१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o३:३७:oo
Read Time : > 9 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री

Read Time : > 9 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o३:३७:oo

सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्‍याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्‍याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ । यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको छ ।

.....

मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि १८ सिलिन्डर पठाएका छन्

पूर्वगृहमन्त्री जनार्दन शर्मा ७९ सिलिन्डरसहित गृहजिल्ला रुकुम पुगे

एमाले सचेतक शान्ता चौधरी २२ चिनियाँ सिलिन्डरसहित गृहजिल्ला दाङ पुगिन्

.....

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो । अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै  पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो ।

‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सिलिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम गर्‍यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो । 

जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सिजन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो । हामीले मन्त्रीज्यूसमेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ । उहाँले पहल गर्ने प्रतिबद्धता गरेर जानुभएको थियो । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने । 

अहिले अस्पतालमा अहिले ६० थान अक्सिजन सिलिन्डर छन् । जसमध्ये १८ थान ऊर्जामन्त्री रायमाझी, ६ थान लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, चार थान सन्धिखर्क नगरपालिका, १४ थान जिल्लामा रहेका विभिन्न उद्योगहरूबाट प्राप्त भएको अस्पतालले जनाएको छ ।

मन्त्री रायमाझीको सचिवालयको सचिवालयले अब जिल्लामा नै अक्सिजन प्लान्ट निर्माण गर्ने गरी बिहीबारबाट काम सुरु हुने जनाएको छ । अहिले अर्घाखाँची अस्पतालका लागि चाहिने अक्सिजन रिफिल गर्ने जिम्मा लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री आचार्यले लिएका छन् । ‘हामीले उद्योगसँग समन्वय गरी दैनिक १० देखि १५ सिलिन्डर अक्सिजन भरेर पठाएका छौँ । जिल्लाका लागि अक्सिजन रिफिल गर्दा लाग्ने खर्च गुल्मीनिवासी बालकृष्ण भुसालले गरिरहनुभएको छ,’ मन्त्री आचार्यका स्वकीय सचिव प्रदीप नेपालीले भने । 

कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेको छ । ‘पहिला निमोनिया भएर अक्सिजन लेबल ४० पुगेपछि मात्र बिरामी अस्पताल आउने गर्नुहुन्थ्यो । अहिले समस्या देखियो भने फोन गरी परामर्श गर्ने तथा समयमै अस्पताल आउन थाल्नुभएको छ,’ जिल्ला अस्पतालका डा. गौतमले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि ६५ जनाको अक्सिजनको सपोर्टमा उपचार गरेर डिस्चार्ज गरेका छौँ । अहिले २५ जनाको अक्सिजनको सपोर्टमा उपचार चलिरहेको छ ।’ 

दुई सय थान अक्सिजन सिलिन्डर जनकपुर पठाउन थालेको मन्त्री महतोको दाबी

दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साताभित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् । आफूले पठाएको अक्सिजन सिलिन्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् । 

तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पु¥याउन थालेको भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् । 

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्डरबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्डरमध्ये प्रदेश २ लाई दुई सय थान सिलिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा. यादवले भने । 

मन्त्री महतोले पठाउन लागेका सिलिन्डरबारे आफूहरूलाई कुनै जानकारी नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । ‘धनुषामा मागअनुसारको अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘अक्सिजन वितरणमा एकद्वार प्रणाली लागू गरेका छौँ, मन्त्रीज्यूले पठाउन लागेको सिलिन्डरबारे अहिलेसम्म कुनै जानकारी छैन ।’

मन्त्री आलेले २२ सिलिन्डर अक्सिजन रिफिल गरेर डोटी पठाए

वनमन्त्री प्रेमबहादुर आलेले बाँकेमा २२ थान अक्सिजन सिलिन्डर रिफिल गरेर आइतबार गृहजिल्ला डोटी पठाएका छन् । धनगढीस्थित बोलन्या थली संस्थालाई व्यक्तिगत आर्थिक सहयोग गरेर उनले सिलिन्डर भर्न लगाएका थिए । 

स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार जिल्ला अस्पताल डोटीका खाली सिलिन्डर रिफिल गरिदिन मन्त्री आलेले बाँकेका सिडिओलाई फोन गरेका थिए । ‘अक्सिजन भर्न समस्या भइरहेको थियो । मन्त्रीजीले बाँकेका सिडिओलाई फोन गरिदिएपछि सहजै भर्न सकियो,’ बोलन्या थलीका अध्यक्ष यादव जोशीले भने । 

डोटी जिल्ला अस्पताललाई थप ५० सिलिन्डर र ५० हजार मास्क तथा त्यत्तिकै संख्यामा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पनि सिलिन्डर र मास्क उपलब्ध गराउने तयारी मन्त्री आलेले गरिरहेको उनको सचिवालयले जनाएको छ ।

एमाले सचेतक चौधरी सिलिन्डर, कन्सन्ट्रेटर, रेम्डेसिभिरसहितका स्वास्थ्य सामग्री बोकेर गृहजिल्लामा

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुर केसी अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री बोकेर सोमबार गृहजिल्ला दाङ पुगेका छन् । बेलझुन्डीस्थित प्रदेश कोरोना अस्पताललाई काठमाडौंबाट ल्याएको २० थान अक्सिजन सिलिन्डर, तीन थान कन्सन्ट्रेटर, एक सयभन्दा बढी भाइल रेम्डेसिभिर, दुई सय थान पिपिई सेट, चार हजार थान मास्क, २५ जार स्यानिटाइजर, चस्मालगायतका सामग्री हस्तान्तरण गरिएको सांसद चौधरीले बताइन् । अस्पतालमा अक्सिजन अभाव हुन नदिन हरसम्भव प्रयास गर्ने उनको भनाइ छ । 

‘दाङका सांसद कता हराए ?’ भन्दै जिल्लावासीले सामाजिक सञ्जालमार्फत चासो राखेपछि दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर स्वास्थ्य सामग्री उपलब्ध गराइदिन माग गरेका थिए । स्वास्थ्यमन्त्रीसँग भएको भेट र उपलब्धिबारे सांसद चौधरीले फेसबुकमा लेखेकी थिइन्, ‘हामी यता छौँ, हराएका छैनौँ ।’ काठमाडौंबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा बाटोमा कुनै समस्या नभएको उनले बताइन् । ‘स्वास्थ्य सामग्री बोकेको ट्रक र हामी सँगसँगै थियौँ । कसैले कुनै रोकतोक गरेनन् । कहीँ नरोकिएर हामी सरासर दाङ पुग्यौँ,’ सांसद चौधरीले भनिन् । 

पूर्वमन्त्री शर्माले ७९ सिलिन्डर जिल्ला पठाए

कोरोनाको दोस्रो लहर सुरु भएयता पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिममा ७९ वटा अक्सिजन सिलिन्डर पु¥याएका छन् । संक्रमण भयावह बन्दै जाँदा जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा अक्सिजनको माग उच्च भएपछि उनले आफ्नै पहलमा सिलिन्डरको व्यवस्थापन गरेका हुन् । 

जिल्ला अस्पताल सल्लेमा मात्रै सांसद शर्माले ५० लिटरका २९ थान सिलिन्डर उपलब्ध गराएका छन् । त्यस्तै, चौरजहारी अस्पताललाई ५० लिटरका ५० थान सिलिन्डर हस्तान्तरण गरेका छन् । २४ वैशाखमा सिलिन्डर बोकेर उनी आफैँ चौरजहारी अस्पताल पुगेका थिए । त्यसको एक साताअघि उनले काठमाडौंबाट जिल्ला अस्पतालका लागि सिलिन्डर पठाएका थिए । सांसद शर्माले सिलिन्डर व्यवस्थापन गर्नुअघि जिल्लामा अक्सिजनको अभाव थियो । अहिले स्थानीय तह, स्वास्थ्यसेवा कार्यालय र केही व्यक्तिले समेत सिलिन्डरको व्यवस्था गरिरहेका छन् ।

सांसदको डेरामा अक्सिजन सिलिन्डर

गएको शनिबार एमाले सांसद गंगा चौधरीको शान्तिनगरस्थित डेरामा अक्सिजन सिलिन्डरको थुप्रो देखियो । देशभरि अक्सिजनको अभाव भइरहेका वेला उनले लुकाउन खोजेको आशंकामा स्थानीयले केही सामाजिक अगुवालाई बोलाएर सबै जानकारी दिए । विवाद बढ्दै गएपछि प्रहरी पनि घटनास्थलमा पुग्यो । सोधपुछ गर्दा सांसद चौधरीले केही दिनअघि मात्रै चीनबाट अनुदानमा प्राप्त ६–७ थान सिलिन्डर गृहजिल्ला दाङ लैजान डेरामा राखेको बताइन् । 

सिलिन्डर मात्र नभई दाङको अस्पताललाई बुझाउने भनेर सांसद चौधरीले स्वास्थ्य मन्त्रालयबाट औषधिसमेत लिएकी थिइन् । कागजपत्र हेरेपछि प्रहरीले सिलिन्डर छाड्यो । तर, अचम्म ! स्वास्थ्य मन्त्रालयले चिनियाँ अनुदानमा प्राप्त सिलिन्डर दाङका कुनै पनि अस्पताललाई दिएको छैन । 

मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई २८ वैशाखमा पठाएको पत्रमा वीर, पाटन र शिक्षण अस्पताललाई ५०–५०, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ४५, सिभिल हस्पिटललाई ४०, सेती प्रादेशिक अस्पताल धनगढीलाई ३५, सशस्त्र प्रहरी अस्पताललाई २५ तथा किस्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर र मनमोहन अस्पताललाई २०–२० वटा सिलिन्डर उपलब्ध गराउन उल्लेख छ । मन्त्रालयले बनाएको सूची पनि तीन सय ९५ थान सिलिन्डरको मात्रै छ । जब कि चीनले चार सय सिलिन्डर उपलब्ध गराएको थियो । 

यो एउटा प्रतिनिधि घटना मात्र हो– महामारीको वेला स्रोत–साधनको कसरी वितरण भइरहेको छ भन्ने । आवश्यकताअनुसार सिलिन्डरसहितका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले ‘च्यानल’अनुसार पठाउनुपर्ने हो । तर, सत्ता र शक्तिको आडमा मन्त्रीदेखि सांसदसम्मले आफैँ ‘कब्जा’ गरेर जिल्ला लगिरहेका छन् । यसमा चुनावी राजनीति जोडिएको छ । 

महामारीमा सत्तानिकट सांसदहरूबीच स्वास्थ्य सामग्री आफ्नो निर्वाचन क्षेत्रमा लैजाने होड चलिरहेको छ । यसका लागि सम्बन्धित अस्पतालबाट समेत उनीहरूले निर्णय गराउने गरेका छन् । तर, पहुँच नभएका सांसदका निर्वाचन क्षेत्रमा भने न्यूनतम सुविधासमेत पुग्न सकेको छैन । ‘यसले मन्त्री र सांसदलाई नै राज्यप्रणालीमाथि विश्वास छैन भन्ने देखाउँछ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘स्वास्थ्य सामग्रीको विवरणमा एकदमै अव्यवस्थित र राजनीति देखिएको छ ।’ 

एमाले सांसदले पनि पोखरा पुर्याए सिलिन्डर र कन्सन्ट्रेटर

पूर्वस्वास्थ्यमन्त्री एवं कास्की १ बाट निर्वाचित सांसद एवं एमाले नेता खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन थान सिलिन्डर र तीन थान कन्सन्ट्रेटर हस्तान्तर गरेका छन् । त्यसैगरी उनले प्रदेश संक्रामक तथा सरुवा अस्पताल सिसुवाका लागि एक थान सिलिन्डर र एक थान कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । उनले रूपा गाउँपालिकाको अस्पताल र सोही गाउँपालिकाको थुम्सिकोट स्वास्थ्यचौकीका लागि एक–एक थान कन्सन्टे«टर हस्तान्तरण गरेका छन् । 

काठमाडौंबाट र केही व्यवसायीसँग सहयोग मागेर ती सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए । तर, सहयोगदाताको नाम भने उनले सार्वजनिक गरेका छैनन् । सामग्री ल्याउन आफूले कतैबाट पनि समस्या नझेलेको उनले बताए । पूर्वमन्त्री अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निजी क्षेत्रले हातेमालो गर्दै स्थापना गर्न लागेको अक्सिजन प्लान्टका लागि आफ्नो तलबभत्ताबाट प्राप्त हुने एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । रूपा गाउँपालिकाले कोभिड संक्रमणलाई मध्यनजर गर्दै अस्पतालका लागि १७ वटा सिलिन्डर खरिद गरेको छ । 

पूर्वमन्त्री एवं माओवादी सांसदले रोल्पा पठाए स्वास्थ्य सामग्री

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा कोभिड नियन्त्रण, रोकथामका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री पठाएका छन् । पुनले आइतबार रोल्पा अस्पताल, परिवर्तन, थबाङ र गंगादेव गाउँपालिकाका लागि अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री पठाएको बताए । त्यस्तै, दुई सय एन्टिजेन किट पठाएको र आजभोलि नै जिल्लामा पुग्ने उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेतासमेत रहेका पुनले यसअघि रोल्पा नगरपालिकाका साथै सुनीलस्मृति, सुनछहरी र माडी गाउँपालिकाका लागि ५० सिलिन्डर अक्सिजन पठाएका थिए । यद्यपि, ती सामग्री भने स्थानीय तहकै लगानीमा पठाइएको उनको सचिवालय सदस्य जीवन रोका मगरले जानकारी दिए । जिल्लामा स्वास्थ्य सामग्री पठाउँदा काठमाडौंबाट सीधै रोल्पा पठाइएकाले त्यस्तो समस्या नभएको बताइएको छ । 

 

अक्सिजन बाँड्ने काम सांसदको होइन, भोलि सांसदले मै उपचार गर्छु भने के गर्ने ?

डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय

 

देशभरि अक्सिजन अभाव छ । अक्सिजन अभावमा ठाउँठाउँमा बिरामीको निधन पनि भयो । कहाँ कति बिरामी छन्, अक्सिजनको अवस्था के छ भन्ने जानकारी लिने र सोहीअनुसार वितरण गर्नुपर्नेमा अहिले सांसदहरूले सकेजति सिलिन्डर जम्मा गर्ने, वितरण गर्ने र फोटो खिचाउने होड चलेको छ । अक्सिजन जनताको आधारभूत अधिकार हो, तर सांसदको बलबुताले मात्र पाउने हो ? 

अक्सिजन वितरणको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो । जसको जे जिम्मेवारी छ उसले त्यही काममा ध्यान दिनुपर्छ । सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै हिँड्ने होइन । कसैले त्यसो गर्छ भने सरासर गलत हो । सांसद र मन्त्रीले आफ्नो सरकारलाई विश्वास गर्नुपर्छ । भोलि कुनै सांसदले म आफैँ उपचार गर्छु भन्नुहोला, त्यसरी बिरामी निको हुँदैन । उहाँहरूले जनताका माग राख्ने हो, काम सम्बन्धित निकायले गर्छ । सरकारले अक्सिजन वितरणको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएको छ । उहाँहरूले सरकारलाई विश्वास गर्नुपर्छ । 

तर, सांसदले हातहातमा सिलिन्डर लिएर हिँडेका छन्, घरमा स्टोर गरेका छन् । पहुँचवाला मन्त्री वा सांसद भएन भने त्यहाँका जनताले के गर्ने ? 

हामीले दिएको सिलिन्डर घरघरमा लग्न पाइँदैन । हामीले सांसदलाई होइन, अस्पताललाई अक्सिजन दिएका हौँ । अस्पतालको पत्रका आधारमा यहाँबाट पठाइएको छ । त्यसमा सांसदले जस–अपजस पाउनुपर्ने केही छैन । मन्त्री वा सांसद भएकाले दिएको होइन । अक्सिजनमा पहुँचवाला सांसद र मन्त्री भएर केही हुँदैन । आवश्यकताका आधारमा वितरण भएको छ र हुन्छ । अस्पतालले नै हामी आउन सकेनौँ पठाइदिनु भनेर पत्राचार गरेपछि हामीले सांसदलाई पठाउनु ठूलो विषय होइन ।

अक्सिजन र सिलिन्डर वितरण अस्तिसम्म सिसिएमसी र अहिले स्वास्थ्य मन्त्रालयले गर्ने भनिएको छ । जनप्रतिनिधिको रूपमा सांसदहरूले माग गर्न सक्छन्, ध्यानाकर्षण गराउन सक्छन्, तर सिलिन्डर उनीहरूलाई नै जिम्मा दिनु कति उपयुक्त छ ? 

सांसदहरूको दबाबमा अक्सिजन सिलिन्डर दिइएको छैन । अक्सिजन वितरण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हो । हामीले कुन–कुन अस्पताललाई कति सिलिन्डर दिने भनेर तोकेका छौँ, त्यसमा दायाँबायाँ भएको छैन । अहिले निधेषाज्ञा छ, त्यसैले जिल्लामा पठाउने सिलिन्डर कुनै सांसद जाँदा म लैजान्छु भन्छ भने दिने हो । त्यो सांसदको दबाब र प्रभाव भन्ने केही पनि छैन, सिसिएमसीले वितरण गर्ने भनेर निर्णय भएपछि कोटा लागू भएको हो । अहिले स्वास्थ्य मन्त्रालयले सिलिन्डर वितरणमा मापदण्ड नै बनाएको छ । कोटा होइन, बिरामीको संख्याका आधारमा अक्सिजन वितरण हुन्छ । १० जना बिरामी भेन्टिलेटरमा छन् भने २४ घन्टामा २१ सिलिन्डर र ५० जनाजति बिरामी एचडियूमा भए ८१ सिलिन्डर दिने मापदण्ड बनाइएको छ । यो अस्पतालको अधिकार हो । कसैको भनसुनले बढ्ने र घट्ने होइन । हो, अस्पताल लिन आउन नसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयले आफ्नै गाडी प्रयोग गरी सामान पठाउँदै आएको छ । 

कतिसम्म भने चीनबाट अनुदानमा आएका सिलिन्डर सांसदको घरमा देखिए । जिल्लाकै लागि लगिएका हुन् भने पनि ती सिलिन्डर सरकारी संयन्त्रबाट जानुपर्ने हो । तर, सांसदले घरमा राख्ने, आफ्नो समय मिलाएर जिल्ला लग्ने र आपूmलाई पायक परेको ठाउँमा वितरण गर्दा जिल्लामाथि पनि न्याय भयो र ? 

हामीले अक्सिजन सिलिन्डर सीधै अस्पतालमा पठाउने हो । सीधै अस्पतालको नाम किटान गरेर पठाउँछौँ । तर, सांसद कसैले बदमासी गरेका छन् भने त्यो गलत हो । 

चीनबाट आएका अक्सिजन सिलिन्डर प्रदेशअनुसार वितरण भएका छन् । तर, प्रदेशमा सिलिन्डर कसले ल्याएको हो भन्ने र जस लिने होडबाजी छ । प्रदेश २ मा ८५ सिलिन्डर गएका छन् । मन्त्री जुलीकुमारी महतोले प्रदेश २ मा कोटा नै थिएन, मैले आफ्नो प्रदेशमा ल्याएँ भन्नुभएको छ । प्रदेश २ को सरकारले कोटाअनुसार पाएको बताएको छ । अक्सिजनमा पनि पहुँचको लडाइँ किन भइरहेको छ ? 

चीनबाट आएका चार सय थान सिलिन्डर प्रदेश एक र प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा आवश्यकता हेरेर गएको छ । ८५ वटा सिलिन्डर प्रदेश २ मा पठाइएको छ । अब आउने सिलिन्डर प्रदेश २ मा पठाउँछौँ । त्यो स्वाभाविक प्रक्रियाअनुसार जाने हो । त्यसमा अन्यथा गर्नुपर्ने कुनै कारण छैन ।

अहिले अक्सिजनको माग र आपूर्तिको अवस्था के छ ?

कोरोना तीव्र गतिमा बढ्दै गएपछि अक्सिजनको धेरै अभाव भएको हो । किनकि कोरोनाले ग्रसित बिरामीलाई ठूलो मात्रामा अक्सिजन दिनुपर्ने हुन्छ । अहिले पनि अक्सिजनको धेरै माग छ । केही दिनअगाडि भन्दा अहिले सहज हुन थालेको छ । तर, पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । सीमित उद्योगहरू भएकाले उनीहरूबाट उत्पादन भएको अक्सिजनले अहिले अस्पतालको माग धान्न सकेको छैन । सकेसम्म हामीले सहज बनाउने प्रयास गरेका छौँ । 

राजधानीमा अक्सिजन कसरी वितरण भइरहेको छ ? प्रदेश र जिल्लामा कमान्ड कसको छ ? 

सोमबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशमा छन् । उपत्यकाका धेरै अस्पतालमा आफ्नै प्लान्ट छ । प्लान्ट आफ्नै भएका अस्पतालमा किन्नुपर्दैनथ्यो । तर, अहिले कोरोना त्यहाँ पनि अत्यधिक बढेको छ । भेन्टिलेटरमा राखिएका संक्रमितलाई प्रतिमिनेट ५० लिटरसम्म अक्सिजन दिनुपर्छ । दमको गम्भीर बिरामीलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिँदा पुग्नेमा अहिले कोभिडका बिरामीलाई प्रतिमिनेट ५० लिटरसम्म अक्सिजन दिनुपरेको छ । त्यसैले अक्सिजनको अभाव भएको हो । प्लान्टले अक्सिजन उत्पादन गरेर दिएमा कसैले पनि त्यसको ‘कमान्ड’ गर्नुपर्दैन । किनकि अस्पताल आफैँले अक्सिजन उद्योगसँग सम्झौता गरेको हुन्छ । सोही आधारमा उनीहरूले अक्सिजन पाउने हुन् । विगतमा मागभन्दा उत्पादन धेरै थियो । त्यसैले अक्सिजन उद्योग ८ देखि १० घन्टा मात्र चल्दै आएका थिए । तर, उद्योग अहिले २४सै घन्टा चलेका छन् । तैपनि माग बढी भएकाले धान्न गाह्रो परेको छ । त्यसैले सहज रूपमा मिलाउन स्वास्थ्य मन्त्रालयले जिम्मेवारी लिएको हो । ११आँै तहका दुई चिकित्सकले त्यसको सहजीकरण गरिरहनुभएको छ । 

ad
ad