
धामी बनेर झारफुक गर्छु भन्दै इलामको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। मंगलबार बिहान ६ बजे आफ्नै घरमा परिवारका सदस्य राखेर झारफुक गर्छु भन्दै धामी बनेका कमलले ३४ वर्षीया श्रीमती सीता तामाङ र १६ वर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्ने क्रममा हत्या गरेका हुन् ।
परिवारका सदस्य राखेर बिहानै धामी बनेर झारफुक गर्न थालेका तामाङले श्रीमती र छोरीलाई देउता लागेको छ भन्दै घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । श्रीमती र छोरीको हत्या गरिसकेपछि उनले आफ्नै बाबुलाई अब तेरो पालो भन्दै झारफुक गर्न थालेपछि बाबु डरले भागेर बाँच्न सफल भएका थिए ।
स्थानीयका अनुसार खेतीकिसानी गरेर जीविका चलाउने कमलका श्रीमतीसहित तीनजना छोरी थिए । हत्या गरिएकी छोरी कक्षा १० मा पढ्दै थिइन् ।
स्थानीय लक्ष्मण ढुंगेलका अनुसार खेतीपातीसँगै गाउँमै अटोरिक्सा कुदाउँदै आएका कमल केही दिनदेखि मनोरोगी बनेका थिए । उनले आफूमाथि देउता चढ्यो, म फलानालाई मार्छु, काट्छु भन्दै भौँतारिएर हिँडने र वेलावेला बेहोस हुने गर्दथे ।
धामी बनेर झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गर्ने कमललाई प्रहरी चौकी गजुरमुखीधामबाट घटनास्थल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।