१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Monday, 30 September, 2024
तस्बिर सौजन्य : चितवन घाँस स्रोत केन्द्र
यम बम काठमाडाैं
२o७८ मङ्सिर २९ बुधबार o५:५४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालले प्रशोधित घाँस चीन निर्यात गर्ने

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार o५:५४:oo

गाईवस्तुको आहाराका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न मन्त्रिपरिषद्द्वारा प्रोटोकल स्वीकृत

नेपालले चीनको सिगात्सेलाई लक्षित गरी प्रशोधित घाँस निर्यात गर्न प्रक्रिया अगाडि बढाएको छ । गाईवस्तुको आहाराका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न मन्त्रिपरिषद्ले १३ मंसिरमा चीनका लागि प्रोटोकल स्वीकृत गरेको हो ।

चीनले पनि यो प्रोटोकल स्वीकृत गरेमा दुवै मुलुकबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर भएर घाँस निर्यात खुला हुनेछ । ‘हेलेज निर्यात गर्न सकिने देखिएपछि नेपालले प्रोटोकल स्वीकृत मात्र गरेको हो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘हामीले पनि केही सर्त राखेका छौँ, त्यसका आधारमा चीनले प्रोटोकल स्वीकृत गरेमा मात्र सम्झौतामा हस्ताक्षरको मिति तय हुनेछ ।’

चीनले नेपालबाट हेलेज आयातका लागि चासो देखाएपछि नेपालले डेढ वर्षअघि मात्र प्राविधिक कार्यदल गठन गरेर अध्ययन गरेको थियो । अध्ययन समितिले नेपालमा मकै, नेपियर र जौको व्यावसायिक घाँसखेती प्रवर्द्धन गरेर आन्तरिक खपतसँगै बाह्य निर्यात गर्न सकिने निष्कर्ष निकालेपछि सरकारले प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलका सदस्यसचिव माधव भट्टका अनुसार मकैको ढोडललाई १ देखि ३ सेन्टिमिटर र पातलाई ३ देखि ६ सेन्टिमिटरमा टुक्रा पारेर कम्प्रेस प्याकिङ गरिन्छ । काटिएको घाँसलाई प्लास्टिकको झोलामा हावा नछिर्ने गरी प्याकिङ गरेर थिचेर राखिन्छ, जसलाई साइलेज भनिन्छ । झोलामा घाँससँगै पौष्टिक तत्व राखिएको हुन्छ । नेटकम्प्रेस प्याकिङ मेसिनमार्फत २८० देखि ४५० केजीसम्मको साइलेज बण्डल बनाइन्छ, जुन बेलनाकार हुन्छ । 

‘दानाकै रिप्लेसमेन्ट होइन । तर, बुझ्नका लागि गुन्द्रुकजस्तो भन्दा पनि हुन्छ,’ भट्टले भने, ‘यो आहारामा ४० प्रतिशत पानीको मात्रा हुने र पोषिलो पनि हुने भएकाले चीनमा प्रचलित छ ।’ चीनले दूधिलो मकै घोगासहित डाँठ र पातको हेलेजमा रुचि देखाएको छ । त्यसबाहेक नेपियर नामक विकासे घाँस र जौँ पनि हेलेज बनाएर चीन निर्यात गर्ने सरकारी योजना छ । 

पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक मोदनाथ गौतमका अनुसार सहरी क्षेत्रमा पशुपालन रहे पनि आहाराको कमी हुँदै आएकाले हेलेजको सम्भावाना बढ्दै गएको छ । ‘हेलेजले पराल रिप्लेसमेन्ट गरिदिन्छ । तर, दाना भने चाहिन्छ,’ गौतमले भने, ‘प्याकिङ गरेर चार महिना राख्दा जीवाणु पनि नष्ट हुने गर्छ ।’

मकैको हेलेज चितवनमा परीक्षण उत्पादन भइरहेको छ । नेपाल ग्रिनल्यान्ड मल्टिपरपोज प्रालिले प्रेमबस्तीमा २० बिघामा मकै लगाएर गत वैशाखबाट हेलेज बजार पठाउन थालेको हो । ‘नेपालमै खपत गर्ने र चीन, भारतलगायतका देशमा निर्यात गर्ने गरी लगानी बढाइरहेका छौँ,’ प्रालिका अध्यक्ष श्रीबहादुर खड्काले भने, ‘हाम्रो लक्ष्य मकैको हेलेज हो, सातै प्रदेशमा विस्तार गर्ने कार्ययोजना छ ।’ यसबाहेक स्थानीय किसानलाई पनि हेलेजका लागि मकै लगाउन उत्प्रेरित गरेर कम्पनीले खरिद गर्ने उनले बताए । चितवनमा मकैको हेलेज प्रविधिमा नेपाली र चिनियाँको संयुक्त लगानी छ । टियानु इन्टरनेसनल नामक चिनियाँ कम्पनीले पनि घाँस उत्पादन, प्रशोधन र खरिदमा लगानी गरेको थियो ।

घाँस निर्यातका लागि चीनका सर्त
चीन भने घाँससँगै जीवाणु भित्रिन सक्नेमा सचेत देखिन्छ । चीनले नेपाललाई पठाएको प्रोटोकलको मस्यौदामा खोरेतसहित जीवाणु नभएको भनी नेपालका आधिकारिक निकायले प्रमाणित गरेको हेलेज मात्र आयात गर्ने सर्त राखेको छ । नयाँ पत्रिकालाई प्राप्त विवरणमा खोरेतसहित जीवाणु नभएको प्रमाणित गरेर नेपालले अनुमति दिनुपर्ने, भेटेरिनरी सर्टिफिकेट दिँदा घाँसको ट्रिटमेन्ट भएको प्रमाणित नेपालले गर्नुपर्ने र प्याकिङ गरिएको हेलेज खोल्दा ८० डिग्री सेल्सियस तापक्रम हुनुपर्ने सर्त राखेको छ । यस्तै, हेलेज निर्यातको चार महिनाअघि नै ट्रिटमेन्ट गरेर प्याकिङ गरिएको प्रमाणित हुनुपर्ने भनिएको छ । यी विषयमा नेपाल सकारात्मक छ । 

तर, आर्टिकल १० मा ट्रिटमेन्ट गरेर पठाइएको घाँसमा खोरेतलगायतका जीवाणु फेला परेमा नेपालले निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने भनिएको छ । त्यस्तै, ती कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने र उत्पादन क्षेत्रबाट खरिद नगर्ने पनि सर्तमा राखिएको छ । प्रोटोकल स्वीकृत हुनुअघि मुख्यसचिव शंकरदास वैरागीले ‘प्रतिबन्ध’ शब्द संशोधन हुनुपर्ने बताएका थिए । मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रोटोकल संशोधित हो, होइन पुष्टि हुन सकेको छैन । ‘समस्या देखिएमा निर्यातको प्रतिबन्धभन्दा पनि बरू आयात गर्ने भनेर राख्न सकिन्छ, भनेर छलफल भएको हो,’ एक सरकारी अधिकारीले भने । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हेलेज निर्यातको प्रक्रियाको काम प्रारम्भिक चरणमा रहेकाले धेरै कुरा स्पष्ट भइनसकेको बताए । ‘चीनले प्रोटोकल स्वीकृत गरोस्, त्यसपछि के गर्ने भनेर कार्ययोजना बनाएर अगाडि बढ्ने होला,’ उनले भने ।