१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १९ बुधबार
  • Saturday, 06 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ माघ १९ बुधबार १२:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गुलरिया–धनगढी सडक निर्माणमा ठेकेदार कम्पनीकाे लापरबाही, पाँच वर्षसम्म पनि बनेन सडक 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ माघ १९ बुधबार १२:१५:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिकादेखि दक्षिणी गाउँ भएर सीधै कैलालीको धनगढी जोड्ने कृषि सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेका पाइएको छ । पाँच वर्षसम्म पनि निर्माण कम्पनीले उक्त सडक कालोपत्रे गर्न सकेको छैन । सडक निर्माण नहुँदा स्थानीय किसानसहित नागरिक मारमा परेका छन् । कृषि उपजका वस्तु धनगढी बजार लैजान अन्य कामकाजका लागि नागरिकले सास्ती खेप्नुपरेको छ । 

०७३ सालमा तत्काकालीन सडक डिभिजन कार्यालयसँग स्वच्छन्द निर्माण सेवा कम्पनीले तीन वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने गरी १६ करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीनपटकसम्म म्याद थप गर्दासमेत निर्माण कम्पनीले सडक बनाउन सकेको छैन । अहिले थपिएको म्यादअनुसार ०७८ चैत मसान्तसम्म निर्माणकार्य सबै सक्नुपर्नेछ । तर,  २३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कम्पनीले हाल बेस मात्रै निर्माण गरेको छ । पाँच किलोमिटर कालोपत्रे गरे पनि गुणस्तरहीन भएको भन्दै त्यसलाई पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छैन । 

उक्त सडक निर्माणको मुख्य जिम्मा पाएको स्वच्छन्दता निर्माण कम्पनीले महाकाली गौरव बिल्डर्सलाई जिम्मा दिएको छ । सबनिर्माण व्यवसायी (पेटी ठेकेदार)ले उक्त सडक निर्माणका लागि भन्दै क्रसर उद्योग खोेले पनि तोकिएको समयमा सडक निर्माण हुन सकेको छैन । 

स्थानीय दिलबहादुर देउवाले निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न नसकेपछि ठकेदारको लापरबाही बढेर गएको बताए । ‘ठेकेदारले सरकारसँग गरेको सम्झौताअनुरूप काम गरेन,’ उनले भने, ‘ठेकेदार सडक बनाउनुभन्दा पनि क्रसर उद्योग खोलेर ढुंगा बेच्न व्यस्त रह्यो ।’ काम नगर्ने ठकेदारमाथि सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ । सबनिर्माण कम्पनी महाकाली गौरव विल्डर्सका सञ्चालक प्रमानन्द कपाडीले मौसम, कोभिडलगायतका विविध कारणबाट ढिलासुस्ती भएको बताउँदै आएका छन् । 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले संघीय कार्यालयबाट प्रदेश कार्यालयमा स्वामित्व आएको उक्त सडक निर्माणको ठेक्का सबनिर्माण कम्पनीबाट खोसेर मुख्य निर्माण कम्पनीलाई जिम्मा दिइएको बताए । पूर्वाधार विकास कार्यालयका इन्जिनियरसमेत रहेका सूचना अधिकारी भट्टले सबनिर्माण व्यवसायी महाकाली गौरव विल्डर्सको बैंक ग्यारेन्टीबापतको २६ लाख रुपैयाँ जफत गरेको बताए । ‘काममा ढिलासुस्ती गरेको सबकन्ट्याक्टरको बैंक ग्यारेन्टीको रकम जफत गरेका छौँ,’ उनले भने, ‘कार्यालयले काम नगर्ने ठेकेदारविरुद्ध एक्सनमा गएको छ ।’ 

सूचना अधिकारी भट्टले अब मूल निर्माण कम्पनी स्वच्छन्दता निर्माण सेवाले काम सुरु गरेको बताए । बिग्रिएको सडकसमेत पुनर्निर्माणसहित आगामी चैतभित्रै सडक निर्माणका लागि तोकेता गरिएको बताए । ‘अहिले मूल निर्माण व्यवसायीले नै काम गर्छु,’ उनले भने, ‘अस्तिदेखि काम पनि सुरु गरेको छ, अब पनि ढिलासुस्ती गरेमा कालोसूचीमा राख्नेदेखि ठेक्का रद्दसम्म गरिनेछ ।’ 
 

ad
ad
ad
ad