पार्टीका भ्रातृसंस्थाको विधानलाई एकरूपता दिनेबारे कांग्रेसले छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकमा भ्रातृसंस्थाका विधानलाई एकरूपता दिने विषयमा छलफल भएको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए ।
‘केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार भ्रातृसंस्थाका विधानबारे छलफल भएको हो,’ उनले भने, ‘विधानको विषय टुंगो लगाउनेबारे छलफल भइरहेको छ ।’ गुरुङका अनुसार सोमबारको बैठकले महिला संघको विधानको टुंगो लगाएको छ ।
बैठकले विधानमा आवश्यक संशोधन गरी टुंगो लगाएको हो । कांग्रेसको १४औँ महाधिवेशनपछि २७ माघदेखि ३ फागुनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिले भ्रातृसंस्थाका विधान टुंगो लगाउने निर्णय गरेको थियो ।
बैठकले १३औँ कार्यसमितिले एनपी साउदको नेतृत्वमा बनेको भ्रातृ एवं शुभेच्छुक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरूपता समितिले पेस गरेको प्रतिवेदन अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।