काठमाडौं उपत्यकामा आगामी ८ भदौसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट लागू हुने गरी राति ८ बजेबाट अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी निषेधाज्ञा थप गरेका छन् । सबै प्रकारका सभा, सम्मेलन, खुला स्थानमा भेला हुने, भिडभाड हुने र केही क्षेत्र खोल्न नपाइने गरी निषेधाज्ञा थप भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबार भने, ‘होटेल, रेस्टुरेन्ट, टेकवे मात्रै दिने भन्यौँ, तर, मानिसहरू बाहिरै बसेर खाइरहेका छन् । रेस्टुरेन्टहरू चालू भइरहेका छन्, होटेलका मानिसहरूले पनि स्वास्थ्य प्रोटोकलहरू पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भिडभाडजन्य गतिविधिहरू रोक्नलाई नै सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नुपर्ने गरी निर्णय गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडीहरू चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न राति दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू पनि चल्न पाउँछन् । राति कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भिडभाडमा कोरोना नलाग्ने, राति लाग्ने भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य सवारीसाधन रोक्ने होइन, तर भिडभाडजन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरू पार्किङ गरेर रेस्टुरेन्टतिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरू नलगाउने प्रवृत्ति देखियो, त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ ।’
काठमाडौं रेड जोनमा पुगेको रिपोर्ट स्वास्थ्यकर्मीहरूले दिइरहेको भन्दै पराजुलीले जुनसुकै वेला निषेधाज्ञा कडाइ हुने बताएका छन् ।
उनले पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गइरहेको भन्दै निषेधाज्ञामा जुनसुकै वेला पुनरावलोकन हुन सक्ने बताए ।