Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
केशवप्रसाद पाण्डे काभ्रेपलाञ्चोक
२०७८ माघ १८ मंगलबार १३:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षे मकर मेला : करोडौं तीर्थालु भित्र्याउने तयारी, कोरोनाका कारण न्यून चहलपहल

Read Time : > 1 मिनेट
केशवप्रसाद पाण्डे, काभ्रेपलाञ्चोक
२०७८ माघ १८ मंगलबार १३:२३:००

कोरोना कहरका कारण पनौतीमा लागेको १२ वर्षे मकर मेलामा चहलपहल न्यून देखिएको छ। प्रत्येक १२ वर्षमा मकर संक्रान्तिदेखि सुरु भइ माघ महिनाभर लाग्ने मेलामा विगतको तुलनामा न्यून मात्रामा चहलपहल देखिएको हो। मकर मेला मूल व्यवस्थापन समितिका अनुसार विगतमा दैनिक लाखौँ तीर्थालु मकर स्नानका लागि आउने गरेकोमा यसपटक कोरोनाका कारण मेला भर्न आउनेको संख्या केही हजारमा मात्र सीमित भएको हो।

मकर मेला मूल व्यवस्थापन समितिका संयोजक तथा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेका अनुसार १२ वर्षमा महिनाभर लाग्ने मेलामा विगतमा दैनिक ६ लाखसम्म तीर्थालु मकर स्नानका लागि आउने गरेका थिए। उनका अनुसार अहिले दैनिक पाँच हजार हाराहारीले मात्र मेला भर्ने गरेका छन्। व्यवस्थापन समितिले कोरोनाको मापदण्ड पालना गरेर मकर स्नानको व्यवस्था मिलाइएको छ। ‘यसअघि दैनिक ६ लाखसम्मले मेला भर्ने गरेको तथ्यांक थियो। यसपटक कोरोनाका कारण दैनिक चार–पाँच हजारजना मात्र आउने गरेका छन्,’ मेला व्यवस्थापन समितिका संयोजक मेयर न्यौपानेले नयाँ पत्रिकासँग भने, ‘हामीले स्वास्थ्य मापदण्ड पालना गराएर मकर स्नानको व्यवस्था मिलाएका छौँ।

उनका अनुसार मेलामा एकपटकमा पाँच सयजनासम्मले स्नान गर्न सक्ने व्यवस्था गरिएको छ। मेलाका भारतबाट समेत तीर्थालु आउने गरेका छन्। न्यौपानेले नगरपालिकाले मेलामा करोडौंको संख्यामा तीर्थालु आउने अपेक्षाका साथ तयारी गरेको बताए। नगरपालिकाले मेलाका लागि पूर्वाधार विकास तथा व्यवस्थापनका लागि आठ करोड ३५ लाख रुपैयाँ खर्च भएको जनाएको छ। ‘१२ वर्षमा लाग्ने मेलामा करोडौँ सहभागी हुने अपेक्षाका साथ हामीले मेलाका लागि पूर्वाधार विकास तथा व्यवस्थापनका लागि आठ करोड ३५ लाख रुपैयाँ खर्च गरेका थियौँ। तर,कोरोनाका कारण मेला भव्य हुने अवस्था रहेन।’

नगरपालिकाले मेलाका लागि पार्किङ व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रदर्शनी, स्नान–कुण्ड सरसफाइ, स्वास्थ्य, सुरक्षा/खोज तथा उद्धार, सूचना केन्द्रलगायतको व्यवस्था गरेको छ। मेला व्यवस्थापन समितिले मेलामा स्वास्थ्य मापदण्डलाई प्राथमिकतामा राखेको र ६ स्थानमा हेल्थ क्याम्प सञ्चालन भइरहेको जानकारी दिएको छ।

शरीर र मनको रोग नाश हुने जनविश्वास
तीन नदीको संगमस्थलको रूपमा चित्रण गरिने पनौतीमा पुण्यमाता र रोशीखोला बहिरहेको देखिन्छ। यसबाहेक पद्यमावती नदीसमेत गुप्त रूपमा बगिरहेको जनविश्वास छ। पुण्यमाता, रोशी र गुप्त रूपमा बगिरहेको विश्वास गरिएको पद्यमावतीको संगमस्थलमा स्नान गर्नाले पाप पखालिन्छ भन्ने मान्यता रहँदै आएको छ। 

यो मेला लिच्छविकालदेखि सुरु भएको अनुमान रहँदै आएकोे छ। मकर मेलामा स्नान गर्नाले शरीर र मनको रोग नाश हुन्छ भन्ने जनविश्वास छ। पनौतीका बारेमा धेरै कथन र किंवदन्ती रहेका छन्। यसमध्ये सत्ययुगमा देवताका राजा इन्द्रले समेत आफ्नो शरीरमा लागेको श्रापजन्य रोग पनौतीमा आएर निको पारेको पौराणिक कथन छ।