गोरखाको भीमोदय माध्यमिक विद्यालयको शिक्षकबाट सरकारी सेवामा प्रवेश गरेका रामकुमार श्रेष्ठ निजामती सेवाको उपल्लो तह सचिव मात्र भएनन्, मन्त्री पदसम्म पुगे । आठ वर्षअघि मन्त्री बन्न पुगेका श्रेष्ठले ४६ वर्ष सरकारी ओहोदामा छँदा साढे चार करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धानबाट खुलेको छ । उनले आफू र आफ्ना परिवारका नाममा २५ ठाउँमा त जग्गा मात्र जोडेका छन् भने छोरीज्वाइँलाई सापटीका नाममा डेढ करोड दिएका छन् ।
१६ ठाउँमा श्रीमतीका नाममा जग्गा किन्दा श्रेष्ठले आफू र छोराका नाममा चार–चार ठाउँमा जग्गा जोडेका छन् । बुबाका नाममा भने एक ठाउँमा मात्र जग्गा छ । २९ माघ ०७० मा मन्त्रीबाट बाहिरिँदा उनी र उनको परिवारका नाममा बैंक तथा वित्तीय संस्थामा एक करोड रुपैयाँ रहेको पाइएको छ । एक लाख २३ भन्दा बढी कित्ता सेयरका धनी रहेका श्रेष्ठले चार करोड ४५ लाख २७ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको पाइएपछि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बिगो असुलका लागि श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार श्रेष्ठले सरकारी ओहोदामा छँदा ४६ वर्षमा कानुनी रूपमा कुल ६ करोड ९० लाख १६ हजार कमाएका थिए । तर, उनको सम्पत्ति र कारोबार हेर्दा यो अवधिमा ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ आउँछ । जसमा चार करोड ४५ लाख २७ हजार रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले मुद्दा चलाएको हो ।
श्रेष्ठले सहसचिव, सचिव र मन्त्री छँदा जग्गा खरिदमा लगानी बढाएको देखिन्छ । उनले आफू, बुबा, छोरा र श्रीमतीका नाममा २५ ठाउँमा जग्गा किनेका छन् । जसमध्ये सबैभन्दा बढी जग्गा खरिद ०६१ देखि ०७२ सम्म भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । ०६५ र ०७१ मा चार–चार ठाउँमा जग्गा किनेका छन् । २४ भदौ ०६४–८ माघ ०६४ सम्म सचिव र त्यसपछि ६ चैत ०६९–२९ माघ ०७० सम्म पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका श्रेष्ठले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र गोरखामा जग्गा किनेका छन् । उनी सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका थिए । श्रेष्ठले ०६१ यता साझेदारसहित १७ स्थानमा जग्गा किनेका छन् । चपली र चितवनबाहेक सबै ठाउँमा आफू र आफ्नी श्रीमती सरस्वतीको नाममा जग्गा छ ।
स्रोत नखुलेको सम्पत्ति के–के ?
पूर्वमन्त्री श्रेष्ठले ०३९ मा काठमाडौं–२९ स्थित श्रीमतीको नामममा रहेको १० आना तीन पैसा जग्गामा घर बनाएका थिए । तर, ०४२ र ०४५ मा घर बनाउँदा खर्च भएको रकमको ९२ प्रतिशतको स्रोत नखुलेको अख्तियारको अनुसन्धानबाट पाइएको छ । त्यो वेला उनीसँग चार लाख ८६ हजार अकुत सम्पत्ति थियो । उनले ०४६ मा सोही घरमा तला थप्दा चार लाख ५६ हजार खर्चेको पाइएको छ ।
श्रेष्ठले १९ फागुन ०४७ मा छोरा सरोज श्रेष्ठका नाममा काठमाडौं–१९ मा किनेको सात आना दुई पैसा जग्गामा पनि अकुत सम्पत्ति प्रयोग भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यसको अर्काे वर्ष सोही क्षेत्रमा सरोजको नाममा थपिएको एक आना एक पैसा जग्गाको पनि श्रेष्ठले स्रोत खुलाउन सकेका छैनन् ।२१ भदौ ०५० मा छोरा सरोजका नाममा बालाजुमा किनिएको तीन रोपनी आठ आना जग्गामा पनि उनले अकुत सम्पत्तिको प्रयोग गरेको पाइएको छ । जसमा खरिदको शतप्रतिशत रकम अकुत रहेको अख्तियारको दाबी छ ।
श्रेष्ठले २९ मंसिर ०५० र ०५६ मा आफ्नो नाममा धापासीमा क्रमशः चार आना चार पैसा र चार दाम जग्गा किनेका थिए । तर, ती दुवै जग्गा पनि अकुत सम्पत्तिबाट किनेको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार श्रेष्ठले २३ मंसिर ०६१ मा छोरा सरोजका नाममा किनेको दुई आना तीन पैसा जग्गा किनेका थिए । उक्त जग्गा किन्दा शतप्रशित अकुत सम्पत्ति खर्च भएको देखिएको छ । त्यसपछि साझेदार संगीता श्रेष्ठ(नाता नखुलेको)सँग मिलेर उनकी श्रीमती सरस्वतीले १९ माघ ०६५ मा एकै दिन चार आना र एक रोपनी एक आना जग्गा किनेको देखिन्छ । तर, यो जग्गा किन्दा कहाँबाट पैसा ल्याइएको थियो ? श्रेष्ठले स्रोत खुलाउन सकेका छैनन् ।
श्रीमती सरस्वतीको नाममा १७ चैत ०६५ मा काभ्रेमा किनिएको २१ रोपनी दुई आना तीन पैसा दुई दाम र सोही दिन सोही क्षेत्रमा किनिएको १० रोपनी एक पैसा एक दाम मात्र होइन, २२ जेठ ०६६ मा सरस्वतीकै नाममा किनिएको १३ आना दुई दाम जग्गामा पनि स्रोत नखुलेको रकम प्रयोग भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठले १८ मंसिर ०६६ मा चितवनको कविलासमा अन्य तीन साझेदारसँग मिलेर दुई बिघा तीन कट्ठा १७ धुर जग्गा किनेका थिए । उक्त जग्गा किन्दा श्रेष्ठले गरेको लगानी पनि अकुत सम्पत्ति रहेको पाइएको छ ।त्यस्तै, १२ असोज ०६८ मा सरस्वतीको नाममा काठमाडौंको विष्णुमा ६६ लाख ८० हजार खर्चेर किनिएको १२ आना, भक्तपुरको सिपाडोलमा २ पुस ०६९ मा किनिएको ३६ लाख खर्चेर किनिएको एक रोपनी आठ आनाको पनि स्रोत खुल्न सकेको छैन ।
१३ फागुन ०६९ मा सरस्वतीकै नाममा काठमाडौंको इचंगुनारायणमा २५६ वर्गमिटर ४० लाखमा खरिद गरिएको पाइएको छ भने सरस्वतीले २४ भदौ ०७१ मा सीतापाइलामा १३८.१ वर्गमिटर जग्गा किनेकी छिन् । श्रेष्ठले मन्त्रीबाट बाहिरिएपछि २० कात्तिक ०७१ चितवनको हाजिपुरमा १२ धुर जग्गा किनेका छन्, जुन जग्गामा शतप्रतिशत रकम स्रोत नखुलेको अख्तियारको ठहर छ ।
‘श्रेष्ठ सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नोे पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो,’ अख्तियारले प्रेस नोटमा भनेको छ । श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढाएको चलअचल सम्पत्ति घर, जग्गा र बैंक मौज्दातमा पनि रोक्का राख्न भूमि मन्त्रालयसँगै राष्ट्र बैंकलाई सिफारिस गरिएको छ । जुन रकम ६८ लाख ५० हजार हुन आउँछ । बाँकी अपुग बिगो तीन करोड ७६ लाख ७६ हजार र ब्याज असुल गर्न मागदाबी गरिएको छ ।
छोरीज्वाइँलाई सापटीका नाममा डेढ करोड
श्रेष्ठले आफू सचिवबाट अवकाश र मन्त्री छँदा छोरी रेश्मी र ज्वाइँ सञ्जयलाई जग्गा खरिददेखि विभिन्न नाममा एक करोड ५७ लाख ३२ हजार रुपैयाँ सापटी दिएको पाइएको छ । उनले यो रकम ०६८ देखि ०७२ को अवधिमा दिएका हुन् । उनले ०६८ मा छोरी रश्मी र ज्वाइँ सञ्जयलाई २१ लाख ४७ हजार दिएको पाइएको छ भने ०६९/७० मा थप ३४ लाख ३५ हजार सापटी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले १८ असार ०७१ मा एकै दिन ५३ लाख ५० हजार रुपैयाँ छोरीज्वाइँलाई दिएको पाइएको छ, यो रकम दिँदा उनी मन्त्रीबाट हटिसकेका थिए । उनले ३३ लाख ९० हजार सापटीको प्रयोजन खुलाएका छैनन्, तर १९ लाख ६० हजार भने भनेर बलम्बुमा जग्गा किन्न सहयोग गरेको अख्तियारको बयानमा बताएका छन् ।
श्रेष्ठले २ चैत ०७१ मा श्रीमतीको नाममा प्रबुद्ध बचत तथा ऋण सहकारीको खाताबाट ५० लाख ज्वाइँलाई, छोरा रोशनको खाताबाट दुई लाख र आफ्नो नाममा प्राइम बैंकको खाताबाट छोरी रेश्मीलाई चार लाख गरी ५६ लाख सापटी दिएको पाइएको छ । श्रेष्ठले ०७१ मा काकाका छोरा निरवकुमार श्रेष्ठलाई पनि ३५ लाख रुपैयाँ सापटी दिइएको पाइएको छ ।
बैंकमा एक करोड, ९० लाख स्रोत नखुलेको
श्रेष्ठ सरकारी ओहोदामा रहँदा ८ पुस ०७२ सम्म बैंक तथा वित्तीय संस्थामा एक करोड एक लाख रुपैयाँ मौज्दात थियो । श्रेष्ठले आफू, श्रीमती सरस्वती र छोराहरू सरोज र रोशनका नाममा जम्मा गरेको उक्त रकममध्ये ९० लाख ५ हजार रपैयाँ भने स्रोत नखुलेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । श्रेष्ठ र उनका परिवारका नाममा हाल पनि ३२ लाख १४ हजार रुपैयाँ छ, जुन जफत गर्न अख्तियारले मागदाबी पनि गरेको छ ।
अकुत सम्पत्ति आर्जनमा विशेष अदालतबाट पुष्टि भएमा पूर्वमन्त्री श्रेष्ठलाई पाँच वर्षसम्म कैद हुन सक्ने देखिन्छ । अख्तियारले थप सजायको पनि मागदाबी लिएको हो । अख्तियारले श्रेष्ठविरुद्ध पहिलो त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार मागदाबी गरिएको छ, जसमा राष्ट्रसेवकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएमा दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी आर्जन भएको गैरकानुनी सम्पत्ति जफत गरिने व्यवस्था छ ।
श्रेष्ठ पूर्वसचिव र पूर्वमन्त्री पनि हुन् । त्यसैले अख्तियारले थप सजायको पनि माग दाबी गरेको छ । दफा २४ मा संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सोसरहका पदाधिकारीलाई थप सजायको व्यवस्था छ । यी व्यक्तिले भ्रष्टाचार गरेको पुष्टि भएमा थप तीन वर्षको सजायको व्यवस्था छ ।