१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २५ मंगलबार १४:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले पर्सा अधिवेशनको बन्दसत्र स्थगित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:१o:oo

नेकपा एमाले पर्साको आठाैँ जिल्ला अधिवेशनको बन्दसत्र अन्तिम चरणमा आएर स्थगित भएको छ । मंगलबार साँझ ६ बजेदेखि सुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन संशोधनसहित पारित भएर बन्दसत्र स्थगित भएको हो । 

बन्दसत्रमा नेकपा एमाले अध्यक्ष प्रभु हजराले राजनीतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको नेकपा एमाले वीरगन्ज महानगरपालिकाका उपाध्यक्ष महेश दासले जानकारी दिए । उनका अनुसार आठाैँ जिल्ला अधिवेशनको बन्दसत्रमा नेतृत्व चयनको प्रक्रियामा सहमति नभएपछि बन्दसत्र स्थगित भएको हो । 

प्रतिनिधिहरू असन्तुष्ट

एमाले पर्साको करिब १२ वर्षपछि भएको जिल्ला अधिवेशनको बन्दसत्र नेताहरूकै कारण स्थगित भएपछि अधिवेशन प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् । 

स्रोतका अनुसार बन्दसत्रमा अध्यक्षमण्डलका सदस्यहरू मंगलबार राति ११ देखि ४ बजेसम्म अधिवेशन प्रतिनिधिहरूको मागअनुसार निर्वाचन गराउन सहमत नभएपछि बन्दसत्र स्थगित गरिएको हो ।

रातिको समयमा ६ घन्टासम्म अध्यक्षमण्डलका सदस्यहरूले बन्दसत्रबाट बाहिर आउने–जाने मात्र  गरेपछि आक्रोशित भएका अधिवेशन प्रतिनिधिहरूले होहल्ला गरेपछि एमाले पर्साका सचिव गुप्ताले बन्दसत्र स्थगित भएको सहभागीहरूलाई जानकारी गराएका हुन् । स्थगित भएको अधिवेशनबारे अध्यक्षमण्डलको सहमतिपछि अधिवेशन प्रतिनिधिहरूलाई जानकारी गराइने सचिव गुप्ताले बताए । 

एमाले पर्साका अध्यक्ष प्रभु हजाराले एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष कारणले एमाले पर्साको जिल्ला अधिवेशन स्थगन भएको बताएका छन् । उनले बन्दसत्रको कार्यक्रमबारे पछि सूचना जारी गरेर जानकारी गराइने पनि बताएका छन् । 

किन भयो बन्दसत्र स्थगित ?

नेकपा एमालेको दशाैँ महाधिवेशनपछि अहिले पर्सामा गुटउपगुट नभएको एमालेका नेताहरूले सार्वजनिक रूपमा दाबी गर्दै आएका छन् । तर, एमाले पर्सामा अहिले पनि खुला रूपमा दुई गुट स्पष्ट रहेको कार्यकर्ताहरूले बताउने गरेका छन् । 

बन्दसत्रको अध्यक्षमण्डलमा नेकपा एमाले पर्साका अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु हजरा अध्यक्ष रहने गरी केन्द्रीय सदस्य निर्मला देवकोटा, अरविन्द सिंह, राजकुमार गुप्ता र प्रदेश २ का अध्यक्ष राजनारायण यादव थिए । बन्दसत्रको अध्यक्षमण्डलमा रहेका पर्साकै चारजना केन्द्रीय सदस्य दुई गुटमा विभाजित छन् । 

स्रोतका अनुसार अध्यक्षमण्डलका अध्यक्ष हजराले रातिको बन्दसत्रमा केही नेताहरूको कुरामा लागेर बाहिर आउने–जाने मात्रै गर्ने र प्रतिनिधिहरूलाई रोक्न खोजेपछि सामान्य झडप पनि भएको थियो । 

प्रतिनिधिहरूले अध्यक्षमण्डललाई सर्वसम्मत गर्न नदिने गरी अडान लिएपछि बन्दसत्र स्थगित भएको महाधिवेशन आयोजक कमिटीका एक सदस्यले बताए । 

उनका अनुसार एमाले अध्यक्षमण्डलका अध्यक्ष नै नेताहरूको प्रभावमा परेर बन्दसत्रबाट बाहिर आउजाउ गरेपछि विरोध भएको हो । अधिवेशनमा जिल्लाका सात सय ८५ जना अधिवेशन प्रतिनिधि सहभागी छन् । 

बन्दसत्रमा नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ र सहइन्चार्ज सुमन प्याकुरेल, पोलिटब्युरो सदस्य प्रभु साहलगायत सहभागी थिए । मंगलबार बिहान नेकपा एमालेका महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।  
 

ad
ad