नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा जाने नेता चयन गर्न समस्या नरहेको बताएका छन्। बाहिर सुनिएजस्तो माओवादी केन्द्र मन्त्री छान्नका लागि रस्साकस्सी, घेराबन्दी र अप्ठ्यारो स्थितिमा नरहेको प्रस्ट पारेका हुन्।
आफ्नो दलबाट दुईजना नेता मन्त्रिपरिषदमा गइसकेको उल्लेख गर्दै नेता पौडेलले बाँकी व्यक्ति चयन गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई नै सुम्पिएको बताएका छन्। माओवादीभित्रको कारणले नभई विभिन्न दलहरूबीचका विभिन्न आन्तरिक कारण र निर्वाचन आयोगसँग सम्बन्धित कारणले मन्त्रिमण्डल विस्तारको काम अल्झेको उनको भनाइ छ।
‘दुईजना मन्त्री गइसक्नुभा छ। अब बाँडचुँड गर्दाखेरि चार–पाँचभन्दा बढी पक्कै पनि आउँदैन। चार–पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन। हामीले एक ढंगले प्रचण्डलाई पार्टीको अध्यक्ष भएको हुँदाखेरि उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ,’ उनले भने, ‘सम्भवत: यो कारणले अल्झेकोभन्दा पनि विभिन्न दलहरूबीचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदाखेरि यो विषय लामो भयो।’