ससाना खोला मिसिएर ठूलो नदी बन्नु समावेशिता हो भने त्यो नदीभित्र तिनै खोलाको चिनारी कायम रहनु तिनको पहिचान हो । पहिचान र अधिकारसहितको समावेशिताले सांस्कृतिक विविधताको संरक्षण गर्दै हरेक संस्कृतिको अस्तित्व र स्वाभिमान रक्षा गर्छ । यसले साँचो अर्थमा राष्ट्रिय एकतालाई सबल बनाउँछ । नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो र यसैको प्रतिबिम्ब हरेक तहका कक्षाकोठामा पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा समाजमा भएको जातीय, भाषिक, लैंगिक, धार्मिक, क्षेत्रीय तथा सांस्कृतिक विविधता विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाकोठामा समेत पाइन्छ ।
अझ गहन रूपमा हेर्दा यी विविधताका अतिरिक्त विद्यार्थीमा पाइने रुचि, क्षमता, लक्ष्य, आकांक्षा सबलता एवं कमजोरीका विविधताले कक्षाकोठालाई साँच्चै अनौठो संगमस्थल बनाएको हुन्छ भने शिक्षण सिकाइ क्रियाकलापलाई योजना, कार्यान्वयन, मूल्यांकनलगायत सबै तहमा उत्तिकै जटिल । यस्तो परिप्रेक्ष्यमा शिक्षकले विद्यार्थीसामु उभिएर सधैँ भाषण दिने, विद्यार्थी मूकदर्शक भएर त्यही श्रवण गर्ने अनि कण्ठ गरेको लेखेर अंक हासिल गर्ने पुरातन कर्मकाण्डी शिक्षण सिकाइले न त कक्षाकोठाको विविधता र जटिलतालाई सम्बोधन गर्छ न यसले २१औँ शताब्दीको युगसापेक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।
यस्तो शिक्षण पद्धतिले हाम्रोजस्तो बहुलतामूलक समाजमा बहुसांस्कृतिक मानिस आपसी सद्भावका साथ मिलेर बस्ने वातावरणसमेत बनाउन सक्दैन । यसको सुरुवात कक्षाकोठाको सौहार्दपूर्ण वातावरणबाटै गर्नुपर्छ । विविध पृष्ठभूमिका सहपाठीबीच कायम हुने आपसी सद्भाव, सहयोग, सहकार्य र सौहार्दपूर्ण सम्बन्धले समाजको विविधतामा मानिसलाई मिलेर बाँच्न र हातमा हात मिलाएर अघि बढ्न सक्ने बनाउँछ । यसले सामाजिक एकता, शान्ति र प्रगतिमा सार्थक योगदान पु¥याउन सक्नेमा दुई मत छैन । एकोहोरो अनि संस्कृति र परिवेशनिरपेक्ष शिक्षणले प्रमाणपत्रधारी अक्षम बेरोजगारको भिड मात्र उत्पादन गर्छ ।
हाम्रो देशको सन्दर्भमा हेर्दा यहाँका बहुजातीय र बहुसांस्कृतिक मानिसका आफ्नै मौलिक विशेषता, जीवन पद्धति, परम्परागत पेसा, आस्था र विश्वास, चाडपर्व, आफ्नै ऐतिहसिक पृष्ठभूमि र अरूलाई हेर्ने आफ्नै दृष्टिकोण छन् । यस्ता विषयको खोज र अनुसन्धान गरी संस्कृतिसापेक्ष पाठ्यक्रम विकास गर्नु र त्यसैअनुरूप शिक्षण विधि अवलम्बन गरी विभिन्न परिवेशका विद्यार्थीसँग सम्बन्धित भौतिक र अभौतिक सम्पदा अनि विशेषतालाई शिक्षणको अभिन्न अंश बनाउनु नितान्त आवश्यक छ ।
संस्कृतिसापेक्ष शिक्षणले विद्यार्थीलाई विविध संस्कृतिसँग सात्क्षात्कार गराउँदै अनुसन्धानमूलक शिक्षण विधिद्वारा एक–अर्कालाई राम्रोसँग बुझ्ने, स्विकार्ने र सहकार्य गर्ने वातावरण सिर्जना गर्छ
आयातित दर्शन र सिद्धान्तभन्दा हाम्रै बहुलताबीच अन्तर्निहित जीवनदर्शन र जीवनपद्धति बढी सान्दर्भिक हुन सक्छन् । विश्वव्यापीकरणको वर्तमान युगमा हामी हाम्रो निरपेक्ष, एकल र विश्व परिवेशबाट अलग्गिएको अस्तित्वको परिकल्पना गर्न सक्दैनौँ । वर्तमान युगमा देशहरू एकअर्कामा अन्तरनिर्भर र एकअर्कासँग विभिन्न माध्यामद्वारा जोडिएका छन् जसले गर्दा भौगोलिक सीमा पातलिँदै एवं कम प्रभावकारी बन्दै गएका छन् । अर्कातर्फ, अहिले राष्ट्रको अस्तित्व राज्यका सिमानाभित्र मात्र सीमित छैन । यस्तो परिवेशमा आपसी अन्तर्सम्बन्धद्वारा फाइदा लिने सम्भावना एकातिर छ भने सांस्कृतिक अतिक्रमणको सम्भावना त्यत्तिकै जोडदार छ ।
प्रगतिशील शिक्षण विधि संस्कृति र समयसापेक्ष हुने गर्छ । सांस्कृतिक अन्वेषण र भ्रमण गराउने, आ–आफ्नो सांस्कृतिक अनुभव अभिव्यक्त गर्न लगाउने, सांस्कृतिक प्रवचन आयोजना गर्ने, विविध संस्कृतिका शिक्षक नियुक्त गर्ने, सांस्कृतिक विषयवस्तुमा प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्ने, सबै संस्कृतिका चाडपर्व सम्भव भएसम्म मनाउनेतर्फ बालबालिकालाई प्रेरित गर्न सकिन्छ । विद्यालयमा अभिभावकको संलग्नता बढाउने तथा पारिवारिक जीवनसँग सम्बन्धित परियोजना कार्य तयार गर्न लगाउनेजस्ता क्रियाकलापले विद्यार्थीको बहुलतामूलक समाजबारेको बुझाइ र सांस्कृतिक सुझबुझमा अभिवृद्धि गर्दै उनीहरूलाई आफ्नो समाजमा महत्वपूर्ण सदस्य बन्न र सार्थक जीवन बाँच्न मद्दत पुर्याउँछ ।
विविध जनजाति र बहुल संस्कृतिका मानिसको ज्ञान, सीप र क्षमताको प्रवर्धन र संरक्षण गर्दै त्यसलाई राष्ट्र र सम्पूर्ण मानवजातिको उत्थानका लागि प्रयोग गर्नु संस्कृतिसापेक्ष शिक्षाको अभीष्ट हो । अन्य जात, धर्म, संस्कृति र क्षेत्रका मानिसबारे परम्परागत रूपमा हाम्रो मानसपटलमा जुन नकारात्मक बिम्ब सिर्जना गरिएको छ त्यसले हामीबीच विभाजनका रेखाहरू कोरेर हामीलाई एक भएर अघि बढ्न दिँदैन । तर, बहुसांस्कृतिक वा संस्कृतिसापेक्ष शिक्षणले विद्यार्थीलाई विविध संस्कृतिसँग सात्क्षात्कार गराउँदै खोज वा अनुसन्धानमूलक शिक्षण विधिद्वारा एकअर्कालाई राम्रोसँग बुझ्ने, स्विकार्ने र सहकार्य गर्ने वातावरण सिर्जना गर्छ ।
जातीय रूपमा हामीसँग विभिन्न पेसा पनि जोडिएका छन् । तिनको पहिचान र प्रवर्धनसँगै आत्मगौरवका साथ आफ्नो सांस्कृतिक पेसामा लाग्ने, हरेकको श्रमको सम्मान गर्ने र त्यसैलाई आर्थिक उन्नतिको सबल आधार बनाउने वातावरण संस्कृतिसापेक्ष शिक्षाले निर्माण गर्छ । त्यस्तै, हाम्रो मौलिकता र पहिचान संरक्षणमा दृढ हुँदै कुन हदसम्म विश्वव्यापीकरणको तरंगलाई पछ्याउने भन्ने पनि यसको एक महत्वपूर्ण पक्ष हो । र, यही नै आजको शिक्षण क्षेत्रको टड्कारो आवश्यकता पनि हो । यसरी हाम्रो सांस्कृतिक विविधताको उपयुक्त व्यवस्थापन गरी अधिकाधिक सामाजिक हित सुनिश्चित गर्नका लागि संस्कृतिसापेक्ष शिक्षणको ठूलो महत्व रहेको छ ।
(गौतम शैक्षिक तथा राजनीतिक विषयमा कलम चलाउँछन्)
Follow @santoshgautam32