अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको ‘समाजवादउन्मुख समृद्धि’को कार्यदिशा तय गरेको छ । नेतृत्व चयनमा माओवादी आन्तरिक निर्वाचनमा प्रवेश नै गरेन । विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख छ ।
११ पुसदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले आठौँ दिन केन्द्रीय नेतृत्व टुंग्याएको हो । तर, विधानअनुसार महाधिवेशनको बन्दसत्र हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्नेमा दुई सय ३७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ । अर्थात् हलले पूर्ण केन्द्रीय कमिटी बनाउन सकेन ।केन्द्रीय कमिटी चयनमा माओवादी केन्द्रले प्रणाली र विधि दुवै मिश्रित अपनाएको छ । माओवादी केन्द्रले पार्टीको विधानमा केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । यसैअनुसार केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ । केन्द्रीय कमिटीले गर्ने १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्नेछन् ।
आइतबार प्रचण्डले महाधिवेशन आयोजक कमिटीका तर्फबाट दुई सय ३७ सदस्यीय केन्द्रीय सदस्यको सूची पेस गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो । केन्द्रीय कमिटी सूची हलमा प्रस्तुत गर्दा प्रचण्डले कतिपय क्लस्टरमा राख्ने नेता नहुँदा अहिलेलाई खाली राख्नुपर्ने बाध्यता रहेको बताएका थिए । ‘संविधान र ऐनले समावेशी बनाउनैपर्ने भनेको छ । त्यो हामीले नै बनाएको संविधान हो । तर, कतिपय क्लस्टरमा राख्ने मान्छे नहुँदा अहिलेलाई खाली नै राखेर पछि पदपूर्ति गर्नुपर्ने भएको छ,’ प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै भनेका थिए ।
नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा क्लस्टरमध्ये खस–आर्य ४८, दलित १६, मुस्लिम दुई, मधेसी सात, आदिवासी ४१, थारू नौ र पिछडिएको क्षेत्रबाट दुईजना गरी कुल एक सय २५ जना समानुपातिक र एक सय १२ खुलाबाट चयन भएका छन् । नयाँ विधानअनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना आउने व्यवस्था छ । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुँदा समानुपातिकतर्फबाट २९ र खुलातर्फ ३३ केन्द्रीय सदस्य हलबाट चयन हुन सकेनन् ।
अर्कोतर्फ विधानअनुसार पदाधिकारी चयन केन्द्रीय कमिटीबाट हुनेछ । केन्द्रीय कमिटीको पहिलो बैठक सोमबारका लागि आह्वान भइसकेको छ । आइतबार नै पदाधिकारीको समेत टुंगो लगाएर हलबाट अनुमोदन गराउने प्रयास असफल भएको थियो । पदाधिकारीमा आकांक्षीको संख्या धेरै छ । पछिल्लोपटक विधानमा केन्द्रीय कमिटीले आवश्यकताअनुसार पदाधिकारी थपघट गर्न सक्ने व्यवस्था राखिएको छ ।
समावेशीका लागि बनाइएका क्लस्टरअनुसार केन्द्रीय समितिमा पर्नेको सूची बनाउन माओवादी केन्द्र चुकेको छ । विधानको क्लस्टरअनुसार नभई केन्द्रीय सदस्यको संख्या तलमाथि छ । समानुपातिकतर्फ क्लस्टरको संरचनाअनुसार माओवादीको केन्द्रीय कमिटीमा खस–आर्यतर्फ– ४५ जनामध्ये पुरुष– १२, पुरुष युवा– तीन, महिला– २४ र महिला युवा– ६ जना, दलिततर्फ– २२ मध्ये पुरुष– ६, पुरुष युवा– एक, महिला– १२ र महिला युवा– तीन तथा मुस्लिमतर्फ– सातमध्ये पुरुष– एक, पुरुष युवा– एक, महिला– चार र महिला युवा– एकजना रहने व्यवस्था छ ।
मधेसीतर्फ– २३ जनामा पुरुष– ६, पुरुष युवा– एक, महिला– १३ र महिला युवा– तीन, आदिवासी–जनजातितर्फ– ४३ जनामा पुरुष– ११, पुरुष युवा– तीन, महिला– २३ र महिला युवा– ६ तथा थारूतर्फ– १० जनामा पुरुष– दुई, पुरुष युवा– एक, महिला– ६ र महिला युवा– एकजना रहने व्यवस्था छ । यसबाहेक अपांगतातर्फ– दुईमा पुरुष– एक र महिला– एक तथा पिछडिएको क्षेत्रतर्फ– दुईमध्ये पुरुष– एक र महिला– एकजना हुने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने भनिएको छ । तर, कतिपय क्लस्टरमा राख्ने केन्द्रीय सदस्य नहुँदा त्यसलाई पछि पूर्ति गर्ने भन्दै खाली राखिएको छ ।
साथै, पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष पेसल खतिवडा र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले पेस गरेका छुट्टाछुट्टै प्रतिवेदन पनि महाधिवेशनको बन्दसत्रबाट पारित भए । साथै, तीनवटै आयोगमा २५–२५ सदस्य रहने गरी पुरानै नेतृत्वलाई आयोगमा दोहो¥याइएको छ । केन्द्रीय समितिमा आयोगका सदस्यहरू पदेन रहने व्यवस्था माओवादी केन्द्रको विधानले गरेको छ ।
त्यस्तै, महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक तथा वैचारिक प्रतिवेदन र देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदन पारित गरेको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पूरक प्रतिवेदन र लेखनाथ न्यौपानेको फरक मत पेस भए पनि आगामी एक वर्षभित्र विशेष महाधिवेशनबाट तिनलाई समेट्ने भन्दै हलबाट पारित भयो ।
प्रचण्डले समूहगत छलफलमा उठेका प्रश्नको शुक्रबार जवाफ दिँदै पुनः जनताको माझमा जाने प्रतिबद्धता व्यक्त गरे । उनले जस्तोसुकै त्याग र बलिदान गर्न तयार र आफ्ना लागि यो अन्तिम अवसर भएको भन्दै गुम्न नदिने बताए । उनले अस्थिर भनेर आलोचना हुने गरे पनि आफूले माक्र्सवादी गतिशीलतालाई पक्डेको र त्यसैको परिणामस्वरूप मुलुकमा लोकतन्त्र, संघीयता र गणतन्त्र आएको जिकिर गरे । यसको रक्षाका लागि आफ्नै टाउकोमा आगो झोस्नसमेत तयार रहेको भन्दै उनले सिंगो पार्टी पंक्ति पहिलेजस्तै पुनः तयार रहनुपर्ने आवश्यकता औँल्याए । शान्ति–प्रक्रियापछि आन्दोलनमा कहीँकतै कमजोरी गरेको र त्यसलाई खुलेर स्वीकार गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनले दाबी गरे । उनले आफू बसेको घर र आफ्नो परिवारको विषयमा पनि धेरै प्रश्न उठ्ने गरेको भन्दै विकल्प खोजिरहेको स्पष्ट पारे ।
केन्द्रीय कमिटीको आकार बढ्यो, ३७५ सदस्यीय हुने
माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाएको छ । दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्य मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुने र १५ प्रतिशत (४५ जना) केन्द्रीय कमिटीबाट मनोनीत हुने विधानमा पार्टी अध्यक्षले पनि १० प्रतिशत (३० जना) मनोनीत गर्ने व्यवस्था थप गरिएपछि कमिटीको आकार बढेको हो । यससँगै केन्द्रीय कमिटी तीन सय ७५ सदस्यीय हुनेछ । माओवादीमा लेखा, अनुशासन र निर्वाचन आयोग २५–२५ सदस्यीय छ । उनीहरू ७५ जनै केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाउ“छन् । यसो हु“दा केन्द्रीय कमिटी बैठकमा चार सय ४९ जना सहभागी हुनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटीमा रहने भएकाले दुवै कमिटीको आकार पनि बढ्नेछ ।
आठौँ महाधिवेशनका आठ दिन
११ पुस : कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी अध्यक्ष प्रचण्डद्वारा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूद्वारा शुभकामना ।
१२ पुस : पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक–वैचारिक तथा स्थायी कमिटी सदस्य देव गुरुङद्वारा विधान मस्यौदा प्रतिवेदन पेस । प्रचण्डको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक–वैचारिक तथा विधान मस्यौदा प्रतिवेदनमाथि छलफलका लागि २५ समूह गठन ।
१३ पुस : प्रज्ञा भवनसहित विभिन्न स्थानमा समूहगत छलफल । पहिलो दिन समूहगत छलफल सकिएन । केन्द्रीय कार्यालयमा बुझाएको राम कार्कीको पूरक प्रस्ताव सार्वजनिक ।
१४ पुस : दिउँसो समूहगत छलफल सकियो । त्यसपछि समूहगत छलफलको निष्कर्षको रिपोर्टिङ सुरु । पहिलो दिन ११ समूहका नेताद्वारा रिपोर्टिङ । लेखनाथ न्यौपानेद्वारा फरक मत पेस । हरिबोल गजुरेलले पनि दिए लिखित बुँदागत सुझाव ।
१५ पुस : दोस्रो दिन ११ वटा समूहका नेताद्वारा राजनीतिक–वैचारिक तथा विधान मस्यौदा प्रतिवेदनमाथि सुझाव पेस । विभिन्न समूहद्वारा सरकारमा सहभागी हुने नेताको कार्यमूल्यांकन हुनुपर्ने र पार्टीको निर्णयअनुसार काम नगरेमा तत्काल फिर्ता बोलाउनुपर्ने, नेताहरूको सार्वजनिक जीवनबारे सार्वजनिक सुनुवाइ गर्ने विधि बनाउनुपर्ने, राजनीतिक नियुक्ति र लाभको पदमा पठाउनेसम्बन्धी मापदण्ड बनाउनुपर्ने र सम्बन्धित कमिटीको सिफारिसमा मात्र पठाउनुपर्ने, एकै परिवारबाट एकजनाभन्दा बढीलाई त्यस्तो लाभको पदमा पठाउन नहुनेलगायत सुझाव ।
१६ पुस : बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेसल खतिवडाद्वारा आयोगका प्रतिवेदनहरू प्रस्तुत । अध्यक्ष प्रचण्डको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ । समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्ताबेजमा समेट्ने प्रतिबद्धता । त्यसपछि परिमार्जनसहित प्रतिवेदन सर्वसम्मतिले पारित ।
१७ पुस : देव गुरुङले पेस गरेको विधान मस्यौदा पारित । आवश्यकताअनुसार केन्द्रीय कमिटीले पदाधिकारी बनाउन सक्ने व्यवस्था । केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने व्यवस्था । विधान पारित भएलगत्तै निर्वाचन प्रक्रिया सुरु गर्दै पार्टीको निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक । नयाँ केन्द्रीय कमिटीका लागि आयोजक कमिटी सदस्यहरूको प्रदेशस्तरीय भिन्दाभिन्दै छलफल । थप गृहकार्यका लागि भन्दै आइतबार २ बजेसम्मका लागि निर्वाचन कार्यतालिका स्थगन ।
१८ पुस : केन्द्रीय कमिटी र पदाधिकारीमा सहमति जुटाउन स्थायी कमिटी बैठक । दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु । बन्दसत्रबाट केन्द्रीय अनुशासन, निर्वाचन आयोग र लेखा आयोग प्रमुख निर्वाचित । पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालद्वारा आठौँ राष्ट्रिय महाधिवेशनको आय–व्यय प्रस्तुत । गिरिराजमणि पोखरेलद्वारा समसामयिक प्रस्ताव प्रस्तुत, सर्वसम्मतले पारित । बन्दसत्रमा प्रचण्डद्वारा महाधिवेशन आयोजक समितिका तर्फबाट दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर दुई सय ३६ जनाको नाम प्रस्तुत, सर्वसम्मतले पारित । प्रस्तावित केन्द्रीय कमिटीको सूची पेस । हलद्वारा अनुमोदन । अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराद्वारा महाधिवेशनको बन्दसत्र सम्पन्न भएको घोषणा ।
तीन आयोगमा प्रमुख
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यलाई अनुमोदन गरेको छ । यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्षमण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत पारित गरेको छ । केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेसल खतिवडाको नाम अनुमोदन भएको छ । तीनवटै आयोग २५ सदस्यीय छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।
चितवन र दाङबाट नौ–नौ केन्द्रीय सदस्य
माओवादीको आठौँ महाधिवेशनबाट चितवनका नौजना नेता केन्द्रीय सदस्य भएका छन् । प्रचण्डसहित नारायण दाहाल, सूर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे केन्द्रीय कमिटीमा परेका छन् । त्यसैगरी, दाङबाट कृष्णबहादुर महरा, रेखा शर्मा, जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य, हेमराज शर्मा, इन्द्रजित थारू, दामा शर्मा र नारायणी शर्मा केन्द्रीय सदस्य भएका छन् ।