतिवेलै भासिएर पूर्ण रूपमा अवरुद्ध हुन्छ।’

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निरन्तर सडक भासिइरहँदा पनि डाइभर्सन गर्ने ठाउँ नभएकाले समस्या भएको बताइन्। सडकको अनुगमनका लागि घटनास्थलमै रहेकी प्रजिअ श्रेष्ठले भनिन्, ‘अहिले बाटो एकतर्फी सञ्चालन भएको छ, तर डाइभर्सन गर्ने ठाउँ पनि छैन, जतिवेला जे पनि हुन सक्छ।’

उनले बाटोको दुरावस्थाको कारण धेरै यात्रुले दुःख पाएको बताउँदै भनिन्, ‘बाटोको अवस्था ठिक छैन, दुःख कष्ट सहन सक्नेले यात्रा गर्दा हुन्छ, सहन नसक्नेले यात्रा नगर्दा नै उचित हुन्छ।’

प्रहरी नायब उपरीक्षक बोहोराले दसैँतिहारमा यात्रुको चाप बढी हुने भएकाले पनि थप समस्या पर्ने गरेको बताए। ‘चाडबाडको मुखैमा यात्रा नगर्नुस् भन्न पनि गाह्रो छ,’ बोहोराले भने, ‘सडकको हालत हेर्दा सुखले यात्रा गर्न सकिने अवस्था पनि छैन।’

भासिएको सडक मर्मतका लागि सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको टोली खटिइरहेको छ। ११ र १२ असोजमा परेको निरन्तरको वर्षपछि १४ असोजमा यो सडक भासिएको थियो भने होङ्सी सिमेन्टमा जाने एक सय ३२ केभी प्रसारण लाइनको टावर भत्किँदा नेपाल विद्युत् प्राधिकरणलाई ठुलो क्षति पुगेको थियो।