अर्धतरल अवस्थाको झन्डै पाँच किलो सुनसहित ३६ वर्षीय चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो । उनी हिमालयन एयरको विमान हुँदै दुबईबाट काठमाडौं आएका थिए । उनको साथबाट प्रहरीले अर्धतरल अवस्थामा रहेको चार किलो आठ सय चालीस ग्राम सुन बरामद गरेको छ । प्रहरीका अनुसार बरामद सुन ‘मेटल डिडेक्टर’ले समेत ‘डिटेक्ट’ गर्न सकेको थिएन ।
लीले अर्धतरल अवस्थाको सुन पाइन्ट र अन्डरवेयरभित्र बनाइएको फल्सबटमभित्र लुकाई ल्याएका थिए । प्रहरीका अनुसार उनी विमानबाट झरेलगत्तै आगमन कक्षतर्फ पुगेका थिए । लगेजलाई एक्सरे मेसिनमा जाँच गर्न लगाए । आफूलाई भने मेटल डिटेक्टरबाट परीक्षण गर्न लगाएका थिए । दुवै परीक्षणबाट पास भएका उनको चालचलन शंकास्पद देखिएपछि प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो । चेकजाँचका क्रममा अन्डरवेयर र पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले खोल्न लगाएको थियो । त्यसपछि बल्ल उनले लुकाएर ल्याएको अर्धतरल सुन फेला परेका थियो ।