२५औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता १९ देखि २६ माघसम्म हुने भएको छ । यसपटक बुढासुब्बा गोल्डकपले आफ्नो २५औँ वर्ष मनाउँदै छ । गोल्डकपलाई रजत उत्सवको रूपमा मनाइने सोमबार धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् । ‘रजत उत्सवका रुपमा मनाउन र गोल्डकपलाई दिगो आर्थिक व्यवस्थापन गर्ने गरी अक्षयकोषसमेत खडा गरिनेछ,’ अध्यक्ष तामाङले भने ।
उनका अनुसार धरान हङकङ मञ्चले ५० लाखको अक्षय कोष खडा गर्ने भएको छ । अहिले नै अक्षय कोषमा तीन लाखभन्दा बढी संकलन भइसकेको छ । यस वर्षको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेताको पुरस्कार राशि पोर्चुगलमा रहेका अर्जुन राईले प्रायोजन गर्नेछन् । यसपटक नयाँ टोलीका रूपमा भुटान फुटबल एकेडेमी सहभागी हुनेछ । भुटानका राष्ट्रिय खेलाडी रहेको सो टोली उपाधि दाबेदार हुने तामाङले बताए ।