मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २ बुधबार
  • Tuesday, 24 December, 2024
नारायणी नदीमा जलसतहले खतरा तह (८ मिटर) पार गरेको छ ।
यम बम काठमाडाैं
नारायण न्यौपाने वीरेन्द्रनगर
मोहन विष्ट कञ्चनपुर
रामकुमार श्रेष्ठ
२o७८ असार २ बुधबार o६:५३:oo
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोबाट १० वर्षमा १९ सयको मृत्यु, साढे १९ अर्बको क्षति

Read Time : > 7 मिनेट
यम बम, काठमाडाैं
नारायण न्यौपाने, वीरेन्द्रनगर
मोहन विष्ट, कञ्चनपुर
रामकुमार श्रेष्ठ
२o७८ असार २ बुधबार o६:५३:oo

शुक्रबारदेखि परेको अविरल वर्षासँगै देशभरको जनजीवन प्रभावित, नदी र खहरे खोलामा पानीको बहाव उच्च, तराई र पहाडी जिल्लामा बाढीपहिरोको जोखिम

नेपालमा बाढीपहिरोबाट १० वर्षमा करिब दुई हजारजनाले ज्यान गुमाएका छन् । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ०६८ देखि ०७७ सम्म बाढी र पहिरोमा परी एक हजार आठ सय ९६ जनाले ज्यान गुमाएका छन् । ३६ हजार तीन सय ७१ घर क्षतिग्रस्त बनेका छन् । तर, सरकारले हालसम्म बाढीपीडितका घर पुनर्निर्माणका लागि कुनै कार्यक्रम ल्याएको छैन । पहिरोपीडितका लागि गत वर्ष पुनर्निर्माण कार्यक्रम ल्याए पनि बर्खामा आएर सुरु भएको छ । १० वर्षको अवधिमा १९ अर्ब ६९ करोड क्षति भएको तथ्यांक छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार ०६८ मा बाढीपहिरोबाट दुई सय ३९ को मृत्यु भएको थियो । १२ सय ७७ घरमा क्षति पुगेको थियो । सो वर्ष ५५ करोड ७८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको थियो । 

०६९ मा बाढीपहिरोबाट ७७ जनाको मृत्यु, पाँच सय ८८ घरमा क्षति र ४१ करोड ९७ लाख रुपैयाँबराबरको क्षति भएको थियो । ०७० मा बाढीपहिरोबाट दुई सय १० को मृत्यु, पाँच सय ६५ घरमा क्षति र १८ करोड ९४ लाख रुपैयाँबराबरको क्षति भएको थियो ।

०७१ मा बाढीपहिरोबाट एक सय ४२ को मृत्यु, ११ हजार दुई सय नौ घरमा क्षति र १४ अर्ब ९४ करोड बराबारको भौतिक क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । ०७२ मा बाढीपहिरोबाट एक सय ३५ को मृत्यु, दुई सय ३५ घरमा क्षति र १७ करोड ४२ लाखबराबरको भौतिक क्षति भएको थियो । यस्तै, ०७३ मा दुई सय ४८ को मृत्यु, १५ सय ६२ घरमा क्षति र ८४ करोड १३ लाखबराबरको भौतिक क्षति भएको थियो ।

०७४ मा बाढीपहिरोबाट दुई सय ४१ को मृत्यु, १४ हजार तीन सय २९ घरमा क्षति र ८७ करोड ८५ लाखबराबरको भौतिक क्षति भएको थियो । यसैगरी, ०७५ मा बाढीपहिरोबाट एक सय पाँचको मृत्यु, आठ सय ६२ घरमा क्षति, १६ करोड ८३ लाखबराबरको भौतिक क्षति भएको थियो । 

केन्द्रका अनुसार ०७६ मा बाढीपहिरोबाट एक सय ५६ को मृत्यु, पाँच हजार ७६ घरमा क्षति र एक अर्ब ४६ करोडबराबरको भौतिक क्षति भएको थियो । ०७७ मा बाढीपहिरोबाट तीन सय ४३ को मृत्यु, ६ सय ६८ घरमा क्षति र ९९ करोड ७७ लाखबराबरको भौतिक क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

चुरे दोहनले कञ्चनपुरमा विपद् निम्तिँदै, खन्यखोलाले बाँध भत्कायो 

कञ्चनपुरको खन्यखोलामा आएको बाढीले बाँध भत्काएपछि सवारीसाधन र यात्रु अलपत्र ।

कञ्चनपुर : वर्षायाम सुरु भएसँगै कञ्चनपुरमा खोलानाला र चुरे दोहनले मानव बस्तीमा विपद् निम्तिएको छ । शनिबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले जिल्लाको उत्तरी चुरे भेगमा कटान र दक्षिण भाग डुबानमा परेको छ ।

चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका वडा नम्बर ७ र ३ मा निर्माण भएको तटबन्धसमेत भत्काएको छ । भीमदत्त नगरपालिका–७ का वडाध्यक्ष शंकर कुँवरले बस्तीको सिरानी भएर बग्ने खन्यखोलामा आएको बाढीले तीन सय मिटर बाँध भत्काएको बताए । बाँध भत्काएसँगै खोला पूरै गाउँ पस्ने स्थानीयमा चिन्ता छाएको छ । 

भीमदत्त नगरपालिका–३ हल्दुखालका रमेश थापाले चुरे विनाशका कारण तटीय क्षेत्रका जनता बाढीको उच्च जोखिममा रहेको बताए । ‘केहीछिनमै परेको वर्षाले त यसरी बितन्डा मच्चाएको छ,’ उनले भने, ‘लामो समयसम्म पानी पर्दा कति जोखिम निम्तिने हो ठेगान छैन ।’ चुरेको अनियन्त्रित दोहनका कारण बाढीको समस्या आएको उनको भनाइ छ ।

चुरेसँग जोडिएको भीमदत्त, वेदकोट शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका नदीखोला नालामा पानीको सतह एक्कासि बढेसँगै निर्माण गरिएका संरचना भत्काउनुको साथै क्षयीकरण र तटीय क्षेत्र डुबानमा परेको छ । एकै दिनमा केही घन्टा परेको पानीका कारण उत्तरमा कटान र दक्षिण भूभाग क्षेत्रमा डुबान भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. भूपेन्द्र विष्ट बताउँछन् ।

अविरल वर्षाका कारण वेदकोट नगरपालिका–२ बसन्थला क्षेत्रमा पथरैया नदीको पानी गाउँ बसेको छ । वेदकोट नगर प्रमुख अशोककुमार चन्दले चुरेका नदीमा आएको बाढीले भूक्षयीकरण भएको बताए । उनका अनुसार चुरेमा भूक्षयीकरण दक्षिणका बस्तीमा डुबानमा परेका छन् । 

महाकाली सिँचाइ तेस्रो चरणका प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचनासमेत जोखिममा परेको बताए । ‘महाकाली तेस्रो चरणको नहर संरचना चुरे भएर निर्माण भइरहेको छ,’ उनले भने, ‘चुरेकै खोलानालाका कारण नहर पनि जोखिममा परेको छ, कुनै कारणवश खोला गाउँ पसेमा करोडौँ लगानीमा बनेको संरचना भत्किन्छ ।’ जेठमै केही घन्टा परेको पानीका कारण कञ्चनपुरको उत्तरी चुरे क्षयीकरण र दक्षिण भूभाग डुबानमा परेको छ । चुरेसहित जिल्लाका ठूला नदी महाकाली, दोदा, चौधर र साना खोलानालामा भइरहेको नदीजन्य पदार्थ उत्खननले कञ्चनपुर बाढी र कटानीको उच्च जोखिममा परेको स्थानीय बताउँछन् ।

विपद् रोकथाम एवं नियन्त्रणका क्षेत्रका लामो समयदेखि काम गर्दै आएका नागरिक अगुवा प्रभुनिधि पन्तले विपद्को मुख्य कारण चुरे दोहन रहेको बताए । ‘चुरे, नदीनालाको अवैध दोहन, खोलानाला मासेर संरचना बनाइयो,’ उनले भने, ‘मानवीय गतिविधिले जोखिम विपद् निम्तियो ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले वर्षात्ले कञ्चनपुरको भीमदत्त र वेदकोट नगरका दुई स्थानीय कृष्णपुरका नगरका केही स्थानीयका घर भत्किनुका साथै केही बस्तीमा जलमग्न भएको बताए । 

कालीगण्डकीको बाढीले सेतीवेणी बजार डुबानको जोखिममा

पाल्पा : शुक्रबारदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेपछि विश्वकै ठूलो शिला शालिग्राम डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल स्याङ्जाको गल्याङ नगरपालिका– ५ सेतीवेणीमा रहेको शालिग्राम डुबानमा परेको हो । शिला संरक्षणका लागि बनाएको तटबन्धसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको स्थानीय रेशमराज न्यौपानेले बताए । पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृत विद्यालय र मन्दिरसम्म आइपुगेको छ । अधिकांश घरभित्र पानी पसेको छ ।

कालीगण्डकी नदी किनारमा भएको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा छ । कालीगण्डकी जलविद्युत् परियोजनाको बाँध खोल्न लगाएकाले पानीको सतह कम भएको, तर खतरा भने रहिरहेकाले स्थानीयलाई सुरक्षा अपनाउन भनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाले बताए । 

‘सेतीवेणी बजारभन्दा सात किलोमिटर तल रहेको कालीगण्डकी जलविद्युत् परियोजनाको ड्याम साइडको बाँधको ढोका पनि खोलिएको छ,’ अधिकारीले भने, ‘ढोका नखोलेर डुबानमा परेको हो भन्ने मानिसहरूको बुझाइ छ, त्यसो होइन, अहिले नदीमा पानीको सतह नै बढी छ ।’ बर्सेनि सेतीवेणीका स्थानीय जोखिममा पर्दासमेत संरक्षणका लागि निकायको ध्यान पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । पानी पर्न थालेपछि घर डुबाउने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक जेबी सोनीले बताए ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वीरेन्द्रनगर : अविरल वर्षाका कारण पहिरो आउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । लगातार तीन दिनदेखिको वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमै रोकिएका छन् ।

स्याउबारीदेखि रसुवागढीसम्मको सडक जोखिममा 

रसुवा : वर्षाका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने स्याउबारीदेखि रसुवागढीसम्मको सडक जोखिममा परेको छ । वर्षायाम सुरु भएसँगै अविरल वर्षासहित ढुंगा खस्ने तथा पहिरो जान थालेसँगै चीनसँगको नाका जोड्ने सडक जोखिममा परेको हो । 

सडकखण्डको मूलखर्क, त्रिशूली खोला, सानुभार्खु, ठूलोभार्खु, स्याफ्रु, लिङलिङ, टिमुरे, रसुवागढीलगायतको क्षेत्रमा ढुंगा खस्ने तथा पहिरो जाने जोखिम देखिएको छ । यी क्षेत्रमा ठूल्ठूला ढुंगा खस्ने र पहिरो गई सडक अवरुद्ध हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ‘वर्षायाम सुरु भएको छ, पानी परिरहेको छ, जसले गर्दा ढुंगा खस्ने, पहिरो जाने क्रम सुरु भएको छ, केही सडकखण्डको स्थान उच्च जोखिममा छ,’ उनले भने । मूलखर्कमा सडक भासिएकाले सवारी आवतजावतमा समस्या भएको छ । स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् कम्पनीको छेउमा चट्टानसहितको पहिरो गई बाटो अवरुद्ध भएको छ ।

धुन्चे–स्याफ्रुबेँसी सडकखण्डको सानोभार्खुमा ग्याबिन वाल लगाउने काम पूरा नहुँदा सवारी आवतजावतमा समस्या भएको छ । गत वर्ष वर्षात्को समयमा पहिरो गई सडक भासिएसँगै सडक साँघुरो भएको थियो । सडक साघुँरो हुँदा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका मालबाहक सवारी सञ्चालनमा समस्या भएको छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार रसुवागढी नाकाबाट सामान लोड भएर गन्तव्यतर्फ हिँडेका मालबाहक सवारी १२ घन्टासम्म रोकिनुपरेको छ ।

साँघुरो सडक चौडा गर्न सडक डिभिजन कार्यालय नुवाकोटले सडकको करिब आठ सय घनमिटर ग्याबिन वाल लगाई बाटो चौडा गर्ने जिम्मा अमृत घले निर्माण सेवालाई दिएको छ । हाल ५ सय २१ घनमिटर मात्र ग्याबिन वाल लगाइएको ठेकेदार कम्पनीले जनाएको छ । सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालू आर्थिक वर्षमा बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेँसी सडक मर्मत तथा स्तरोन्नतिका लागि २० करोड विनियोजन भएको छ । सडक मर्मत तथा स्तरोन्नतिका लागि १३ वटा कम्पनीमार्फत ठेक्का लगाइएको छ । बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मको सडकको खाल्टाखुल्टी पुर्ने, नाली मर्मत गर्ने, ग्याबिन वाल लगाई साँघुरो सडक चौडा बनाउने, कालोपत्रे गर्ने, ढलान गर्नेलगायतका काम गर्न बाँकी छ । 

प्राकृतिक विपद्बाट डेढ लाख मानिस प्रभावित हुने पूर्वानुमान

बाँके : यस वर्ष प्राकृतिक विपद्बाट बाँकेका २५ हजार घरपरिवारका एक लाख ५० हजार मानिस प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको मंगलबार बसेको समीक्षा बैठकले मनसुनबाट करिब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान गरेको छ । बैठकले जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्वीकृत गरेको सूचना अधिकारी रूपन ज्ञवालीले जानकारी दिए । 

बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिवृद्धिका लागि वर्षा एवं बाढीसम्बन्धी सूचना तथा दैनिक बुलेटिनलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सञ्चार माध्यमहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत, साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्यहरू रोक्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मानखोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रहरूमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम एवं आपत्कालीन तटबन्ध गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय भएको ज्ञवालीले जानकारी दिए । 

नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

नवलपरासी : लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मंगलबार नारायणी नदीको देवघाट जलमापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन् ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पुर्‍याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताइन् । गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको हो । निर्माणको समयमा गण्डक ब्यारेजको क्षमता सात लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले चारदेखि पाँच लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । हाल नारायणी नदीमा जलसतहले खतरा तह (८ मिटर) पार गरेको र अझै बढ्ने क्रममा भएकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा रहेका मानिसलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन जिल्ला विपद् व्यवस्थापन समिति, चितवनले मोबाइल एसएमएसमार्फत जानकारी गराएको छ । नारायणी नदीमा आएको बाढीको पानी बस्तीमा समेत पसेको छ । जसकारण भरतपुर वडा नम्बर ३ को नारायणी दोभान टोल, वडा नम्बर १६ को झन्झने र वडा नम्बर २६ को सिशैका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिँदैछ । प्रभावित करिब एक सय ५० बढी घरधुरीका परिवारलाई सुरक्षित स्थानमा सारिएको भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपाल न्यौपानेले बताए ।