मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Thursday, 19 December, 2024
दिपेश शाही काठमाडाैं
२o७८ पौष १ बिहीबार o६:o९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार o६:o९:oo

१४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब पार्टी राजनीति र सत्ता राजनीति एकसाथ अघि बढाउनुपर्ने मुख्य चुनौती छ । 

महाधिवेशनबाट पार्टीभित्र बलियो उपस्थिति देखाएको इतर समूहको मत सम्बोधन र आफ्नै समूहका नेताको व्यवस्थापन गरेर अघि बढ्नुपर्ने चुनौती देउवासमक्ष छ । महाधिवेशनको उद्घाटन सत्रमा उनले सभापति जिते तीनै तहको चुनावमा पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका थिए । 

विश्लेषक कृष्ण पोखरेलले आमजनताको त्यति धेरै अपेक्षा नभए पनि कांग्रेसजनमा भने देउवाले आमनिर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने अपेक्षा रहेको बताए । ‘आमजनतामा नहोला, तर कांग्रेसभित्रै हिजोको पराजयको जिम्मेवारी देउवाको भएकाले अब त्यो अपजसलाई मेट्नुपर्ने मुख्य चुनौती उनका सामु छ,’ पोखरेलले भने, ‘कांग्रेसका लागि अहिलेको निर्वाचन अनुकूल देखिएको छ । त्यसैले तीनवटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अवसर पनि छ । उनी स्वयंले पनि यो भनेका छन् ।’

देउवानिकट नेता एवं गृहमन्त्री बालकृष्ण खाणले नवनिर्वाचित सभापति देउवाले कांग्रेस र देशको कार्यभार पूरा गर्न सक्ने दाबी गरे । ‘सभापतिले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित बनाएर लैजानुहुन्छ । उहाँ (देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।’

देउवालाई संविधान र लोकतन्त्र रक्षा गर्नुका साथै राष्ट्रियताको विषयमा बलियो अडान राखेर हिँड्नुपर्ने चुनौती पनि छ । प्रतिबद्धताअनुसार सत्तागठबन्धनलाई सँगै लिएर तीनै तहको निर्वाचन गराउनुपर्ने कठिन चुनौती उनको सामु छ । एमसिसीलगायत केही मुद्दामा गठबन्धनमा रहेका दलहरूबीच अविश्वास छ । चाँडो चुनाव गर्नुपर्ने पार्टीभित्रको दबाब र संसद्को कार्यकाल पूरा गराउनुपर्ने गठबन्धनका दलहरूको चाहना एकैसाथ सम्बोधन गर्नुपर्ने दबाब पनि छ । प्रमुख प्रतिपक्षी एमालेलाई विश्वासमा लिएर संसद् चलाउनुपर्ने चुनौती पनि देउवासामु छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र राष्ट्रिय राजनीतिलाई सही ढंगले अगाडि बढाउनुपर्ने देउवाका अगाडि चुनौती रहेको संकेत गरेका छन् । ‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा उभिएका छौँ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्,’ आफ्नो शुभकामना सन्देशमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको चुनौतीपूर्ण यात्राको संकेत गरेका छन्, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ कांग्रेस आजको आवश्यकता हो ।’

आमनिर्वाचनमा पार्टीलाई एक नम्बर कसरी बनाउने ?
महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवाले भनेका थिए, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई यसपटक जिताइदिनुस् ।’ त्यसको दुई दिनपछि उनले अर्को कार्यक्रमलाई सम्बोधन गर्दै त्यही विषय दोहोर्‍याएर आफूलाई सभापतिमा जिताउन आग्रह गरे । महाधिवेशनबाट आफूलाई जिताए तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने घोषणा गरेका थिए । यसअघि गठबन्धन बनाएर चुनाव जितेका कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्र अहिले तीन टुक्रामा विभाजित छन् । यस्तो अवस्थामा आफू नेतृत्वको सरकारबाट चुनाव गराएर पार्टीलाई पहिलो बनाउने चुनौती देउवामाथि छ ।

कोइरालाको समूहलाई मिलाएर लैजानुपर्ने
शेखर कोइराला सभापतिमा पराजित भए पनि ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । दोस्रो चरणको निर्वाचनमा अन्य सबै उम्मेदवार एकातिर हुँदा पनि उनले पहिलो चरणको भन्दा मत थपे । त्यसले कोइराला समूह पार्टीभित्र महत्वपूर्ण हिस्सा आफ्नो पक्षमा रहेको निष्कर्षमा पुगेको छ । सभापतिको मतपरिणाम सार्वजनिक भएपछि बुधबार प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा कोइराला पक्षका अधिकांश नेताले आफूहरू कमजोर नरहेको र पार्टीमा अधिकारका लागि लड्ने संकेत गरेका छन् । विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेलको जस्तै यो समूहले देउवासँग ६०–४० को भाग खोज्ने देखिन्छ । यो समूहलाई मिलाएर तीनवटै चुनावमा जित निकाल्नु देउवालाई मुख्य चुनौती छ । कोइराला समूहबाट पदाधिकारीभित्र बलियो उपस्थिति देखिए देउवालाई पार्टीभित्र यसअघि जस्तो एकलौटी निर्णय गरेर अघि बढ्न गाह्रो हुनेछ । 

 आफ्नै समूहभित्र पदाधिकारीका आकांक्षीको सम्बोधन
आफ्नै गुटका नेताको व्यवस्थापन गर्न पनि देउवालाई गाह्रो छ । महाधिवेशनमा उनको समूहबाट महामन्त्री पदमा मात्रै कम्तीमा पाँचजना आकांक्षी थिए । तर, देउवाले सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । त्यसबाट देउवाको गृह प्रदेश सुदूरपश्चिमका उनको खम्बा मानिएका एनपी साउद नै सन्तुष्ट छैनन् । साथै, उनका विश्वासपात्र मानिएका र अहिले मन्त्रीसमेत रहेका बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू असन्तुष्ट छन् । केही नेताहरू मन्त्रीको जिम्मेवारीमा रहेका कारण नबोले पनि बाँकी नेताहरूको व्यवस्थापन गर्नु देउवाका लागि चुनौती छ ।

 १३औँ महाधिवेशनबाटै साथ दिएको सिटौला समूहको व्यवस्थापन
देउवाले तेह्रौँ महाधिवेशनदेखिका सहयोगी कृष्णप्रसाद सिटौला पक्षलाई नजरअन्दाज गरेर अघि बढ्न सक्ने छैनन् । चौधौँ महाधिवेशनको सुरुवातदेखि नै दुवै पक्षबीच अघोषित समीकरण बनेको थियो । जुन महाधिवेशनसम्म आइपुग्दा महामन्त्री र सहमहामन्त्रीजस्ता पदाधिकारीकै पदमा भागबन्डा गर्नुपर्ने अवस्थामा आइपुग्यो । सिटौला समूहसँग संख्याका हिसाबले ठूलो शक्ति नभए पनि पार्टी केन्द्रमा देखाउने नेताहरूको अनुहार भने पुग्दो छ । त्यसमा देउवाकै स्वार्थले बढी काम गरेको स्पष्ट नै भएको सिटौला पक्षको बुझाइ छ । ‘हामी हाम्रो शक्ति आकलन गरेर जता पनि समीकरण बनाउन सक्थ्यौँ । निर्वाचनमा समीकरण बनाएर जाँदा शक्तिलाई केन्द्रित गरेर जान सकिन्छ भनेर सभापतिको प्रस्ताव आएपछि हामी तयार भएका हौँ,’ सिटौला पक्षका एक नेताले भने । उनले निर्वाचनबाटै आफ्नो पक्षका उम्मेदवार विजयी हुने र त्यसपछि सभापतिसँग सहकार्य गरेरै अघि बढ्ने मनस्थितिमा रहेको बताए । केन्द्रीय पदाधिकारीमा सिटौला समूहका उम्मेदवारहरू पराजय वा विजयी जे भए पनि सुरुवातदेखि नै साथ दिएका कारण सिटौला पक्षलाई देउवाले व्यवस्थापन गर्नुपर्नेछ । जुन त्यति सहज छैन । 

दोस्रो चरणको निर्वाचनमा बनेको समीकरणको कार्यान्वयन
दोस्रो चरणको निर्वाचनमा देउवाले सभापतिका अन्य उम्मेदवारसँग तालमेल गरेका थिए । नेतृत्व हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिसम्मलाई एकाध घन्टाभित्रै आफ्नो पक्षमा पारे । वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री शशांक कोइरालालाई तटस्थ बस्ने अवस्थामा पुर्‍याए । स्रोतहरूका अनुसार सिंह र निधिलाई देउवाले पार्टी र सरकार दुवै ठाउँमा स्थान दिने वाचा गरेका छन् ।