संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदा बस्ने भएका छन्। सर्वोच्च स्रोतका अनुसार सुनुवाइको सहजताका लागि प्रधानन्यायाधीश जबरा बिदामा बस्न लागेका हुन्। ‘संवैधानिक निकायको नियुक्तिका विषयमा परेका ६ वटै रिटको सुनुवाइका लागि आउँदो शुक्रबारलाई पेसी चढेको छ। ‘रिटमा प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि सम्माननीय प्रधानन्यायाधीशज्यू बिदा बस्नुहुने भएको छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो।
सर्वोच्च अदालतले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। शुक्रबारका लागि सुनुवाइ तोकिएको मुद्दामाथि संवैधानिक परिषद्को सदस्यको हैसियतमा निर्णयमा सहभागी बनेकाले आफैँलाई प्रतिवादी बनाइएको मुद्दामा बस्न बस्न नपाइने भन्दै इजलासमा उनको भूमिकामाथि कानुन व्यवसायीले प्रश्न उठाएका थिए।