Skip This
बेलायतमा भारी बहुमत ल्याएर पनि किन उत्साहित छैन लेबर पार्टी ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
मार्क ल्यान्डलर
२o८१ असार २३ आइतबार १o:१४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायतमा भारी बहुमत ल्याएर पनि किन उत्साहित छैन लेबर पार्टी ?

Read Time : > 4 मिनेट
मार्क ल्यान्डलर
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १o:१४:oo

निर्वाचन परिणामले सत्तामा हुँदा आफ्ना वाचा पूरा नगर्ने विश्वभरका सत्तारुढ राजनीतिक दलहरूलाई सबक सिकाएको छ

बेलायतमा भर्खरै सम्पन्न आमनिर्वाचनमा लेबर पार्टीले भारी बहुमत हासिल गर्‍यो । योसँगै १४ वर्षदेखि देशमा शासन गरिरहेको कन्जर्भेटिभ पार्टी (टोरी पनि भनिने) विपक्षीमा पुगेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै लेबर नेता किअर स्टारमरले शुक्रबार नै प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेका छन् । यस परिवर्तनका बाबजुद आमजनतामा भने उत्साह देखिँदैन । पहिलो त सिट संख्याले लेबरको बहुमत आएको भए पनि लोकप्रिय मतका आधारमा उसले एकतिहाइ मात्र मत पाएको छ । अहिले लेबरले पाएको लोकप्रिय मत सन् २०१७ मा पराजित हुँदाको भन्दा कम हो । 

खासमा अहिलेको मतपरिणामलाई लेबरको जितभन्दा पनि कन्जर्भेटिभ पार्टी (जसलाई टोरी पनि भनिन्छ) को हारको रूपमा हेरिएको छ । कन्जर्भेटिभ यतिसम्म अलोप्रिय थियो कि पूर्वप्रधानमन्त्री लिज ट्रससमेत हार्न पुगिन् । मतदाताहरूको विद्रोह बेलायतको चुनावको सबैभन्दा ठूलो सन्देश हुन सक्छ, जुन विद्रोहको भेलमा लेबर पार्टीको शासनको नयाँ युगको सुरुवात गरेको छ भने कन्जर्भेटिभलाई तिनको इतिहासकै सबैभन्दा खराब प्रदर्शन सामना गर्न बाध्य बनायो । साथै यसले आफ्ना वाचा पूरा नगर्ने विश्वभरका सत्तारुढ दललाई एक चेतावनी दिएको छ । आधुनिक ब्रिटिस मतदाताको असाधारण अस्थिरता सतहमा ल्याएको यस निर्वाचनको एक पक्ष मात्र हो, लेबरको भारी बहुमत ।  

यस निर्वाचनका अन्य विशेषताको कुरा गर्दा, आप्रवासीविरोधी पार्टी रिफर्म युकेको उदय, (जसले कुल खसेको चालीस लाखभन्दा बढी मत हासिल गर्‍यो), प्रमुख दलहरूको घट्दो मतहिस्सा दशकौँयताकै सबैभन्दा न्यून मतदान र केही लेबर उम्मेदवारलाई हराउने गरी बलियो बनेको गाजाको मुद्दा आदि छुटाउनुहुँदैन । 

स्टारमरले लन्डनको उनको निर्वाचन क्षेत्रबाट आरामसँग जितेका भए पनि उनले सन् २०१९ को तुलनामा १७ हजार कम मत पाए । यो मत कटौतीमा इजरायल–हमास युद्धमा लेबरले खुला रूपमा लिएको इजरायल पक्षधर अडानप्रतिको वामपन्थी मतदाताको आक्रोश जिम्मेवार रह्यो । यी सबै पक्षलाई अवलोकन गर्दा यस जटिल निर्वाचनलाई सजहै एउटा वर्गीकरणमा राख्न सकिँदैन । चुनावमा सत्तारुढ दलले भारी क्षय भोगे पनि त्यो राजनीतिक नक्साकै प्रस्ट पुनर्संरचनाका रूपमा आएको छैन । त्यस्तै मध्य–वामपन्थी पार्टीतर्फ मतदाताको झुकाव देखिए पनि सँगसँगै एउटा पपुलिस्ट दक्षिणपन्थी दलले बलियो आधार जमाएको छ, लेबरले ठूलो जित हासिल गरे पनि अहिले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा हासिल भएको जितको समयमा जस्तो उत्साह छैन । एकजना टिप्पणीकारले शुक्रबार बिहान मतपरिणाम सार्वजनिक भएपछि भनेजस्तै ‘अनुरागहीन उथलपुलथ’ आएको छ । ब्रिटिस राजनीतिको पछिल्लो जटिलताबारे टिप्पणी गर्दै किंस कलेज लन्डनका युरोपेली राजनीतिका प्राध्यापक आनन्द मेननले भने, ‘हामीले परिवर्तन चाहेका छौँ, तर हामी लेबरलाई लिएर उत्साहित छैनौँ ।’ 

बाँकी युरोप र सम्भवतः अमेरिकामा दक्षिणपन्थी लहर उठिरहँदा बेलायतमा मध्य–वामपन्थी दलको उदयले एक हिसाबमा यो अरूभन्दा अलग रहेको देखायो । अर्को हप्ता वासिंटनमा हुने नेटो शिखर सम्मेलन भाग लिँदा त्यहाँ उपस्थित हुने लामो समयदेखि सत्तामा रहेका मझधारका नेताहरू अमेरिकाका राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मनीका चान्सलर ओलाफ सोल्जको समूहमा नयाँ अनुहार हुनेछन् । केही विश्लेषकले पछिल्लो बेलायती चुनावी मतपरिणामलाई वामपन्थी नीतिको स्वीकृतिको रूपमा व्याख्या गर्न नहुने औँल्याएका छन् । लेबरको भारी जितमा आंशिक रूपमा बेलायतको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको भूमिका देखिन्छ, जसले साना दललाई भन्दा ठूला दललाई फाइदा पुर्‍याउँछ । साथमा पछिल्लो निर्वाचनबाट कन्जर्भेटिभ पार्टीको पतनको गहिराइ मापन भयो, जुन रिफर्म युके पार्टीले दक्षिणपन्थी मतदातालाई आफूतर्फ तान्दा थप तीव्र बन्यो । 

लन्डन स्कुल अफ इकोनोमिक्सका राजनीतिशास्त्रका प्राध्यापक टोनी ट्राभर्स पनि पछिल्लो मतपरिणामलाई वामपन्थी झुकावको रूपमा बुझ्न नहुने मान्छन् । ‘किअर स्टारमरको नेतृत्वमा लेबर पार्टी उलेख्य रूपमा मझधारतर्फ स्तानान्तरण भएको छ,’ ट्राभर्सले भने । शुक्रबार प्रधानमन्त्री पद सम्हालेपछि स्टारमरले पार्टीको भारी बहुमतका बाबजुद खेर फाल्ने धेरै समय नरहेको संकेत गरे । सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वमा लेबर पार्टीले जितेको सिट हाराहारी अर्थात् ४१२ सिट जितपछि पनि स्टारमरले आफूलाई मत नदिने देशवासीलाई संकेत गर्दै भने, ‘हामीलाई स्पष्ट जनादेश दिनुभएको छ र यसलाई हामी परिवर्तनका लागि प्रयोग गर्नेछौँ । यस जनादेशलाई हामी राजनीतिमा सेवा तथा सम्मान पुनर्स्थापित गर्न, कर्कस होहल्लाको युग अन्त्य गर्न र हाम्रो देशलाई एकताबद्ध गर्न प्रयोग गर्नेछौँ ।’ बकिंघम दरबारमा राजा चाल्र्स तृतीयले सरकार गठन गर्न आमन्त्रण गरेको घन्टौँपछि स्टारमरले आफ्नो क्याबिनेट गठन गरे । त्यसमा रेचेल रिभ्स अर्थमन्त्री (चान्सलर अफ एक्सचेकर)को जिम्मेवारीमा छिन्, जुन पद धारण गर्ने उनी बेलायतको इतिहासकी पहिलो महिला हुन् । अधीर जनतालाई सन्तुष्ट पार्न स्टारमरले द्रुत रूपमा काम गर्नुपर्ने विश्लेषक बताउँछन् । उनले योजनागत कठोरता परिमार्जन गरेर अर्थतन्त्रलाई गति दिने र नेसनल हेल्थ सर्भिस (एनएचएस) माथिको अत्यधिक भार कम गर्ने वाचा गरेका छन् । तर, बेलायतको बढ्दो सार्वजनिक ऋण हेर्दा स्टारमरले वाचा गरेको राष्ट्रिय नवीकरणको दशक सुरु गर्न उनीसँग सीमित औजार छ ।

त्यसबाहेक, रिफर्म युकेको उदयले बेलायत अझै फ्रान्सजस्तै उग्र दक्षिणपन्थी पपुलिजमबाट पूर्ण सुरक्षित नभएको देखाएको छ । लेबरले ३३.८ र कन्जर्भेटिभ्सले २३.७ प्रतिशत लोकप्रिय मत पाउँदा रिफर्म युकेले १४.३ प्रतिशत लोकप्रिय मत पाएको छ । यदि नयाँ सरकारले जनतामा राहत महसुस गराउन सकेन भने यो दक्षिणपन्थी पपुलिजमको समर्थन थप बढ्ने चिन्ता सुनिन थालेको छ । रिफर्म युकेको नेतृत्व गर्ने र ब्रेक्सिटका सुरुवाती अग्रदूत निगेल फाराजले यही उद्देश्यका लागि आफूलाई ब्रान्डिङ गर्ने प्रयास गरेको देखिन्छ । ‘ब्रिटिस राजनीतिमा मध्य दक्षिणपन्थमा ठूलो रिक्तता छ । मेरो उद्देश्य यही रिक्तता भर्नु हो, र एक दिन त्यो काम गरेरै छाड्नेछु,’ पहिलोपटक सांसद चुनिएपछि फाराजले : क्ल्याक्टन–अन–सी सहरमा समर्थकलाई सम्बोधन गर्ने क्रममा खुसी हुँदै भने । फराजको पार्टीले केवल पाँच सिट जितेको छ, जसले गर्दा संसद्मा यो दलको आवाज सानो सुनिनेछ । तर, विश्लेषक भन्छन् कि फाराजले हाल प्राप्त प्लेटफर्मलाई हाल विभाजित, निराश तथा उग्र दक्षिणपन्थप्रति मोहित रहेका कन्जर्भेटिभहरूलाई सताउन प्रयोग गर्न कुनै कसर बाँकी राख्ने छैनन् । बिहीबारको निर्वाचनमा मध्यपन्थी दल लिबरल डेमोक्य्राट अर्को ठूलो विजेताका रूपमा उम्रेका छन् । १२ प्रतिशत लोकप्रिय मत पाएको यस दलले संसद्मा सिटसंख्या आठबाट बढाएर ७१ पुर्‍याएको छ । उनीहरूले इंग्ल्यान्डको दक्षिण र दक्षिण–पश्चिम भेगमा कन्जर्भेटिभहरूलाई ठूलो क्षति पुर्‍याए । ब्रेक्जिट निर्वाचनमा युरोपेली संघबाट बाहिरिन नहुने पक्षमा बलियो गरी उठेको यस पार्टीको प्राथमिकतामध्ये युरोपेली संघसँग घनिष्ठ सम्बन्ध गाँस्नु रहेको छ । 

रिफर्म युके र लिबरल डेमोक्य्राट पार्टीहरूले बेलायती राजनीतिको द्रुत विखण्डनलाई प्रकाश पारेका छन् । दुई शीर्ष दल लेबर र कन्जर्भेटिभले पाएको कुल लोकप्रिय मत जोड्दा पनि ५७.५ प्रतिशत भोट मात्र हुन्छ, जुन दोस्रो विश्वयुद्धपछि को दुई दलको सबैभन्दा न्यून संयुक्त मतहिस्सा हो । यसअघिको निर्वाचन (सन् २०१९)मा दुई पार्टीहरूले पाएको लोकप्रिय मतको कुल योग ७५.७ प्रतिशत थियो भने सन् २०१७ मा त्यो हिस्सा ८२.५ प्रतिशत थियो । त्यसमाथि यसपटकको निर्वाचनमा मतदाताको उपस्थितिले राजनीतिक दिग्दारीको भावना प्रकाश पार्‍यो । कुल दर्ता भएका  मतदातामध्ये लगभग ६० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरे । यो सन् २००१ पछि सबैभन्दा न्यून हो, जुन वर्ष ब्लेयरले दोस्रो कार्यकाल जितेका थिए । 

प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनमा स्टारमरले परम्परागत राजनीतिक संस्थाप्रति आम असन्तुष्टिको गहिराइलाई स्वीकार गरे । ‘यसले राष्ट्रको हृदयमा थकान निम्त्याउँछ र सुखद भविष्यप्रतिको आशा, उत्साह र विश्वासलाई सोसेर लैजान्छ,’ स्टारमरले भने, ‘यो विश्वासको कमी शब्दले होइन, कर्मले मात्र निको हुन्छ ।’ प्राध्यापक ट्राभर्सका अनुसार पछिल्लो समय पारम्परिक निर्वाचन पद्धतिमा केही हदसम्म हेरफेर भएको छ । यसका लागि उनले सामाजिक सञ्जालको वृद्धिका अतिरिक्त असन्तुष्ट मानिसहरूले मतदानलाई सन्देश दिन प्रयोग गर्ने प्रवृत्ति जिम्मेवार ठहर्‍याए । ‘पहिलो एउटा पार्टीमा जीवनभर अडिग रहने प्रवृत्ति बदलिएर अब मानिस नयाँ पार्टीप्रति खुला रहन थालेका छन्,’ ट्राभर्सले भने, ‘अहिलेको पुस्ता तिनका आमाबाबुले गरेजस्तै मतदान गर्दैनन् । उनीहरूले अब वर्गीय घेराभित्र मात्र रहेर मतदान गर्न छाडेका छन् । मतदातामा एउटै दलप्रति प्रतिबद्ध रहनुपर्छ भन्ने सोच कम भएपछि यो स्थिति आएको हो ।’ 

यो चुनाव अर्को एक महत्वपूर्ण सन्दर्भमा पछिल्ला दुई चुनावभन्दा फरक रह्यो, एक त यस चुनावमा ब्रेक्सिटको बहसले हाबी रहेन । पछिल्लो ६ हप्ते चुनावी अभियानका क्रममा सन् २०१६ को ब्रेक्जिटको मुद्दा खासै उल्लेख भएन । कुनै पनि पक्षले विगत सात वर्षअघिको यो मुद्दा उठाउने चाहना देखिएन । लेबरले अर्थतन्त्र र एनएचजस्ता दैनिक जीवनसँग जोडिएका मुद्दाहरूमा आफ्नो ध्यान केन्द्रित राख्यो । तर, ब्रेक्जिट चुनावी बहस नभएकै कारणले यसले कुनै भूमिका खेलेन भन्ने होइन । जनमत संग्रहपछि कन्जर्भेटिभ पार्टीले त्यसको अपनत्व ग्रहण गर्‍यो । र, अहिले धेरै मतदाता देशको आर्थिक क्षयका लागि ब्रेक्जिटलाई लागि दोष दिने स्थितिमा पुगेका छन् । ब्रेक्जिट विरोध युरोपसँगको व्यापारमा अवरोध पुगेकाले अहिलेको आर्थिक ह्रास आएको बताउँछ भने ब्रेक्जिट पक्षधर यो सही रूपमा लागू नभएकाले अहिलेको स्थिति आएको मान्छन् । ‘ब्रेक्जिट अझै पनि यी सबैको जडका रूपमा हेरिन्छ,’ प्रोफेसर ट्राभर्सले भने, ‘यसैको कारणले कन्जर्भेटिभहरूलाई क्षति पुग्यो । यसबारे आमधारणा या त निकै अलोकप्रिय छ, या खराब तरिकाले कार्यान्वयन भयो भन्ने छ ।’

मार्क ल्यान्डलर ‘द न्यु टाइम्स’का लन्डन ब्युरो प्रमुख हुन् ।

– द न्युयोर्क टाइम्सबाट