राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) आन्तरिक उडानतर्फ जहाजविहीन भएको छ । इन्जिन व्यवस्थापनमा निगम नेतृत्वको चरम लापरबाहीका कारण दुवै ट्विनअटर विमान ग्राउन्डेड भएपछि आन्तरिक उडान ठप्प भएको हो ।
दुईवटै ट्विनअटर विमान ग्राउन्डेड भएपछि आइतबारदेखि आन्तरिक उडान रोकिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । निगमले दुईवटा ट्विनअटर विमानबाट आन्तरिक उडान गर्दै आएको थियो । जसमध्ये ९एन–एबिटी इन्जिनमा समस्या आएर २३ जेठदेखि ग्राउन्डेड छ ।
नेवानिका प्रवक्ता रमेश पौडेल भन्छन्–छिट्टै इन्जिन ल्याएर नियमित उडान हुन्छ
दुवै विमान ग्राउन्डेड भएपछि आइतबारदेखि आन्तरिक उडान रोकिन पुगेको छ । जेठमा ग्राउन्डेड विमानको एउटा इन्जिन ठिक थियो । त्यो इन्जिन अर्को जहाजमा राखेर टेस्ट गर्दा सफल भएन । इन्जिन मर्मत तथा सट्टापट्टाका लागि बेट सेमेस इन्जिन लिमिटेड छानिएको छ । उसलाई सकेसम्म चाँडै इन्जिन उपलब्ध गराउन ताकेता गरेका छौँ । छिट्टै इन्जिन ल्याएर नियमित उडान हुनेछ ।
६ महिनादेखि उडान आवर बचाउँदै उडाइरहेको ९एन–एबियू पनि उडान आवर सकिएर आइतबारदेखि ग्राउन्डेड भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले समयमै इन्जिन मर्मत र सट्टापट्टा गर्न नचाहेपछि आन्तरिक उडान अनिश्चिकालीन ठप्प भएको स्रोतको दाबी छ ।
निगमका तीनवटा ट्विनअटरमध्ये एउटा १२ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ । चीनबाट भित्र्याइएका पाँचवटा विमान (दुईवटा एमए–६० र तीनवटा वाई१२ई) उडाउँदा ठुलो घाटा व्यहोर्नुपरेको भन्दै साउन ०७७ देखि ग्राउन्डेड गरिएको छ । एउटा वाई१२ई विमान नेपालगन्ज एयरपोर्टमा दुर्घटनाग्रस्त भएपछि स्क्र्यापमा पठाइएको छ ।
चिनियाँ विमानले अत्यधिक इन्धन खपत गर्नुका साथै यात्रु क्षमता पनि कम रहेको, चिनियाँ पक्षबाट पार्टपुर्जा उपलब्ध गराउन ढिलाइ, तालिममा असहयोग, चर्को इन्स्योरेन्सलगायतका कारण अत्यधिक घाटा व्यहोर्नुपरेको निगमको दाबी छ । यी जहाज निगमले न बिक्री गर्न सकेको छ, न भाडामा लगाउन सकेको छ ।
निगमले जहाज बिग्रिएर ग्राउन्डेड भएको ६ महिनापछि बल्ल तीनवटा इन्जिन सट्टापट्टाका लागि इजरायलको बेट सेमेस इन्जिन लिमिटेड छानेको हो । यो कम्पनीसँग उडान आवर सकिएका र बिग्रिएका निगमका तीनवटा इन्जिन मर्मतमा दिने र तीनवटा ओभरहल गरिएका इन्जिन भाडामा लिने गरी ‘लेटर अफ अवार्ड’ जारी गरिएको छ ।
९एन–एबिटी इन्जिनमा समस्या आएर २३ जेठदेखि ग्राउन्डेड हुँदा पनि अहिलेसम्म इन्जिनको जोहो गरेर नियमित उडानमा फर्काउन निगमका कार्यकारी अध्यक्ष अधिकारीले तदारुकता नदेखाएको स्रोत बताउँछ । ‘९एन–एबियूमा दायाँ इन्जिनको उडान आवर सकिएर आइतबारदेखि ग्राउन्डेड छ,’ स्रोत भन्छ, ‘निगम व्यवस्थापनले उडान आवर बचाउँदै उडाइरहेको थियो, इन्जिनको आवर सकिन लागेको पहिल्यै थाहा हुँदा पनि समयमै इन्जिन जोहो नगर्दा दुवै विमान ग्राउन्डेड गरेर राख्नुपरेको छ ।’
निगम व्यवस्थापनले दसैँअगाडि इन्जिन मर्मत र सट्टापट्टाका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । सो समयमा मेटर्स र बेट सेमेस कम्पनीले भाग लिएको बताइन्छ । तर, मेटरले आवश्यक डकुमेन्ट बुझाउन नसकेपछि टेन्डरबाट अयोग्य ठहरिई बाहिरियो । निगम नेतृत्वले चाहेको कम्पनी अयोग्य भएपछि कैफियत देखाएर त्यो टेन्डर रद्द गरियो । निगमले फेरि रि–टेन्डर गर्दा पनि साबिककै बेट सेमेस योग्य ठहरियो । स्रोतका अनुसार बेट सेमेसले टेन्डर पाएपछि निगम व्यवस्थापनले आठ हप्तासम्म एग्रिमेन्ट गरेन । जबकि यता उडान आवर सकिएर जहाज ग्राउन्डेड हुन लागिसकेको थियो ।
निगम स्रोतका अनुसार मेटर ट्रेडिङ इन्जिन बनाउने कम्पनी होइन, इन्जिन खोजेर दिने एजेन्सी कम्पनी हो । बेट सेमेस इन्जिन मर्मत गर्ने कम्पनी हो । स्रोत भन्छ, ‘यदि पहिलो टेन्डरमै बेट सेमेसलाई छनोट गरेर इन्जिन मर्मत तथा सट्टापट्टाको जिम्मेवारी सुम्पिएको भए अहिले इन्जिन अभाव भएर जहाज ग्राउन्डेड गर्नुपर्ने अवस्था आउने थिएन ।’
हालै मात्र सम्झौता भएको बेट सेमेस इन्जिन लिमिटेडसँग ४५ दिनभित्र ओभरअल इन्जिन उपलब्ध गराउने सम्झौता भएको बताइन्छ । कम्पनीले निगमलाई चार हजार घण्टा उडान गर्न मिल्ने इन्जिन दिएपछि निगमको उडान आवर सकिएका इन्जिन लैजानेछ । निगम नेतृत्वको कार्यशैलीका कारण अझै कम्तीमा दुई महिना आन्तरिक उडान ठप्प हुने सम्भावना देखिन्छ । पटक–पटकको टेन्डर आह्वानमा एउटै कम्पनी छनोट भएपछि निगम नेतृत्व बेट सेमेसलाई इन्जिन मर्मत तथा सट्टापट्टाको जिम्मेवारी दिन तयार भएका हुन् ।