मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ७ सोमबार
  • Thursday, 19 December, 2024
सिंगटी–लामोसाँघु प्रसारण लाइनमा निर्माण सम्पन्न भएका संरचना
२o७८ असार ७ सोमबार o८:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११ वर्षमा पूरा भयो सिंगटी–लामोसाँघु प्रसारण लाइन : निजी क्षेत्रको विद्युत् खेर नजाने   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ७ सोमबार o८:४३:oo

ठेकेदार कम्पनीको बेवास्ताले ११ वर्षदेखि अलपत्र रहेको सिंगटी–लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन पूरा भएको छ । प्रसारण लाइन निर्माण पूरा भएसँगै दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी क्षेत्रको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । प्रसारण लाइनको सिंगल सर्किट लाइन तान्ने काम पूरा भएपछि पनि सञ्चालनमा नआएका आयोजना सञ्चालनमा आउने भएका छन् ।

प्रसारण लाइन निर्माण आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले सबै टावर उठाएर सिंगल सर्किट तार तान्ने काम पूरा भएको बताए । सिंगल सर्किट तार तान्ने काम सकेर सबस्टेसनबीच डाटा पठाउने र तार तान्ने काम भइरहेको छ । अहिलेसम्म तार तान्ने काम पनि दोलखा जिल्लाभित्र सकिएको र सिन्धुपाल्चोकमा झन्डै ८ किलोमिटरजति मात्र बाँकी रहेको ढुंगेलले जानकारी दिए । 

निर्माण पूरा भएका केही टावरमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको छ भने इन्सुलेसन टेस्टिङको कामसमेत भइरहेको छ । केही ठाउँमा लाइन क्लियर गर्ने समस्या रहेकाले जतिसक्दो चाँडो लाइन चार्ज गर्न प्राधिकरणको व्यवस्थापन तहसँग छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार लामोसाँघुको सबस्टेसनमा सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान कार्य समाप्त भई परीक्षणको तयारीसमेत गरिएको छ । 

भारतीय ठेकेदार कम्पनीका कारण ढिलाइ 
नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग २ वर्षमा सम्पन्न गर्ने गरी सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा दुई वर्षभित्र प्रसारण लाइन र सिंगटीको सबस्टेसनसमेत निर्माण गर्ने उल्लेख थियो । सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेक्का सम्झौता भएपश्चात् पनि पटक–पटक ठेकेदार कम्पनी सम्पर्कविहीन भएको थियो । त्यसपछि पुनः काम गर्छु भन्दै प्राधिकरण पुगेपछि सोही कम्पनीलाई पहिलोपटक म्याद थप भएपछि पनि सम्पर्कविहीन हुँदा आयोजना लम्बिएको हो । 

त्यसपछि ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिन लाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरेको थियो । आफ्नो कम्पनीबाट उत्पादित विद्युत् बिक्री गर्नै समस्या भएपछि ग्रिन लाइफले अरावलीसँगको सहकार्यमा काम अघि बढाएको थियो । अहिले सोही कम्पनीको नेतृत्वमा आयोजना निर्माण सम्पन्न भएको हो । आफ्नो आयोजनाको विद्युत् चाँडै आउने भएपछि अरावलीको काम लिएर चाँडै प्रसारण लाइनको काम गर्ने गरी अग्रसर भएको ग्रिन लाइफ पछिल्लो समय आफ्नै आयोजना समस्या भएपछि प्रसारण लाइनको कामसमेत सुस्त बनेको थियो ।

 १ सय २४ वटा टावर निर्माण 
४० किलोमिटर लामो प्रसारण लाइनमा १ सय २४ वटा टावर उठेका छन् । सिंगल सर्किट पूरा भएकाले प्राविधिक परीक्षण पूरा भएपछि तत्काल विद्युत् प्रसारण गर्न मिल्छ । अधिकांश ठाउँमा डबल सर्किटको काम पनि पूरा भइसकेको छ । बाँकी काम लाइन सिंगल सर्किट चार्ज भए पनि काम गर्न मिल्ने उनले बताए । आयोजना प्रमुख ढुंगेलका अनुसार आगामी साउन पहिलो सातासम्म सबै उपकरण र अन्य संरचनाको परीक्षण सफल भए प्रसारण लाइन सञ्चालनमा आउनेछ । प्रसारण लाइनमा सबैभन्दा पहिले सिंगटी खोलाले उत्पादन गरेको २५ मेगावाट विद्युत् जोडिनेछ । 

यी हुन्, प्रसारण लाइनमा तत्काल जोडिने आयोजना 
१० मेगावाटको सिप्रिङ, ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोलाको विद्युत् खेर गइरहेको छ । 
२५ मेगावाटको सिंगटी खोलाको पनि आयोजना पूरा भई सबै प्राविधिक परीक्षण सम्पन्न गरी विद्युत्गृह बन्द गरेर बसेको छ । सिंगटी खोलाको आयोजना व्यवस्थापनले पनि प्रसारण लाइन चाँडै पूरा गराउन ४ महिनादेखि आयोजनालाई सहयोग गर्दै आएको छ ।
३० मेगावाटको एउटा र ४० मेगावाटको अर्को खानीखोला १ आयोजनाले काम अन्तिम चरणमा पुगेर पनि विद्युत् उत्पादन गर्न सकेको छैन । यसले आयोजनाको लागत बढाइरहेको छ ।