मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

ललितपुरको थेचोदेखि मोरङको उखुबारीसम्मको हत्यामा एउटै समूह

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण
मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

हत्या गरेर मोहन लिम्बूको शव घरछेउमै खाल्डो खनेर पुरिएको थियो,  ५२ दिनपछि प्रहरीले शव पत्ता लगाएर उत्खनन गरेको छ

तर, ५२ दिनपछि मात्रै घरछेउमै गाडिएको शव पत्ता लाग्यो

ललितपुरको गोदावरी नगरपालिका– १२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् : एसएसपी वसन्त कुँवर, प्रमुख, अपराध अनुसन्धान महाशाखा

सात दिनअघि मोरङको उखुबारीमा दुई शव गाडिएको अवस्थामा फेला परेको घटनाबारे मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना पक्राउ परे । उनले थेचोमा गाडिएको शवबारे बताए । खनेर हेर्दा शव पनि भेटियो । दुवै हत्यामा एकै समूह संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौँ । घटनामा पाँचदेखि ६ जना सहभागी रहेको देखिन्छ । हत्यामा भारतीय नागरिक पनि संलग्न रहेको संकेत मिलेको छ । हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।

१२ र १३ माघमा धनपालथान बोर्डिङ टोलस्थित उखुबारीमा सुनसरी धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरीको शव फेला परेको थियो । मोरङ हत्या अनुसन्धानका क्रममा पक्राउ परेका अनिलकुमार मण्डलले दिएको बयानकै आधारमा थेचोमा गाडिएको शवबारे प्रहरीले थाहा पाएको हो । अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीको संयुक्त प्रयासमा अनिलकुमार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई अनुसन्धानका लागि बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बयानका क्रममा उनले थेँचोमा पनि शव गाडिएको बताएका थिए । 

बिहीबार साँझ प्रहरी घटनास्थल पुग्दा प्रमोदको घरपछाडितर्फ माटोले केही पुरिएकोजस्तो देखियो । प्रहरीले माटो हटायो । त्यसमुनि सिमेन्टको प्लास्टर भेटियो । प्लास्टर भर्खरै गरिएझैँ थियो । प्रहरीले एक–एक गरी प्लास्टर फुटायो । करिब पाँच फिट खनेपछि मोहनको शव पोको पारिएको अवस्थामा भेटियो । 

महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले मोरङस्थित उखुबारी र थेँचो हत्या एउटै समूहबाट भएको बताए । उनले भने, ‘सात दिनअघि मोरङको उखुबारीमा दुई व्यक्तिको शव गाडिएको अवस्थामा फेला परेको थियो । सोही हत्या घटना मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना पक्राउ परे । उनले थेँचोमा गाडिएको शवबारे बताए । खनेर हेर्दा शव पनि भेटियो । त्यसो हुँदा दुवै हत्यामा एकै समूहको हात रहेको निष्कर्षमा प्रहरी छ ।’

अनिलकुमारकै बयानका आधारमा प्रहरीले थप दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याका लागि भारतीय नागरिकसमेत भाडामा प्रयोग गरिएको हुन सक्ने प्रहरीले जनायो । महाशाखा प्रमुख एसएसपी कुँवरले भने, ‘घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने देखिएको छ । हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् । मोरङ प्रहरीसहित महाशाखा पनि अनुसन्धानमा लागेको छ ।’

मोहनको हत्यापछि राजेन्द्रकुमार र शम्भुनाथको हत्या 
प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेको थियो । घर कम्पाउन्डसहितको थियो । व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए । प्रमोदले घर भाडामा दिने निर्णय गरे । त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो । त्यसैक्रममा सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगे । बन्धक बनाए । अनि घाँटी कसेर हत्या गरे । शव भने सोही घरनजिकै खाल्डो खनेर व्यवस्थापन गरे । 

अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई मोरङ बोलाए । दुवैको त्यहीँ हत्या गरे । शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका– ७ स्थित उखुबारी रोजे । फरक–फरक खाल्डो खनेर दुवै शव पुरे, अनि फरार भए । 

अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मोरङमा दुवैको हत्या एकै दिन भएको अनुसन्धानमा खुलेको बताए । ‘२८ मंसिरमा यिनीहरूले मोहनको हत्या गरेजस्तो देखिन्छ । त्यसपछि मोरङमा राजेन्द्रकुमार र शम्भुनाथलाई बोलाएका छन् । उनीहरू पनि काठमाडौंबाट छुट्टाछुट्टै पुगेका छन् । र, दुवैको हत्या गरेजस्तो देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ गएका थिए । तर, उनीहरू ४ पुससम्म परिवारको सम्पर्कमा थिए ।

हत्याको कारण आर्थिक कारोबार 
हत्या गरिएका शम्भुनाथ चौधरी स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन् । उनको काठमाडौं– १७ मा कन्स्ट्रक्सनको कार्यालय छ । श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए । काठमाडौंमा शम्भुनाथको बसाइ क्षेत्रपाटीमा थियो । राजेन्द्रकुमार भने भक्तपुर बस्थे । व्यवसायमा रहेको विवाद नै हत्याको कारण हुन सक्ने महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘यिनीहरू व्यवसायी हुन् । ठेक्कापट्टादेखि जग्गा कारोबारमा उनीहरू संलग्न भएको देखिन्छ । यही क्रममा भएको विवाद नै हत्याको कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

See More On

सुझावित समाचार