दार्चुला जिल्ला नेपाली राजनीतिको इतिहासमा घरीघरी उकुच पल्टेको घाउजस्तो बल्झिरहन्छ । लामो समयसम्म यसको दुःख बाँकी नेपालसँग सडक सम्पर्क सञ्जालले नजोडिनुमा थियो । यसको दुःख भारतको धार्चुला हुँदै नेपालका अन्य जिल्लासँग जोडिनुमा थियो । यसको दुःख नुनतेल लिन पनि पारिको बजार गइरहनुपर्ने स्थानीयवासीका पीडामा थियो । अरू जिल्लाका जस्तै रोजीरोटीका लागि भारत धाउनुपर्ने स्थानीयवासीका अनेक हन्डरमा थियो । गत वर्ष कोरोनाकालमा महाकालीमा हाम फालेर आफ्नो देशको माटोमा उभिनासाथ पक्राउ परेका युवालाई गरिएको राज्यको व्यवहारमा पनि त्यो पीडा झल्किन्थ्यो । पछिल्लो समय यसको पीडा कालापानीसँग जोडिएको छ ।
दार्चुलाका जयसिंह धामीको भारतीय एसएसबीबाट भएको ‘हत्या’को घटनाले आफ्नै नागरिकलाई आन्तरिक आवागमनको व्यवस्थासमेत गर्न नसक्ने राज्यले न ती जनताको रक्षा गर्न सक्छ, न देशको रणनीतिक हितको सुरक्षा भन्ने प्रस्ट पारेको छ
०३० सालवरपरदेखि नेपालको नक्साबाट अचानक गायब भएको चुच्चे भागले झस्काएका नेपालीले झन्डै ३० वर्षपहिलेदेखि यस विषयमा आवाज उठाउन थालेका थिए । त्यहाँको नेपाली सीमा, सीमाक्षेत्रका बासिन्दामाथि भारतले गरिरहेको अतिक्रमण र थिचोमिचो काठमाडौंका आँखामा पर्ने गरी मूलधारका पत्रपत्रिकाले सार्वजनिक गर्न थालेपछि यो अचानक नेपाली राष्ट्रियताको मुख्य मुद्दा बन्न पुग्यो । त्यसयता यो जिल्ला एउटा बिम्ब बनेको छ, देशको रणनीतिक सुरक्षाका मामिलामा चुनौतीको । भारतले यतै राखेको छ, आफ्नो सीमा सुरक्षा बल, इन्डो–तिबेटियन बोर्डर फोर्स र भारतीय फौज । नेपालको भूभागमै बसेको छ, भारतीय सुरक्षा निकाय एउटा कृत्रिम सीमा सिर्जना गरेर । नेपाली भूभाग र त्यहाँ बसोवास गर्ने नागरिक पारिका भएका छन् । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमाबिन्दु पूर्वतिर सारिएको छ । भारतले चिनियाँ सीमासम्म सम्पर्क गर्ने सडक नेपाली भूमिबाट लगेको छ । त्यही सडकवारिपट्टिका नेपालीको अवस्था नाजुक छ । स्थानीय बासिन्दा अझै पनि जिल्ला प्रशासनबाट लिइने या पालिकाबाट पाइने सेवाका लागि अहिले पनि भारतको बाटो भएर सदरमुकाम खलंगा आउनुपर्छ ।
यही आफ्नो गाउँबाट जिल्ला सदरमुकाम हुँदै काठमाडौं आउनका लागि सीमानदी महाकालीमा लगाइएको तुइन तर्न लाग्दा अस्ति मात्र स्थानीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बलको मानवताविरोधी अपराधको सिकार भए । उनी वैदेशिक रोजगारीमा जान चाहन्थे । नेपालबाटै सडक जोडिएको हुन्थ्यो भने उनको ज्यान जाने थिएन, उनका कलिला सन्तानले टुहुरिनुपर्ने थिएन । गत वर्ष चुच्चे नक्सा प्रकाशित हुँदा देशमा एउटा राष्ट्रवादी ज्वरो आएको थियो । सेना र सशस्त्र प्रहरीसहित नेपाल प्रहरीका पोस्टहरू विस्तार गरिएका थिए । गोरेटो खन्न थालिएको थियो । भारतले महाकालीपारि बनाइरहेको सडकले यताको सडक मिचेको छ, खोलाको भल्को नेपालको पहाडतिर धकेलिएको छ । यी यावत् विषयले दुइटा पाटाको संकेत गर्छन्, भारत नेपालको विश्वसनीय र असल छिमेकी होइन । पहिलो, उसले मौका पाउँदा नेपालीलाई हेप्छ, मिच्छ र मानिसको ज्यानसमेत लिन्छ । दोस्रो, नेपालले आफ्नै राष्ट्रियताको रक्षा सिंहदरबारमा भाषण गरेजस्तो सजिलो छैन । आफ्नै नागरिकलाई आन्तरिक आवागमनको व्यवस्थासमेत गर्न नसक्ने राज्यले न ती जनताको रक्षा गर्न सक्छ, न रणनीतिक हितको सुरक्षा ।
अहिलेचाहिँ भारतको हेपाहा, मिचाहा र हत्यारा सीमा सुरक्षा बलका क्याडरमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषय महत्वपूर्ण हो । भारतले नेपालसँग यसका लागि माफी माग्नुपर्छ, सम्बन्धित अधिकारीलाई व्यक्तिहत्याको अपराधमा मुद्दा चलाउनुपर्छ । यसका लागि नेपाल सरकारले तत्काल कदम चालोस्, नेपाली जनताको साथ त सरकारलाई सधैँ छँदै छ ।