![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/narayani2021-06-16-10-09-43.jpeg)
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मंगलबार नारायणी नदीको देवघाट जलमापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन् ।
गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताइन् । गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।
पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको हो । निर्माणको समयमा गण्डक ब्यारेजको क्षमता सात लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले चारदेखि पाँच लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमान्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।
नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । हाल नारायणी नदीमा जलसतहले खतरा तह (८ मिटर) पार गरेको र अझै बढ्ने क्रममा भएकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा रहेका मानिसलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन जिल्ला विपद् व्यवस्थापन समिति, चितवनले मोबाइल एसएमएसमार्फत जानकारी गराएको छ ।
नारायणी नदीमा आएको बाढीको पानी बस्तीमा समेत पसेको छ । जसकारण भरतपुर वडा नम्बर ३ को नारायणी दोभान टोल, वडा नम्बर १६ को झन्झने र वडा नम्बर २६ को सिसैका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिँदै छ । प्रभावित करिब एक सय ५० भन्दा बढी घरधुरीका परिवारलाई सुरक्षित स्थानमा सारिएको भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपाल न्यौपानेले बताए ।