१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 28 September, 2024
मार्गरेट हु
२o७८ भदौ १८ शुक्रबार ११:२८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बायोमेट्रिक तथ्यांकको जोखिममा अफगानी

Read Time : > 2 मिनेट
मार्गरेट हु
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार ११:२८:oo

अमेरिका र पूर्वअफगान सरकारको डाटाबेसमा तालिबानको सम्भावित पहुँचले तथ्यांकको गोपनीयता एवं साइबर सुरक्षाबारे थप चिन्ता बढाइदिएको छ

काबुल कब्जा गरिरहँदा अमेरिकाले अफगान जनतालाई निगरानीका निम्ति संकलन गरिएका बायोमेट्रिक तथ्यांक तालिबानले हात पार्न लागेको चिन्ताजनक समाचार सतहमा आएका छन् । कुनै वेला अमेरिकालाई सहयोग गरेका अफगानहरू भौतिक एवं डिजिटल पहिचान नष्ट गर्न प्रयासरत छन् । अधिकांश अफगान आफ्ना परिचयपत्र, दस्ताबेज एवं डाटाबेस तालिबानका हातमा पुग्नु भनेको मृत्युपत्र तयार हुनु हो भनेर सशंकित छन् । शारीरिक उपस्थितिको अवस्थिति जनाउने यी बायोमेट्रिक तथ्यांक विशेषतः द्वन्द्वग्रस्त क्षेत्रमा जीवन–मरणको सवाल बन्न पुग्छन् । मेरो अनुसन्धान र बायोमेट्रिक साइबर निगरानीमा चासो राख्ने पत्रकार तथा पैरवी गर्ने नीति–निर्माताले सम्भावित तथ्यांक गोपनीयता र सुरक्षा जोखिमबारे पूर्वानुमान गरिसकेका थियौँ ।  

११ सेप्टेम्बर २००१ पछिको अवस्था नियालेर ‘फस्र्ट प्लाटुन’ पुस्तक लेखेकी खोज पत्रकार एनी ज्यकोबसेनका अनुसार रक्षा विभागले बायोमेट्रिक तथ्यांकलाई एक अस्त्रका रूपमा हेरेको थियो । बायोमेट्रिक तथ्यांकलाई आधार मानेर विभागले ल्याएको आइडेन्टिटी डोमिनेन्स अर्थात् ‘पहिचान प्रभुत्व’लाई आतंकवादविरोधी रणनीतिको आधारशिला मानिएको थियो । पहिचान प्रभुत्वले सम्भावित सैन्य खतराको नियमन गर्ने र विभिन्न संघसंस्थालाई गोप्य रूपमा गर्ने क्रियाकलापमा बन्देज लगाउँथ्यो । २००४ सम्ममा हजारौँ अमेरिकी सैन्य अधिकारीलाई अफगानिस्तान र इराकमा हुने युद्धलाई सघाउ पु¥याउने उद्देश्यले बायोमेट्रिक तथ्यांक लिन सिकाइयो । 

अमेरिकी सेनाले २००७ सम्म आइपुग्दा बायोमेट्रिक अटोमेटेड टुलसेट (ब्याट) र ह्यान्डहेल्ड इन्टेराजेन्सी आइडेन्टिटी डिटेक्सन इक्विपमेन्ट (हाइडे) को प्रयोग गर्न थालिसकेको थियो । यी उपकरणले आँखाको नानी, औँठाछाप, अनुहार पढेर पृथक् जैविक तथ्यांक सैन्य डाटाबेसमा अद्यावधिक गर्थे । यी उपकरण प्रणालीले बायोमेट्रिक मात्रै होइन, अपराध वा आतंकवादजस्ता अन्य तथ्यांकको पनि अध्यावधिक गथ्र्यो । उल्लिखित प्रणालीबाट आउने सूचनाले सुरक्षा विश्लेषकलाई मानिसको गतिविधिमा निगरानी गर्न सहयोग पुर्‍याउँथ्यो । रक्षा विभागले २०११ सम्ममा करिब ४८ लाख अफगान र इराकी जनताको बायोमेट्रिक तथ्यांक संकलन गरेको थियो । त्यसबाहेक अमेरिका र अफगान सरकारका सैन्य साझेदारले विद्रोहीलाई पहिचान र नियमन गर्न बायोमेट्रिक सुरक्षा वा बायोमेट्रिक साइबर सुरक्षा अँगालेका थिए । त्यसपछिका वर्षमा रक्षा विभागले ८० प्रतिशत अफगान जनता अर्थात् करिब तीन करोड २० लाख जनताको बायोमेट्रिक तथ्यांक संकलन गरिसक्ने लक्ष्य लिएको थियो । हाल लक्ष्य पूरा भए–नभएको स्पष्ट छैन ।   

बायोमेट्रिक तथ्यांकबाहेक अमेरिकी एवं अफगान सेनाले सुरक्षा प्रयोजनबाहेकका सरकार चलाउन चाहिने दैनिकीका लागि तथ्यांक बटुल्ने प्रविधि पनि प्रयोग गर्न थालेका थिए । यसमा रोजगार एवं चुनावी सुरक्षाका लागि आपराधिक गतिविधिका प्रमाण पनि राखिन्थ्यो । त्यसबाहेक अफगान राष्ट्रिय परिचयपत्र एवं मतदाता पञ्जीकरणका डाटाबेसमा जातिगत तथ्यांक पनि राखिएको थियो । अफगान राष्ट्रिय परिचयपत्र भएको इ तज्किरा भनिने विद्युतीय परिचयपत्रमा बायोमेट्रिक तथ्यांक उल्लिखित थिए । यसकारण राष्ट्रिय परिचयपत्र प्रणालीमा तालिबानको पहुँच हुँदा जोखिम थप बढ्ने देखिन्छ । तालिबान आफैँले अमेरिका निर्मित बायोमेट्रिक तथ्यांकमा पहुँच बनाउन नसके पनि आफ्नो पुरानो साझेदार पाकिस्तानी खुफिया निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) को सहयोग लिने सम्भावना धेरै छ ।

एक अर्को रिपोर्टले तालिबानले घरघरमा पूर्वअफगान अधिकारी एवं सुरक्षा कर्मचारीको पहिचान गर्न बायोमेट्रिक मेसिन प्रयोग गर्न थालिसकिएको संकेत दिएको छ । यस खबरलाई सुरक्षा अधिकारीको हत्या र अपहरणका निम्ति तालिबानले यसअघि बसयात्रुको बायोमेट्रिक स्क्रिनिङ गरेको मिडिया रिपोर्टकै निरन्तरताकै रूपमा लिन सकिन्छ । अनुसन्धाता, अभियन्ता एवं नीति–निर्माताले ११ सेप्टेम्बर २००१ यता संवेदनशील बायोमेट्रिक तथ्यांकको जनस्तरमा भएको संकलन, भण्डारण तथा विश्लेषणले गोपनीयता एवं मानवअधिकारमा गम्भीर खतरा हुने भनेर चासो राखेका थिए । बायोमेट्रिक तथ्यांकमा तालिबानको सम्भावित पहुँचले माथिका चासो आधारहीन थिएनन् भन्ने देखाउँछ । यति मात्रै होइन, तालिबानको सम्भावित पहुँचले अमेरिकी साइबर सुरक्षा प्रणालीको जोखिमलाई पनि छरपस्ट पारिदिएको छ । 

अमेरिका र पूर्वअफगान सरकारको डाटाबेसमा तालिबानको सम्भावित पहुँचले तथ्यांकको गोपनीयता एवं साइबर सुरक्षाबारे थप चिन्ता बढाइदिएको छ । बायोमेट्रिक तथ्यांकसँग सरोकार राख्ने प्रणाली निर्माण गर्दा अफगान सरकार तथ्यांक सुरक्षाका लागि अस्थिर रहेको अमेरिकी रक्षा विभागको बुझाइ देखिन्छ । अमेरिकी सेनाले बायोमेट्रिक, दैनिक सम्बन्धित, क्षेत्र इंगित गर्ने, खुफिया, सरकारी अभिलेखजस्ता संवेदनशील तथ्यांक शत्रुका हातमा पर्न सक्छ भन्ने हेक्का राख्नुपथ्र्यो । अनधिकृत पहुँच रोक्ने सुरक्षा विधिको विकाससँगै पेन्टागनले सुरुमै बायोमेट्रिक तथ्यांक संकलन आवश्यक भए–नभएको हेर्न जरुरी थियो । अर्थात् अमेरिकी प्रयोगको अनपेक्षित परिणाम हेर्दा तथ्यांक संकलनको औचित्य एवं विधिबारे सबैले गम्भीर हुनु आवश्यक देखिन्छ ।      

(हु पेन स्टेट विश्वविद्यालयमा कानुन एवं अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट