मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १७ बिहीबार
  • Thursday, 19 December, 2024
दीपक अधिकारी काठमाडौं
नरेन्द्रसिंह कार्की दार्चुला
२o७८ असार १७ बिहीबार o७:१८:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला सीमामा भारतले बलजफ्ती सडक बनाउँदा नेपालतर्फ पहिरोको मार 

Read Time : > 3 मिनेट
दीपक अधिकारी, काठमाडौं
नरेन्द्रसिंह कार्की दार्चुला
२o७८ असार १७ बिहीबार o७:१८:oo

स–खलंगा सम्पर्क टुट्यो, दर्जनबढी ठाउँमा गोरेटो बाटो अवरुद्ध, सडक बनाउन नदीको प्राकृतिक धार परिवर्तन गराउँदै भारत

भारतले सीमावर्ती क्षेत्रमा सडक बनाउँदा ठूल्ठूला चट्टान फोर्ने क्रममा नेपालतिरको भूभाग कमजोर भई पहिरो गएको छ । जसले गर्दा वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा सडक अवरुद्ध बनेको छ ।

भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाउँदा दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिकाको छांगरुसम्मको सम्पर्क टुटेको छ । यहीवेला महाकाली नदीमा पानीको बहाव बढेपछि झन् समस्या थपिएको छ । 

व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण तथा केही ठाउँमा महाकालीमा नदीको बहावले बाटो अवरुद्ध भएको हो । भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुंगाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जुलगायतका ठाउँमा बढी बाटो अवरुद्ध भएको छ । 

सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटो दर्जनौँ बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उनले भने, ‘कैयौँ ठाउँमा गोरेटो बाटो सयौँ मिटर बढी नदीले कटान गरेको छ । बाटोको नामोनिसानै मेटिएको छ ।’ 

भारतले घाटिबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ । ‘यो क्षेत्रमा नदीकिनार भएर बनाइएको पूरै घोडेटो बाटो भत्किएको छ,’ वडा नम्बर २ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीले नयाँ पत्रिकासँग भने । यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन । त्योभन्दा माथिल्लो तम्बाकु भीरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको छ । स्थानीयलाई वनजंगलबाट घर फर्किनसमेत कठिनाइ भएको छ ।

भारतको बाटो भएर खलंगा आउनुपर्ने बाध्यता
भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणका लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । कैयौँपटक डोजर, एस्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै भारतले आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाव अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुने गरेको थियो ।
माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो । त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लिङस्थित सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठुल्ठूला चट्टानहरू नदीमा फालिएकाले नदीको बहाव नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जानकारी दियो ।

यस क्षेत्रमा नेपालले पनि सडक निर्माण गर्दै छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिंकर सडकखण्डको व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका तिंकरसम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ । यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो ।

पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारैकिनार छांगरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएका कारण भारतीय सडकबाट नदीमा ढुंगा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटान परेको हो । 

सेनाले गत वर्ष बनाएकै घोरेटो बाटोसमेत महाकाली नदीले कटानले जोखिममा परेको छ । ‘नेपालतिर भएर व्यासको छांगरु तिंकर जान सकिने अवस्था अब रहेन,’ वडाध्यक्ष बोहराले भने, ‘यो बाटो मर्मत कहिले होला । यति मात्र नभई छांगरुमा नेपाल–भारत जोड्ने सीतापुलसमेत महाकाली नदी कटानको जोखिममा छ । महाकाली नदीले सीतापुलनजिकै रहेको भारतीय एसएसबीको चेकपोस्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको छ । सीतापुल बगायो भने व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था पुगेको छ ।’

वर्षौंदेखि जीर्ण रहेको काठको पुल मर्मत गर्न पटकपटक गाउँपालिकासँग आग्रह गर्दा कुनै सुनुवाइ नभएको वडाध्यक्ष बोहराले बताए । ‘अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरूले भारतको बाटो भएर अहिले खलंगा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलंगासम्म व्यासीका स्थानीय पुग्ने सक्ने अवस्था छैन,’ उनले भने, ‘पैदल हिँडडुल गरे पनि भारतीयहरूसँगै अनुरोध गरेर सदरमुकाम खलंगा र व्यासको छांगरु–तिंकर आउजाउ गर्नुपरेको छ ।’

दार्चुला–तिंकर सडक बनाउँदै नेपाली सेना

सन्तोषबल्लभ पौडेल प्रवक्ता, नेपाली सेना 

सडकको सर्भे भइसकेको छ, त्यसको प्रतिवेदन स्वीकृत भएपछि सर्भे अलाइन्मेन्ट बनाइन्छ र लगत्तै काम सुरु हुन्छ । प्राविधिक प्रमुख सेनानीको नेतृत्वमा एक सय ३५ जनाको टोली सडक निर्माणमा खटिएको छ ।

नेपाली सेनाले दार्चुला–तिंकर भन्ज्याङ सडक निर्माणका लागि साउनदेखि तीनवटा क्याम्प सञ्चालन गर्ने भएको छ । दार्चुला सदरमुकाम खलंगादेखि कोठधारसम्म बाटो निर्माण भइसकेको छ भने आगामी आर्थिक वर्षमा सेनाले कोठधारदेखि तिंकरसम्मको ८७ किलोमिटर बाटो निर्माण सुरु गर्नेछ । सेनाले तिंकर भन्ज्याङ्मा पनि इन्जिनियरिङ कार्यदलको एउटा शिविर स्थापना गर्ने भएको छ । 

नेपाली सेनाले सुनसेरा र डुम्लिङमा दुईवटा क्याम्प स्थापना गरिसकेको छ । त्यहाँबाट उत्तरतिर र तिंकर भञ्ज्याङमा क्याम्प राखेर दक्षिणतर्फ एकैसाथ बाटो निर्माण सुरु गर्ने सेनाको तयारी छ । आगामी आर्थिक वर्ष दशदेखि १२ किलोमिटरसम्म ट्र्याक खोल्न सकिने सेनाको विश्वास छ । दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङ जोड्ने मोटरबाटो हालसम्म निर्माण भएको छैन । दार्चुला सदरमुकामदेखि सुनसेरा हुँदै उत्तरतिर कोठधारसम्म बाटो बनेको छ । कोठधारबाट तिंकरसम्मको ८७ किलोमिटर सडक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।

१४ वैशाख ०७७ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि तिंकरसम्मको ८७ किमि सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला–खलंगा हुँदै तिंकर जोड्ने महाकाली राजमार्गको चार सय २५ किलोमिटर लम्बाइ छ । जसमध्ये खलंगाबाट कोठेधारसम्म सडक माहकाली लोकमार्ग दार्चुला तिंकर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताए । ‘यहाँसम्मको ४७ किलोमिटर सडक हामी बनाउँछौँ,’ पन्तले भने, ‘अहिलेसम्म ४३ किलोमिटर सडकको ट्र्याक खुलाएका छौँ ।’

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाको इन्जिनियरिङ विभागअन्तर्गत विकास निर्माण कार्यदल बाटो निर्माणमा खटिएको छ । प्राविधिक प्रमुख सेनानीको नेतृत्वमा एक सय ३५ जनाको टोली खटिएको उनले जानकारी दिए । हाल सुनसेरा र डुम्लिङमा सेनाका दुई शिविर छन् । तिंकरमा पनि शिविर राखेर दुवैतर्फबाट बाटो निर्माण गर्ने सेनाको तयारी छ । ‘बाटोको सर्भे भइसकेको छ, त्यसको प्रतिवेदन स्वीकृत भएपछि सर्भे अलाइन्मेन्ट बनाइन्छ र लगत्तै काम सुरु हुन्छ,’ सैनिक प्रवक्ता पौडेलले नयाँ पत्रिकासँग भने । यो बाटो निर्माण गर्न सरकारले आगामी आर्थिक वर्षका लागि करिब २२ करोड रुपैयाँ छुट्याएको छ ।