एमसिसीमाथि छलफल गर्न र प्रक्रिया पुर्याएर अनुमोदन गर्नका लागि संसद् अवरोध खोल्न प्रमुख सत्तारुढ दल कांग्रेसले गरेको प्रस्ताव एमालेले अस्वीकार गरेको छ । कांग्रेसले एमसिसीमा गठबन्धनभित्रै सहमति खोज्ने विषय प्राथमिकतामा राखेपछि एमालेले संसद् खोल्ने विषयमा आफ्ना पूर्वअडान दोहोर्याएको छ ।
माधव नेपालसहितका १४ सांसदमाथि कारबाही सूचना टाँस वा सभामुखको राजीनामाको मुद्दामा एमालेले भदौदेखि संसद् अवरोध गर्दै आएको छ । एमसिसीमाथि छलफल गर्न र निष्कर्षमा पुर्याउन कांग्रेसले लगातार संवाद गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
एमालेसँग छलफलका लागि शनिबार साँझ अध्यक्ष केपी ओली निवास बालकोट पुगेका कांग्रेस नेताहरूलाई एमाले नेताहरूले गठबन्धन टुटेको अवस्थामा मात्र नयाँ सहमतिका लागि छलफल हुन सक्ने पार्टीको पछिल्लो ‘पोजिसन’ राखेका छन् । ‘उहाँहरूसँग नयाँ केही भएन । खासमा गठबन्धनभित्रै विषय नटुंगिएको जानकारी भयो,’ छलफलमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले नयाँ पत्रिकासँग भने, ‘हामीले गठबन्धन टुटेको हो कि होइन भनेर सोध्यौँ, उहाँहरूले टुटेको छैन भन्ने जवाफ दिनुभयो । त्यसो हो भने अबचाहिँ गठबन्धन टुटाएर मात्र कुरा अगाडि बढाऔँ भनेपछि छलफल सकियो ।’
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सदन सुचारु गरेर एमसिसी पास गर्ने दायित्व प्रमुख प्रतिपक्षको पनि भएकाले छलफलमा पुरानै कुरा अनुरोध गरिएको बताए ।
‘हामीले प्रतिनिधिसभा सुचारु गरौँ, एमसिसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश विश्वलाई दिऔँ भन्ने प्रस्ताव गर्यौँ,’ कार्कीले भने, ‘तर, उहाँहरूले पुरानै कुरा दोहोर्याउँदै, हामीलाई प्रतिनिधिसभाको द्वार खुलेको छैन, सरकारमा भएका कारण खुलाउने दायित्व छ भन्नुभएको छ । हामीले तपाईंहरूको पनि संसद्लाई जीवन्त र प्रभावकारी बनाउने दायित्व छ, अहिलेको परिस्थितिलाई मूल्यांकन गरेर बढौँ भनेका छौँ ।’ उनले एमालेसँगको छलफल अझै जारी रहने पनि बताए ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको पछिल्लो भेटवार्तामा पहिले गठबन्धन टुटेको सन्देश दिएर नयाँ सहमतिका लागि ठोस प्रस्ताव राखेको अवस्थामा मात्र एमाले एमसिसीमा निर्णय लिन तयार रहेको बताएका थिए । छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई एमसिसी पास गराउन बाध्य बनाउने नीति लिएको भन्दै एमालेले आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध कायम राख्ने योजना बनाएको छ । सांसदहरूमाथि आफ्नो पार्टीले गरेको कारबाहीलाई मान्यता नदिएको पुरानै मागमा आइतबारको संसद् बैठक पनि अवरोध गर्ने एमालेको तयारी छ ।
‘६ महिनादेखि सभामुखको भूमिकालाई लिएर संसद् अवरोध गर्दै आएका छौँ । त्यसलाई सम्बोधन गर्न निरन्तर अनुरोध गर्दै आएका छौँ, तर उहाँहरूले आफ्नोतर्फबाट एमसिसी अनुमोदनको सम्बन्धमा प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने, ‘गठबन्धनका तर्फबाट तपाईंहरूले सरकारका पक्षधरको एउटै राय बनाउनुस्, जबसम्म तपाईंहरूको राय एउटै रहँदैन, प्रतिपक्षलाई त्यो कुरामा बोलिरहनुको बाध्यता पनि रहँदैन । त्यो नबनाएसम्म प्रतिपक्षले यस्तो गरोस् भन्ने धारणा उचित हुँदैन भनेका छौँ ।
उनले कांग्रेससँगको छलफलमा पुरानै कुरा राखेको पनि जानकारी दिए । ‘संसद्मा प्रतिपक्षलाई प्रवेशको बाटो बनाउनुस्, जुन दिन प्रवेशको वातावरण बनाउनुहन्छ, त्यो दिनबाट संसद्का सबै विषयमा हामी प्रस्तुत हुन्छौँ र स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन्छौँ, तपाईंहरूले भनिरहनै पर्दैन भनेका छौँ,’ पोखरेलले भने । यद्यपि, कांग्रेससँगको छलफल भने जारी रहने उनले बताए ।