चर्चित जनस्वास्थ्य जर्नल ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनले प्रकार दुई मधुमेहसँग रातो मासु सेवनको सम्बन्धलाई उजागर गरेको छ
रातो मासु प्राचीनकालदेखि नै मानिसको आहारको अभिन्न हिस्सा रहँदै आएको छ । यो प्रोटिन, भिटामिन बी, फलाम, जिंकजस्ता तत्वको उत्कृष्ट स्रोत हो । तर, रातो मासु धेरै समयदेखि मुटुरोग, क्यान्सर र प्रारम्भिक मृत्युको जोखिम बढाउनेसँग सम्बन्धित मानिन्छ । धेरैले नसुनेको जोखिमका रूपमा रातो मासुको सेवन र प्रकार–२ मधुमेहबिच सम्बन्ध रहेको छ ।
सेप्टेम्बर २०२४ मा जनस्वास्थ्य जर्नल ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनले प्रकार २ मधुमेहसँग रातो मासु सेवनको सम्बन्धलाई उजागर गरेको छ । यसमा अमेरिका, भूमध्यसागरीय, युरोप, दक्षिणपूर्व एसिया र पश्चिम प्रशान्त क्षेत्रका २० देशका तथ्यांक प्रयोग गरिएको थियो । झन्डै २० लाख सहभागी समावेश गरिएको यस पछिल्लो अध्ययनले गाईको मासु, भेडाको मासु र सुँगुरको मासुजस्ता प्रशोधित नभएको रातो मासु तथा बेकन, सलामी र चोरिजोजस्ता प्रशोधित मासुको अत्यधिक सेवनले प्रकार २ मधुमेह बढाएको पत्ता लगाएको छ ।
शोधकर्ताले कुखुराको मासुको सेवन र प्रकार २ मधुमेहको घटनाबिच पनि सम्बन्ध देखाएका छन्, तर यो सम्बन्ध कमजोर रहेको र विभिन्न जनसंख्यामा फरक रहेको अध्ययनमा उल्लेख छ । प्रकार २ मधुमेह एउटा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो, जसले विश्वभर ४६ करोड दुई लाख मानिसलाई प्रभावित गरेको छ । यो रोग तब हुन्छ, जब हाम्रो शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन, वा इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन । इन्सुलिन प्यान्क्रियाज नामक सानो पात आकारको ग्रन्थीले उत्पादन गर्ने हर्मोन हो, जुन पेटका पछाडि र मेरुदण्डका अगाडि रहेको हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई कोषमा प्रवेश गर्न मद्दत गर्छ, जसले रगतमा ग्लुकोजको स्तर बढ्नबाट रोक्छ ।
प्रकार २ मधुमेहमा हाम्रो शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्ने वा इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्ने (जसलाई ‘इन्सुलिन प्रतिरोध’ वा ‘इन्सुलिन संवेदनशीलताको कमी’ पनि भनिन्छ) कारणले रगतमा ग्लुकोजको स्तर अत्यधिक बढ्छ । यसले अत्यधिक तिर्खा लाग्ने, बारम्बार पिसाब फेर्नुपर्ने र थकान महसुस हुनेजस्ता लक्षण पैदा गर्छ । दीर्घकालीन स्वास्थ्य समस्यामा स्नायु क्षति, खुट्टासम्बन्धी समस्या र मुटुरोग पर्छन् । रातो मासु सेवन र प्रकार २ मधुमेहको सम्बन्धका प्रक्रिया स्पष्ट छैनन् । यी प्रक्रिया प्यान्क्रियाजको कार्यक्षमता, इन्सुलिन संवेदनशीलता, वा दुवैसँग सम्बन्धित हुन सक्छन् ।
रातो मासुमा उच्च स्याचुरेटेड फ्याट र कम पोलिअनस्याचुरेटेड फ्याट हुन्छ, जसले इन्सुलिन संवेदनशीलतामा बाधा पुर्याउन सक्छ । जनावरबाट प्राप्त प्रोटिन, जसमा ल्युसिन, आइसोल्युसिन र भ्यालिन ब्रान्च्ड–चेन एमिनो एसिड (बिसिएए) हुन्छन्, जुन प्रकार २ मधुमेहको जोखिम बढाउनसँग जोडिएको छ । अध्ययनअनुसार बिसिएएले इन्सुलिन प्रतिरोध बढाउन सक्छ । यसबाहेक आन्द्राका माइक्रोब्स (गट माइक्रोबायोटा) ले पनि रातो मासु सेवन र प्रकार २ मधुमेहबिच भूमिका खेल्न सक्छ ।
हाम्रो गट माइक्रोबायोटाले कोलिन (पानीमा घुल्ने आवश्यक पोषक तत्व) र एल–कार्निटिन (खाद्यपदार्थमा प्राकृतिक रूपमा पाइने एमिनो एसिड) लाई मेटाबोलाइज गर्छ, जसले ट्राइमिथाइलामिन उत्पादन गर्छ । यी दुवै पदार्थ रातो मासुमा प्रचुर मात्रामा पाइन्छन् । ट्राइमिथाइलामिनको वृद्धिसँग प्रकार २ मधुमेह विकास हुने उच्च जोखिम सम्बन्धित छ । मासु पकाउने तरिका पनि यस समस्यामा योगदान पुर्याउन सक्छन् । उच्च तापक्रममा जस्तै ग्रिल गर्ने वा बार्बेक्यु गर्ने क्रममा, ‘एडभान्स्ड ग्लाइकेसन एन्ड प्रडक्ट्स’ भनिने हानिकारक पदार्थ उत्पादन हुन सक्छन् ।
यी पदार्थले अक्सिडेटिभ स्ट्रेस (फ्री र्याडिकल्स भनिने अस्थिर परमाणुहरूले उत्पन्न गर्ने प्रक्रिया) का कारण कोषलाई क्षति पुर्याउन सक्छन्, जसले सुजन निम्त्याउन सक्छ (स्वस्थ कोषिकामा वा लामो समयसम्म हुने सुजन हानिकारक हुन सक्छ) र इन्सुलिन प्रतिरोध बढाउन सक्छ । रातो मासु फलामको उत्कृष्ट स्रोत हो । तर, केही अध्ययनले लामो समयसम्म फलामको सेवन वा फलामको अत्यधिक मात्रा, विशेषगरी हेम फलाम (जनावरबाट प्राप्त फलाम) प्रकार २ मधुमेहको जोखिम बढाउन सक्छ भन्ने देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार पछिल्ला ५० वर्षमा सबै प्रकारका मासुको विश्वव्यापी उपभोग बढेको छ । तर, बेलायतजस्ता धनी देशमा रातो मासुको उपभोग स्थिर देखिन्छ वा घट्दो अवस्थामा छ । यद्यपि, देश र देशभित्र मासु उपभोगमा धेरै भिन्नता देखिन्छ । बेलायतमा मानिसलाई प्रतिदिन ७० ग्राम (पकाएको तौल) भन्दा बढी रातो मासु नखान र प्रशोधित मासु सेवनबाट जोगिन सल्लाह दिइएको छ । यस्तै सिफारिस धेरै अन्य देशमा पनि गरिएको छ ।
जाडो बिदा नजिकिँदै गर्दा र चाडपर्वका जमघटमा सहभागी हुँदा रातो मासुको सेवन घटाउनु चुनौतीपूर्ण हुन सक्छ, विशेषतः रातो मासुको स्वाद मन पराउनेका लागि सकस हुन सक्छ । त्यसैले यी क्षणमा चिन्ता नगरी आनन्द लिनुहोस् र सकेसम्म रातो मासुसँग प्रशस्त फाइबरयुक्त तरकारी खाने प्रयास गर्नुहोस् । रातो मासुको सेवन कम गर्न साना कदम चाल्न सकिन्छ, जस्तै सानो परिमाणमा खाने, हप्ताको एक दिन मासु नखाने (जस्तै, मासुरहित सोमबार) वा परिकारमा मासुको ठाउँमा केही (वा सबै) कुखुरा, माछा, सिमी, मसुरो आदिको प्रयोग गर्ने र जुन दिन तपाईं रातो मासु खानुहुन्छ, त्यस दिन यसलाई पोच गर्ने, स्टिम गर्ने वा स्ट्यु गर्ने प्रयास गर्नुहोस्, किनभने यो विधि ग्रिल गर्ने वा बार्बेक्यु गर्नुभन्दा स्वस्थकर हुन्छ ।
(बेगम वेस्टमिनिस्टर विश्वविद्यालयकी पोषण एवं व्यायाम विज्ञानकी वरिष्ठ लेक्चरर हुन्) द कन्भर्सेसनबाट