सत्तारुढ गठबन्धनले एमालेको माधव नेपाल पक्षलाई सोमबार साँझसम्म पर्खेर मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले नेपाल पक्षको अनुकूलतालाई हेरेर मन्त्रिपरिषद्लाई पूर्णता नदिए पनि विस्तारको काम अघि बढाउने निष्कर्ष निकालेको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेलगत्तै गठबन्धनले मन्त्रिपरिषद् विस्तारलाई मुख्य एजेन्डा बनाएर छलफल थालेको छ । यद्यपि, मन्त्रिपरिषद् विस्तारमा दुई–तीन दिन लाग्न सक्ने गठबन्धनका कतिपय नेताहरूले बताएका छन् । कांग्रेस नेता पूर्णबहादुर खड्काले भने, ‘दिउँसो न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि नेताहरूबीचमा सामान्य छलफल भएको हो । ठोस छलफल भोलि (सोमबार)देखि सुरु हुन्छ । ठोस निर्णय गर्न शीर्ष नेताहरूले सरकारसम्बन्धी सबै विषयमा सोमबारदेखि नै छलफल थाल्नुहुन्छ ।’
उनले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको कामले पूर्णता पाउने बताए पनि कहिलेसम्म हुने भन्ने विषयमा खुलाउन सकेनन् । तर, शीर्ष नेताहरूको आलोचना सुरु भएकाले सरकारमा सहभागी हुने दलका तर्फबाट तत्काल केही मन्त्रालयमा भए पनि मन्त्री पठाउने सहमति गरेका छन् । एमाले अध्यक्ष ओली पक्षको सोमबारको केन्द्रीय समिति बैठकले पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा माधव नेपाल पक्षको छ । ओली पक्षले गरेको निर्णयपछि आफूलाई पनि निर्णय गर्न सहज हुने नेपाल पक्षको बुझाइ छ ।