पाँच दिनपछि चितवनमा सम्पन्न हुने पार्टीको दशौँ महाधिवेशनका लागि एमाले उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबार एक कार्यक्रममार्फत उपाध्यक्ष रावलले उम्मेदवारी घोषणा गरेका हुन्। पार्टी अध्यक्षको जिम्मेवारी लिन १२ उद्देश्य र १५ मान्यता अघि सार्दै रावलले आफ्नो उम्मेदवारीमाथि भरोसा राख्न र सदभाव दर्शाउन ओलीसहित नेता तथा प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
रावलले अगाडि भनेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएको छ। यस क्रममा उहाँले देश र जनताका लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्। उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो। उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभवलगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु। पार्टीमा फुट भएको वेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु। साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहनेछु। अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहज रूपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सदभाव प्रदर्शन गर्नुहुन कमरेड केपी शर्मा ओली एवं सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरूसमक्ष हार्दिक आह्वान गर्दछु।’
त्यस्तै रावलले आफूले उम्मेदवारी दिनुको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डा लाई निष्ठा र दृढताका साथ फहराइरहन अघि बढ्ने संकल्प गरेको छु। यही दृढसंकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्ताबेजमा उल्लेखित र अनुल्लेखित वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा ०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले)को दशाैँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
उम्मेदवारी घोषणाको पूर्ण पाठ :