मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७८ माघ १४ शुक्रबार o६:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फ्लोर क्रस गर्नेलाई कारबाही गर्ने गठबन्धनको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार o६:५३:oo

सत्ता गठबन्धनले बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भएको फ्लोर क्रसबारे समीक्षा गरेको छ । बुधबारको निर्वाचनमा केही सांसद र स्थानीय तहका जनप्रतिनिधिले विपक्षी उम्मेदवारलाई मतदान गरेका थिए । बैठकले त्यस्ता जनप्रतिनिधिको पहिचान गर्ने र कारबाही गर्ने निर्णय गरेको छ । बैठकले गठबन्धनको आवश्यकता र औचित्यलाई निर्वाचन परिणामले थप पुष्टि गरेको ठहर छ । यस्तै, प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्षसमेत निकालेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘बैठकले निर्वाचनका क्रममा भएका कमजोरीबारे आ–आफ्नो पार्टीमा छलफल गरी अनुशासनको विषय बनाउने र फ्लोर क्रस गर्नेहरू पत्ता लगाई आ–आफ्नो पार्टीले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।’

निर्वाचनमा प्रदेश गठबन्धमा रहेका दलका दुई सांसद र स्थानीय तहका पाँच जनप्रतिनिधिले फ्लोर क्रस गरेका थिए । यसैगरी, एक सांसदले कसैलाई मतदान नगरी मतपत्र खाली राखेका थिए । सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले नै गठबन्धनको निर्णय नमान्दा गलत सन्देश जानेमा बैठकमा चिन्ता व्यक्त भएको थियो । विज्ञप्तिमा कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादीको गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका गण्डकी अध्यक्ष शंकर बराल, जनता समाजवादीका गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरेका छन् । गण्डकीमा तीन सदस्यका लागि बुधबार भएको मतदानमा गठबन्धनका उम्मेदवारहरू माओवादीका सुरेश आलेमगर र भुवनबहादुर सुनार तथा कांग्रेसकी कमला पन्त विजयी भएका थिए ।

अन्तर्घात गर्नेलाई एमालेले पनि कारबाही गर्ने

विराटनगर : एमालेले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्ने आफ्नो पार्टीका जनप्रतिनिधिहरूलाई कारबाही गर्ने जनाएको छ । एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर कारबाही गर्ने जनाएको हो । एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेद्वारा जारी विज्ञप्तिमा बुधबार सम्पन्न मतदानमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारबाही गरिने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘पार्टी निर्णय र हितविरुद्धमा चालिएका अन्तर्घाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषीउपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ ।’ बुधबारको मतदानमा प्रदेश १ मा एमालेका उम्मेदवार गुरु बराल र कांग्रेस उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको थियो । त्यसपछि गोलाप्रथामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । प्रदेश १ बाट अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए ।