नेपालमा दोस्रोपटक राष्ट्रियस्तरमा कुरान सरिफ वाचन तथा स्मरण प्रतियोगिता सम्पन्न भएको छ । नेपालस्थित साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले गरेको उक्त प्रतियोगितामा देशभरिबाट करिब तीन सय विद्यार्थी सहभागी भएका थिए ।
सहभागी भएका विद्यार्थी (तालिवा) हरूलाई उमेर समूहको आधारमा चार चरणमा विभाजन गरी कुरान शरिफ वाचन गर्न लगाएका थिए । कुरान शरिफ वाचन तथा स्मरणमा समूह अनुसार उत्कृष्ट भएका १८ जनालाई सोमबार काठमाडौंका एक भव्य कार्यक्रमबिच नगदसहित पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा पुरुषको विभाजन समूहमा विभाजन गरी चारवटै समूहमा पहिलो, दोस्रो र तेस्रो हुने १२ जना तालिवालाई नगदसहित पुरस्कृत गरिएको छ । पहिलो समूहमा प्रथम हुने अब्दुल्ला हुसेनलाई तीन हजार अमेरिकी डरसहित पुरस्कृत गरिएको हो । त्यसैगरी, प्रतियोगितामा महिलाको दुई समूहमा विभाजन गरी प्रत्येक समूहमा पहिलो, दोस्रो र तेस्रो हुने ६ जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।
कुरान वाचन तथा स्मरण प्रतियोगतामा विजेता भएकाहरूलाई सभामुख देवराज घिमिरे, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, साउदी अरबका इस्लामिक एफरेन्स मन्त्रालयका सचिव अवाद सिदाटी र नेपालका लागि साउदीका राजदूत साद नासिर अब्दुलाहले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले कुरान वाचन तथा स्मरण प्रतियोगिता कार्यक्रम नेपालको मदरसामा अध्ययनरत विद्यार्थीहरूको वरदान साबित भएको बताए । कुनै पनि धर्मको उद्देश्य मानव कल्याण र परोपकारी रहेको उल्लेख गर्दै सभामुख घिमिरेले भने ‘कुरान वाचन प्रतियोगिता रचनात्मक कार्य हो, कुरानमार्फत अल्लाह ईश्वरले मानव कल्याणका लागि दिएको सन्देश प्रभाव हुने र यसले देशको विकासको समृद्धिमा यात्रा टेवा पुग्नेछ ।’
साउदी हाम्रो मित्रराष्ट्र रहेको बताउँदै सभामुख घिमिरेले भने, ‘नेपाल सरकार र साउदीबिच राम्रो सम्बन्ध रहँदै आएको छ । नेपालमा साउदीको मक्का मदिना जान चाहनेको संख्या उच्च छ । साउदी सरकारले नेपाली कामदारलाई रोजगारी दिएर मुलुकको अर्थतन्त्रमा सहयोग पुर्याएकाे छ । यसले दुई देशबिचको सम्बन्ध अझ बलियो हुँदै गएको छ । नेपालका मदरसा शिक्षालाई व्यवस्थित गर्न कानुनको अभाव छ । त्यसको सुधार लागि आवश्यक पर्ने कानुन निर्माणको लागि म पहल गर्छु ।’
कार्यक्रममा साउदीका इस्लामिक मामिला मन्त्रालयका जनरल सचिव अवाद सिबटीले साउदी सरकारले विभिन्न भाषामा कुरान शरिफ प्रकाशित गरी मुस्लिम समुदायमा कुरान सन्देश प्रवाह गर्ने गरेको बताए । कुरान वाचन प्रतियोगिताले मदरसामा पढ्ने नेपाली विद्यार्थी (तालेवा) लाई थप मद्दत पुग्ने बताए । यस्ता कार्यक्रमले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने उनले बताए ।
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यस्ता कार्यक्रममले मदरसामा पढ्ने छात्रछात्राहरूलाई कुरान शरिफको अध्ययनप्रति रुचि बढ्ने, कुरानको दिएको आपसी भाइचारा तथा मानव कल्याणको सन्देश सर्वसाधारणसम्म पुग्ने बताए । आयोगले मुस्लिम समुदायको हक अधिकारको संरक्षण, प्रवर्द्धन तथा उत्थानका लागि विभिन्न कार्यक्रममध्ये कुरानको वाचन प्रतियोगिता कार्यक्रम पनि महत्त्वपूर्ण रहेको अध्यक्ष अन्सारीले बताए ।
कार्यक्रममा नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुलाहले यस्तो कार्यक्रममा सहयोग गरेकोमा नेपाल सरकार, मुस्लिम आयोग तथा साउदी सरकारलाई धन्यवाद ज्ञापन गरे । दुई वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइरहेको र आगामी दिनमा यस्ता कार्यक्रम हुनुपर्नेमा उनले जोड दिए ।