मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ ९ आइतबार १७:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपीमा केन्द्रबाट कर्मचारी पठाउने सरकारको निर्णयको विरोधमा कर्मचारी संगठन 

Read Time : > 1 मिनेट
२०७८ माघ ९ आइतबार १७:१०:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले गरेको ठाडो हस्तक्षेपको कर्मचारी संगठनले विरोध जनाएको छ। प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय अवैधानिक भएको प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले जनाएको छ। पुस ३० गतेको मन्त्रिपरिषद्को बैठकले पदाधिकारीहरूको सट्टामा स्वास्थ्य मन्त्रालयको कर्मचारीले प्रतिष्ठान हेर्न निर्देशनसहितको मन्त्रालयले माघ ६ गते प्रतिष्ठानलाई पत्र पठाएको थियो। पत्रमा सम्पूर्ण प्रशासनिक, आर्थिक अधिकार मन्त्रालयले खटाएको कर्मचारीमा निहित हुने उल्लेख गरेको थियो। 

कर्मचारी कल्याण समाजले तत्काल बैठक बसी आइतबार कार्यबाहक अध्यक्ष उमेश थापाले सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। मन्त्रिपरिषद्को उक्त निर्णय प्रतिष्ठान ऐन २०४९ र निमायवली २०५५ को कुनै पनि दफा तथा नियम संगत नभएको र स्वायत्त रहेको प्रतिष्ठानलाई सरकारले आफ्नो स्वामित्वको संस्थानमा जसरी गरेको निर्णय स्वीकार गर्न सक्ने अवस्था नदेखिएको विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयको पत्रमा वैधानिक आधार स्वरूप उल्लेखित ऐनको दफा २०(क) कै आधारमा यो हदसम्मको निर्णय गर्न सक्ने हो भने आगामी दिनमा प्रत्येक सरकार परिवर्तनपश्चात् सबै पदाधिकारी परिवर्तन भइरहने र प्रतिष्ठानले राजनीतिक अभिष्ट बोकेका पदाधिकारीहरूको संख्या गनेर मात्र बस्नुपर्ने अवस्था आउन सक्ने पनि छ,’जारी विज्ञप्तिमा भनिएको छ –‘अझ प्रतिष्ठान ऐन र नियमावलीले नचिन्ने, स्विकार्न नसक्ने अधिकारीको निर्देशनमा हुने आर्थिक प्रशासनिक कार्यहरू स्वतः अख्तियार दुरुपयोग भएको ठहरिने र विगतमा समेत मन्त्रिपरिषद्का कयौँ निर्णयहरू अख्तियार दुरुपयोग प्रमाणित भएका सन्दर्भमा आमकर्मचारीले जानी जानी प्रतिष्ठानको ऐन नियमावलीले नचिन्ने पदाधिकारीको निर्देशन पालना गरी अख्तियारको दुरुपयोगको भागिदार बन्ने अवस्थै रहन्न।’

मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम कारबाही गर्न रोक लगाएको छ। पदाधिकारीको रूपमा काम गर्न स्वास्थ्य मन्त्रालयबाट डा.श्यामसुन्दर यादवलाई पठाएको छ। तर पदाधिकारीलाई काम गर्न किन रोक लगाइएको भन्ने जनाइएको छैन। मन्त्रालयले लेखेको पत्रमा पदाधिकारीले गर्ने आर्थिक तथा प्रशासनिक सबै काम मन्त्रालयले खटाएको कर्मचारीहरूले गर्ने र त्यहाँ अन्य कर्मचारी आवश्यक परे मन्त्रालयसँग स्वीकृति लिएर नियुक्ति गर्न सक्नेसम्मको अधिकार दिएर डा. यादवलाई मन्त्रालयले पठाएको छ। 

लामो समयदेखि प्रतिष्ठानमा विवाद भए पनि वैधानिक रूपमा समाधान गर्न छाडेर सरकारले प्रतिष्ठानमाथि सीधै हस्तक्षेप गरेको छ। आफ्नामाताहतका संस्थालाई जस्तो पत्र काटिएको प्रति यहाँका कर्मचारी चिकित्सकहरूले आपत्ति जनाएका छन्।