Skip This
दक्षिणकालीका जनप्रतिनिधिसँग खानेपानीमन्त्रीको आग्रह– ‘ललितपुरवासीको प्यास मेटाउन पानी पठाइदिनुस्’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १९ शनिबार १८:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दक्षिणकालीका जनप्रतिनिधिसँग खानेपानीमन्त्रीको आग्रह– ‘ललितपुरवासीको प्यास मेटाउन पानी पठाइदिनुस्’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १८:४८:oo

खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधिसँग ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग मागेका छन्।

आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर मन्त्री यादवले सहयोग मागेका हुन्। पानीको संकटमा परेका ललितपुरवासीलाई मानवीय आधारमा सहयोग गर्न उनको आग्रह छ। ‘प्यासले कोही तड्पिनुपरिरहेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नुपर्छ,’ मन्त्री यादवले भने।

मन्त्री यादवले त्यस क्रममा अविरल वर्षाले ल्याएको बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि भइरहेको कामबारे पनि जानकारी लिए।
अकल्पनीय बाढीपहिरोको कारण थुप्रै खानेपानी योजनाहरूमा क्षति पुर्‍याएको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध हुँदा खानेपानीको संकट देखिएको उनको भनाइ थियो।

मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुन सक्ने बताउँदै समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए। ‘तपाईंहरूका समस्या के–के छन् समाधानका लागि म पूर्ण प्रयास गर्नेछु। तर, ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने।

उनले हालको विपदमा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताए। ‘अविरल वर्षाले देशका २१ जिल्लामा ठुलो क्षति पुर्‍याएको छ। अहिले हामी सबै विपतको सामना गर्दै छौँ, नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन्। तपाईंसँग पानीको स्रोत छ, त्यसैले तपाईंकै सहयोगले धेरैको जीवन सहज हुनेछ,’ उनले भने।

मन्त्री यादवले बाढीपहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गरेर तत्काल समाधानका लागि सरकारले पहल गर्ने बताए। उनले भने, ‘म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु। क्षतिको मूल्यांकन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु।’

फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन गरेका मन्त्री यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमुल मुहान, फर्पिङ हेड पंड (जलविद्युत् जलाशयको पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिबारे जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्याहरू सम्बोधन गर्न आफूले संघीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताइन्। उनले भनिन्, ‘दक्षिणकालीमा बाढीपहिरोका कारण भएको क्षतिका कारण उत्पन्न समस्या समाधन गराउन हामी हाम्रोतर्फबाट संघीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईंहरू सहयोग गर्नुस्।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताइए। ‘दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैव तयार छौँ, आजैबाट पानी सञ्चालन गरी दिन म तपाईंहरूलाई विशेष अनुरोध गर्दछु,’ महानगर प्रमुख महर्जनले भने।

मन्त्री यादवले आजै फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। 

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती तामाङ डंगोललगायतका जनप्रतिनिधिले आमनागरिकहरूले बाढीबाट खानेपानीका क्षेत्र तथा आमनागरिकमा पुगेको क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नुपर्ने धारणा राखे। उनीहरूले दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजाँदा संघीय सरकारले दक्षिणकाली नगरपालिकालाई वार्षिक बजेटमार्फत थप बजेट पठाउनुपर्ने माग राखे।

आफ्ना मागहरू राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउन जतिवेला पनि तयार रहेको उनीहरूले बताए।