भक्तपुरको बालकोटमा बुबा र भाईको हत्या आरोपमा पक्राउ परेका मिलन आचार्यसँग प्रहरीले लामो सोधपुछ गरेको छ । लोक सेवामा नाम निकाल्न नसकेको भनेर बुबाले सधैं गुनासो गरेपछि तनावमा आएर आफुले हत्या गरेको प्रहरीसँग बताएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेका अनुसार आइतबार बिहान करिब साढे पाँच बजे आफुले हत्या गरेका उनले बताएका छन् । ‘शनिबार खाना खाएपछि भाई किचनमा सुत्यो, म र बुबा अर्काे कोठामा सुतेका थियौं,’ उनले भनेका छन्,‘केही गर्न नसकेको भनेर शनिबार पनि बुबाले मसँग गुनासो गर्नुभयो, बुबा निधाउनुभयो, म केही समय पढें, त्यसपछि रातभरी निद्रा लागेन, जीवनमा केही गर्न सकिएन भन्न लाग्यो, सधैं गुनासो सुन्नुभन्दा परिवारलाई नै मारेर मर्ने योजना बनाएँ ।’
प्रहरीका अनुसार सुरुमा उनले बुबाको हत्या गरेका थिए । डम्बबेलले टाउकोमा प्रहार गरी निदाएको अवस्थामा बुबाको हत्या गरेका हुन् । त्यसपछि किचनमा गएर पानी पिएको र त्यहाँ सुतिरहेका भाईलाई सिलौटोले हानेर हत्या गरेको उनको भनाई छ ।
हत्यापछि रगत लागेको लुका झोलामा राखेर कोठामा बाहिरबाट ताला लगाई उनी निस्किए । बिरुवास्थित जंगलमा गएर गलबन्दीले पासो लगाएर आत्महत्या प्रयास गरेको तर गलबन्दी खुस्किएपछि आफुलाई मर्नुहुन्न भनेर लागेर त्यहाँ चाबहिल पुगेको उनको बयान छ ।
आइतबार बेलुका र सोमबार बेलुका उनी चाबहिलको एक गेष्टहाउसमा बसेका थिए । आइतबारदेखि नै मोबाइल स्वीच अफ गरेका थिए। सोमबार बिहान पत्रिकामा बुबा र भाईको हत्याबारे समाचार पढेपछि आफु प्रहरी वृत्त महाराजगञ्ज पुगेको उनको भनाई छ ।
आफुबाट परिवार र आफन्तले धेरै अपेक्षा गरेको तर त्यसअनुसार प्रगति गर्न नसक्दा तनावमा आएर यस्तो निर्णय गरेको उनले प्रहरीमा बताएका छन् । उनले नायब सुब्बा पदमा ६ पटक र अधिकृत पदमा एक पटक लोक सेवाको परीक्षा दिएका थिए । तर, असफल भएपछि सधैं बुबाले गुनासो गरेकोले आफु थप तनावमा परेको उनको भनाई छ ।
उनको साथबाट प्रहरीले कोठाको चाबी पनि बरामद गरेको छ । उनलाई बुधबार अदालतमा पेश गरिने भक्तपुरका डिएसपी नेउपानेले बताए । उनको प्रारम्भिक बयान र प्राविधिक अनुसन्धानका विषय मिलेकाले उनीबाटै हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
उनका बुबा कुल प्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख हुन्। उनी केही दिनअघि मात्र खोटाङबाट केही दिनका लागि भक्तपुर आएर छोराको डेरामा बसेका थिए । उनका भाई प्रविण भिएस निकेतन कलेजमा स्नातक तहमा अध्ययनरत थिए ।