नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोरिने छुट नभएको बताएका छन्। नेपाली कांग्रेस सुनसरी - काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा बौल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले १३औँ महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए । पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उनको भनाइ थियो।
‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरूले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् । अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन’उनले भने।
साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताए। १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई थियो। अर्को प्रसंगमा उनले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावनाअनुसार नै समाधान गर्नुपर्ने बताएका छन् ।