मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किरण दहाल काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०५:३३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैकल्पिक राजनीतिका उज्ज्वल तारा अल्पायुमै अस्ताए

Read Time : > 4 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०५:३३:००

- नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ : विवेकशील साझा पार्टी

-  व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र त्यसैमा उहाँ जीवन्त रहनुहुनेछ भन्ने हाम्रो अनुभूति हो : परिवार

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार अपराह्न ४:२५ बजे निधन भएको हो । मंगलवार नै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

नागरिक अभियन्तासमेत रहेका ४४ वर्षीय थापाको निधनपछि प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता र विभिन्न क्षेत्रका व्यक्तित्व र हजारौँ साधारण नागरिकले फेसबुक, ट्विटरमा शोक व्यक्त गरेका छन् । थापाको निधनमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायतका नेता र नागरिक अभियन्ताहरूले दुःख व्यक्त गरेका छन् ।

कोरोना संक्रमित भएपछि जेठको पहिलो हप्ताबाटै उनी अस्पताल भर्ना भएका थिए । तर, गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आए पनि पार्टीका नेताहरूले सोमबार साँझ उनको शरीरमा अत्यधिक क्षति भइसकेको जानकारी दिएका थिए । उनलाई मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर इसिएमओ पद्धतिबाट उपचार गरिँदै आएको थियो । 

उनको निधनपछि विवेकशील साझा पार्टीको आकस्मिक रूपमा बसेको बैठकले शोक–प्रस्ताव पारित गर्दै उनको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जनाएको छ । ‘थापाको निधनले सिंगो पार्टीपंक्ति स्तब्ध भएको छ । पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्वसंयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ,’ पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले जारी गरेको शोक वक्तव्यमा छ, ‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।’

मिश्र र पाण्डेको शोक वक्तव्यमा खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न थापाको अहं भूमिका रहेको उल्लेख छ । ‘थापाले अंगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ,’ शोक वक्तव्यमा छ । पार्टीले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्वपंक्ति र सदस्यहरूलाई आह्वान गरेको छ ।

त्यसैगरी, परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी शोक वक्तव्यमा थापाको कामको उचित मूल्यांकन हुने विश्वास छ । ‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरू, युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्यांकन गर्नेछ भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा छ, ‘उज्ज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनुहुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढसंकल्पित छौँ ।’

थापालाई नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिका अभियन्ताको रूपमा धेरैले चिन्ने गर्थे । युवा पुस्ता उनीबाट बढी प्रभावित देखिन्थ्यो । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए । जसले समाजका बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेको थियो । 

राजनीति र नेताप्रति अनुदार बन्दै गएको समाजमा थापाको स्वास्थ्यलाई लिएर असाध्यै धेरै चासो, चिन्ता र सहयोग देखिएको थियो, स्वदेशदेखि विदेशसम्मबाट । उनको राजनीतिक र सामाजिक कामबाट प्रभावित भएकाहरूले सद्भाव देखाइरहेका थिए । नेपाली समाजमा आफ्नो समर्थक दलबाहिरबाट राजनीतिक नेतृत्वप्रति यस्तो सद्भाव विरलै देखिन्थ्यो । 

शान्तिपूर्ण र सिर्जनशील तरिकाले आन्दोलनमा भाग लिने उनको शैलीले धेरैलाई प्रभावित गरेको थियो । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए । थापा बन्द–हडतालको विरोधी थिए । बन्दको विरोध गर्न ०६८ तिर उनले ‘नेपाल खुला छ’ भन्ने अभियान नै चलाएका थिए । उनको यही शैलीले नागरिकहरूको मन जितेको थियो ।

पहिलो संविधानसभा विघटन हुनुपूर्व उनले धेरैको ध्यान खिचेका थिए । विभिन्न माग राख्दै सडकमा आन्दोलन भइरहेको समयमा उनलाई आन्दोलनकारीकै रूपमा मानिसले फरक ढंगले देख्ने मौका पाएका थिए । त्यतिवेला उनी र उनका साथीभाइ सडक किनारामा उभिएर सभासद्हरूसँग संविधान माग्थे । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ !’ जस्ता नारा लेखिएको प्लेकार्ड उनको छातीमा टाँसिएको हुन्थ्यो । 

यसबारे थापाले आफ्नै वेबसाइट ‘ह्वाइनेपाल’मा लेखेका थिए, ‘सन् २०११ मा ‘परिवर्तनको लागि हामी नेपाली एक’ वा ‘नेपाल युनाइट्स’ भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो । नेपाल युनाइट्सले समाजका विभिन्न नागरिक अगुवाहरू र गैरराजनीतिक युवाहरूलाई एकै ठाउँमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा बोकी खुब दबाब दिइयो ।’ गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि पनि उनी सडकमा आएका थिए, प्लेकार्ड बोकेर ।

थापा राजनीतिक नेतृत्वमा जहिले पनि नयाँ पुस्तालाई अघि ल्याउन चाहन्थे । त्यसैले, गत वर्ष मात्रै विवेकशील नेपालीको अध्यक्षमा आफूले दाबी नगर्ने भन्दै नयाँ पिँढीका लागि बाटो छाडिदिएका थिए । उनीपछि मिलन पाण्डे अध्यक्ष भएका थिए । एउटै व्यक्तिले पद ओगटिरहने नेपाली राजनीतिमा उनी फरक ढंगले उपस्थित भएका थिए । नेतृत्वको होडबाजीमा उनले सहजै नेतृत्व हस्तान्तरण गरेर उदाहरण प्रस्तुत गरेका थिए ।

एउटा वैकल्पिक शक्ति बनाउने भनेर थापालगायतको समूहले विवेकशील नेपाली दल खोलेको थियो । यो दल संविधानसभाको दोस्रो निर्वाचनलगत्तै २९ जेठ ०७१ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीले संगठन ठूलो बनाउन सकेन, तर कार्यशैली र मुद्दा उठानको कोणबाट पहिचान देश–विदेशमा बनायो । 

राजनीतिप्रति उनी विशेषगरी ०६९ पछि जोडिएका थिए । ०६४ को संविधानसभाले संविधान नबनाई ०६९ मा भंग भयो । संविधान नबनेको र संविधानसभा पनि भंग भएको स्थितिमा जताततै अन्योल छाएको थियो । राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाउनुपर्छ भन्ने मान्यतामा त्यही वेला थापा, सन्तोष प्रधानलगायत अभियन्ताले एउटा समूह बनाएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा उनीहरूको समूह चुनाव लड्न तयार भयो । स्वतन्त्र उम्मेदवारका रूपमा उनीहरूले कुकुर चिह्न लिए । काठमाडौं  ५ बाट थापा आफैँ, ४ बाट सन्तोष प्रधान, १ बाट गोविन्द नारायण र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए । तर, उनीहरूको समूहबाट कसैले पनि चुनाव जितेनन् । त्यतिवेला थापाले तीन हजार मत मात्रै प्राप्त गरेका थिए ।

थापाले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भाग लिएका थिए । त्यतिवेला उनले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकता भइसकेको थियो र विवेकशील साझा पार्टी बनेको थियो । यही पार्टीबाट उनले एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री नेता प्रकाशशरण महतसँग प्रतिस्पर्धा गरे, काठमाडौं  ५ मा । तर, पुनः पराजित भएका थिए ।

थापा राजनीतिमा मात्रै होइन, डिजिटल प्रविधिमा पनि चाख राख्ने व्यक्ति थिए । ०६० मा डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सूचना प्रविधिमा आधारित घरेलु उद्योग नै खोलेका थिए उनले । उनी ‘नेपालका लागि उद्योगी’ भन्ने सञ्जाल निर्माणमा पनि सक्रिय थिए, यो उद्योगीहरूको मञ्च थियो जसले एक–अर्कालाई सहयोग गर्थ्यो । बुढानीलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका थिए उनले । त्यस्तै, खगोल तथा भौतिक विज्ञान अध्ययनका लागि उनी अमेरिका पनि गएका थिए ।