मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ २८ सोमबार ०९:५७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अफगानिस्तानमा डेढ वर्षदेखि बेरोजगार ३४ नेपालीलाई घर फर्किने चिन्ता

Read Time : > 3 मिनेट
२०७८ भदौ २८ सोमबार ०९:५७:००

 

तालिवानले सत्ता कब्जा गरेपछि ३४ नेपाली घर फर्किने आशासहित विमानस्थल  पुगेका थिए । तर, फर्किन पाएनन् । त्यसपछि उनीहरू ज्यान जोगाउँदै काबुलस्थित गुरुद्वाराको आश्रयमा पुगे (तस्बिर) । उनीहरू विमानस्थलबाट निस्केको केही घन्टामा बम विस्फोट भएको थियो । अहिले युएनको सेल्टरमा रहेका उनीहरू उद्धारको पर्खाइमा छन् ।

अफगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्किने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्वसुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ वर्षदेखि काबुल पुगेर पनि बेरोजगार छन् ।

 नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरूमध्ये अधिकांशले काबुल पुगेपछि अफगान दलाललाई थप चारदेखि आठ लाखसम्म बुझाएको बताएका छन् । तर, खाने र बस्ने सुविधाबाहेक उनीहरूले कुनै रोजगारी पाएनन् । तालिवान सत्तामा आएपछि ज्यान जोगाउँदै एयरपोर्ट र गुरुद्वारा हुँदै अहिले उनीहरू युएन एरियामा बसेका छन् । सबै रित्तोहात फर्किँदै छन् । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० नेपाली सुरक्षाकर्मीमध्ये सय र बेरोजगार अवस्थाका ३४ जनालाई चार्टर उडानबाट काठमाडौं ल्याउने भनिएको छ । तर, कहिले ल्याउने भन्ने अझै टुंगो छैन ।

 ‘रोजगारीका लागि आएका, तर चारदेखि १८ महिनासम्म काबुलमा रोजगारी पर्खेर बसेका हामी बेरोजगार थियौँ, अहिले पनि बेरोजगार छौँ,’ गोर्खाका एक नेपाली पूर्वसुरक्षाकर्मीले सुनाए, ‘तालिवान आइसकेपछि बाँचिएला कि नबाँचिएला भन्ने थियो, हामी होटेलबाट एयरपोर्ट गएर बस्यौँ । तर, उद्धार हुन नसकेपछि गुरुद्वारामा गएर बस्यौँ । भारतीय राजदूतावासमा पनि गयौँ, नेपाली र भारतीय दूतावासका सरहरूकोे सहयोगमा हामी युएन एरियामा आएर बसेका छौँ । अहिले हामी सुरक्षित त छौँ । तर, कहिले घर पुगिएला भन्ने भएको छ । हामीलाई पैसा डुबेको चिन्ताभन्दा पनि सकुशल घर कहिले पुगिएला भन्ने चिन्ताले सताएको छ ।’

काबुलमा रहेका नेपाली औपचारिक रूपमा बोल्न चाहँदैनन् । आफूहरू रहेको  सेल्टर असुरक्षित रहेको सन्देश जाने भएकाले उनीहरूलाई मिडियामा नबोल्न भनिएको एक नेपालीले बताए । बेरोजगार ३४ जनामध्ये नेपाली सेनाका अवकाशप्राप्त तीन र भारतीय सेनाबाट अवकाशप्राप्त १० जना नेपालीमध्ये केही काबुलको रोसन प्लाजा होटेलमा १८ महिनादेखि बस्दै आएका थिए ।

लमजुङका एक नेपाली १८ महिनादेखि विनारोजगार होटेलमा बस्दै आएका थिए । ‘मैले पोखरातिरको एकजना नेपाली दलाललाई सात लाख रुपैयाँ बुझाएँ, काबुल आएर यहाँको दलाललाई पटक–पटक गरेर आठ लाख रुपैयाँ थप बुझाएँ,’ ती नेपालीले टेलिफोनमा भने, ‘काबुल पुगेको एक महिनाभित्र जागिर हुने र मासिक कम्तीमा पनि एक लाख २० हजार नेपाली रुपैयाँ कमाइ हुने भनेर आइयो । काम पाइएला भनेर दलालले मागेको पैसा पनि थप्दै गएँ, अब बेरोजगार अवस्थामा फर्किनुपरेको छ । त्यही पनि सुरक्षित घर पुगे त हुन्थ्यो ।’ 

दलालले खाने–बस्ने बस्दोबस्त भने होटेलमा राम्रैसँग गरिदिएको अर्का नेपालीले बताए । ‘अर्को सातादेखि कुनै दूतावासको जिम्मा लगाइदिन्छौँ, काम दिलाइदिन्छौँ भन्दाभन्दै धेरै महिना झुलाइदियो, अमेरिकाले काबुल छोड्नुभन्दा अगाडिसम्म पनि घर फर्काइदिन्छौँ, चिन्ता नगर भन्दै आयो, तर पछि दलालकै अत्तोपत्तो भएन,’ उनले भने, ‘हामीलाई उनीहरूले पासपोर्ट र कागजात दिए, खाने–बस्ने बन्दोबस्त होटेलमा बसुन्जेल राम्रै थियो । तर, जेका लागि आएका थियौँ, काम पाएनौँ । ऋणमा डुबेर फर्किने अवस्था आयो ।’
 
उडान खुल्नासाथ उद्धार : नेपाली राजदूतावास
नयाँदिल्लीस्थित नेपाली राजदूतावासले काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएलगत्तै नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता आएको बताएको छ । ‘काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएपछि उहाँहरूलाई त्यहाँको रोजगारदाता कम्पनीको खर्चमा चार्टर उडानमार्फत काठमाडौंसम्म ल्याइदिने प्रतिबद्धता व्यक्त भएको छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत सयजना नेपालीलाई काठमाडौं ल्याउँदा ३४ जनालाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ । अहिले ३४ जना संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । हामी सम्पर्कमा छौँ, समस्या केही छैन भन्नुभएको छ ।’ 

उनीहरूलाई स्वदेश नआउन्जेलसम्मका लागि खाने–बस्ने सुविधा उपलब्ध छ । दिल्लीस्थित दूतावासले गठन गरेको विशेष कार्यदलका संयोजकसमेत रहेका सुवेदीका अनुसार ३४ जनाको पिसिआर परीक्षणसमेत भइसकेको छ । उनीहरू सबैको रिपोर्ट निगेटिभ आएको छ । 

परराष्ट्र मन्त्रालय स्रोतले भने नेपालले काठमाडौंस्थित अमेरिकी, भारतीय, जर्मनी र बेलायतको राजदूतावासमार्फत काबुलमा रहेका नेपालीलाई ती मुलुकका नागरिकसँगै उद्धारका लागि औपचारिक रूपमा प्रयास थालेको दाबी गरे । परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘हामीले निकै ठूलो कूटनीतिक प्रयासबाट एक हजारजना नेपालीलाई त्यहाँबाट उद्धार गराउन सफल भएका छौँ । ३४ जना बाँकी भएका नेपालीलाई पनि ग्रिन जोनमा लगेर राख्न कूटनीतिक प्रयास गरेका हौँ ।’ 

गृह मन्त्रालयले काबुलमा रहेका नेपालीलाई यताबाट जहाज पठाएर तत्काल ल्याउन सकिने अवस्था नभएको जनाएको छ । ‘परराष्ट्र मन्त्रालयको सहसचिव नेतृत्वको कार्यदलमा म पनि सदस्य छु । कार्यदलमा भएको छलफलका आधारमा म भन्न सक्छु कि अफगानिस्तानको काबुलमा रहेका नेपालीलाई तत्काल ल्याउनका लागि अहिले नेपालले जहाज पठाउने अवस्था छैन । किनभने काबुल विमानस्थल सहज रूपमा अझै सुचारु भएको छैन । नागरिक जहाज अझै अपेक्षित रूपमा सुचारु भएको छैन,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा दुई दिनअघि आयोजित कार्यक्रममा गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलको भनाइ थियो । 

करिब नौ सय फर्किए, सयजना बाटोमा 
अफगानिस्तानबाट उद्धार भएर अहिलेसम्म करिब नौ सय नेपाली स्वदेश फर्केका छन् । परराष्ट्रका अधिकारीहरूका अनुसार सयजना भने विभिन्न मुलुकका पारगमन बिन्दु (ट्रान्जिट प्वाइन्ट)मा छन् । करिब एक हजार नेपालीले काबुल छाडेका छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्तिमा भनिएको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिले ठप्पजस्तै छ । अमेरिकाले ११ दिनअघि आफ्ना सबै फौज र स्टाफ फिर्ता गरेसँगै काबुल विमानस्थल सहज रूपमा सुचारु भएको छैन । 

 सरकार भन्छ– जहाज पठाएर तत्काल ल्याउन सक्ने अवस्था छैन
गृह मन्त्रालयले काबुलमा रहेका नेपालीलाई यताबाट जहाज पठाएर तत्काल ल्याउन सकिने अवस्था नभएको जनाएको छ । ‘परराष्ट्र मन्त्रालयको सहसचिब नेतृत्वको कार्यदलमा म पनि सदस्य छु । कार्यदलमा भएको छलफलका आधारमा म भन्न सक्छु कि अफगानिस्तानको काबुलमा रहेका नेपालीलाई तत्काल ल्याउनका लागि अहिले नेपालले जहाज पठाउने अवस्था छैन । किनभने काबुल विमानस्थल सहज रूपमा अझै सुचारु भएको छैन । नागरिक जहाज अझै अपेक्षित रूपमा सुचारु भएको छैन,’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा दुई दिनअघि आयोजित कार्यक्रममा गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलको भनाइ थियो । 

 उडान खुल्नासाथ उद्धार
रामप्रसाद सुवेदी, दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख

काबुल विमानस्थलबाट नागरिक उडान सुचारु भएपछि उहाँहरूलाई त्यहाँको रोजगारदाता कम्पनीको खर्चमा चार्टर उडानमार्फत काठमाडौंसम्म ल्याइदिने प्रतिबद्धता व्यक्त भएको छ ।

संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत सयजना नेपालीलाई काठमाडौं ल्याउँदा ३४ जनालाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ ।

अहिले ३४ जना संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । हामी सम्पर्कमा छौँ, समस्या केही छैन भन्नुभएको छ ।