Skip This
एकीकृत समाजवादीले केन्द्रीय सदस्य छान्न प्रदेश इन्चार्ज र सचिवलाई दियाे जिम्मेवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार २२:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

एकीकृत समाजवादीले केन्द्रीय सदस्य छान्न प्रदेश इन्चार्ज र सचिवलाई दियाे जिम्मेवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार २२:३४:oo

एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई दिएको छ । पार्टी कार्यालय आलोकनगरमा आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भूगोलबाट क्लस्टर मिलाएर नामावली तयार पार्ने जिम्मा इन्चार्ज र सचिवलाई दिइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

महाधिवेशनपछि केन्द्रीय कमिटीको पहिलो बैठक शनिबार र आइतबार बसेको हो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्य चयन गरेको थियो । २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी हुने वैधानिक व्यवस्था छ । 

‘बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिन अन्तिम कालका लागि प्रदेशका यसभन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत् गरेको छ । प्रदेशका इन्चार्ज र सचिवहरू तथा वर्तमान केन्द्रीय कमिटीमा भएका सदस्यहरूको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाई केन्द्रीय सदस्य चयन गर्न ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ,’ खतिवडाले भने ।

कोशीमा घनेन्द्र बस्नेत, मधेशमा धर्मनाथ प्रसाद साह, बागमतीमा डा. गंगालाल तुलाधर, गण्डकीमा तुलबहादुर गुरुङ, लुम्बिनीमा हरि पराजुली, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा शाह इन्चार्ज छन् । प्रदेशबाट नाम आएपछि केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने उनले बताए । ‘केही दिनभित्रै प्रदेशले केन्द्रसँगको परामर्शमा काम सम्पन्न गर्नेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ,’ खतिवडाले भने । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले छनोटमा समय लागेको नेताहरूले बताएका छन् । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था छ । 

यसरी छानिनेछन् केन्द्रीय सदस्य 
एकीकृत समाजवादीमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

बढीमा १० दिनमा केन्द्रीय कमिटी सदस्यको टुंगो लाग्ने खतिवडाले दाबी गरे । अपूरो केन्द्रीय कमिटी र पदाधिकारी चयन गरेको महाधिवेशनले कमिटीलाई पूर्णता दिने अधिकार सचिवालयलाई दिएको थियो । यसअघि आइतबार एकीकृत समाजवादीले केन्द्रीय नेताहरूलाई पुरानै जिम्मेवारी तोकेको थियो । अर्काे व्यवस्था नभएसम्मका लागि नेतहरूको जिम्मेवारी यसअघिकै कायम राखिएको खतिवडाले बताए ।