मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख १० शुक्रबार ०७:२४:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिंगो नेपाललाई नेपालगन्जको सन्देश

वर्ष दिनको चेतावनीले पनि सरकारलाई चेतना नआएपछि अस्पताल बने असहाय

Read Time : > 8 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०७:२४:००

बेड भरिएपछि भेरी अस्पतालमा बिरामी बाहिरै, शिक्षण अस्पताल कोहलपुरमा पनि थप बिरामी भर्ना बन्द 
नेपालगन्जलाई उद्धार गर्न र राष्ट्रिय स्तरमा आपत्कालीन रणनीति बनाउन अब सरकारसामु अमूल्य घडी

......

रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका– ५ तारातालका तुलबहादुर गुरुङदम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उनीहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुगे । तर, राति ११ बजेसम्म बेड पाएनन् । 

अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्षबाहिर राखिएको बेडमा पत्नीसहित बसेका गुरुङले नयाँ पत्रिकासँग भने, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइदिनुप¥यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उनीहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै थिए । 

बर्दियाकै बारबर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले तीन घन्टाको पर्खाइपछि बल्ल आइसोलेसनमा बेड पाइन् । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । बेड नपाएरै बितिन्छ कि भन्ने भइसकेको थियो, बल्लबल्ल पाइयो,’ सुवेदीका आफन्त सौरभ गिरीले भने । 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बिरामीले बेड भरिएको बताए । उनका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने । 

भेरी अञ्चल अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् । अब थप बिरामी भर्ना गर्न नसकिने जनाउ अस्पतालले दिएको छ ।

भेरि अस्पतालमा एक सय ४२ आइसोलेसन बेड छन् । त्यस्तै, ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने डा. थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने सम्भावना छ । सबैले वेलैमा ध्यान पु¥याउनुपर्ने देखिन्छ,’ उनले भने, ‘भेरी अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन ।’

उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेडदेखि भेन्टिलेटरसम्म सबै भरिएका छन् । अस्पतालमा कोरोना संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले बताए । 

संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् । यही वेला आज (बिहीबार) मात्र १५ जना संक्रमित थपिएका छन् । उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भने, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’

बाँकेमा संक्रमितको संख्या तीव्र गतिमा थपिँदै गएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार बिहीबार मात्रै तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि एक हजार दुई सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएकाबाहेक केहीलाई राँझा विमानस्थलनजिकैको ह्वाइटहाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । 

......

संक्रमितले भरिँदै सेती प्रादेशिक अस्पताल

धनगढीबाट तेजराज भट्ट

सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । ५० शय्याको अस्पतालमा अहिले ३८ जना उपचाररत छन् । तीमध्ये तीनजनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ ।

अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन् । डेढ सातायता अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भइसकेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए । 

‘अहिलेकै हिसाबले संक्रमण बढ्दै गए केही दिनमै अस्पताल भरिन्छ,’ श्रेष्ठले भने, ‘५० जनाभन्दा बढीलाई धान्न सक्ने क्षमता अस्पतालमा छैन ।’ उपचाररत केही डिस्चार्ज पनि भइरहेकाले संक्रमितलाई फिर्ता पठाउनुपर्ने अवस्था भने अहिले आइनसकेको उनले बताए ।

गत फागुन अन्तिम सातासम्म अस्पतालमा बिरामीको संख्या शून्य थियो । चैत दोस्रो सातायता भर्ना हुन आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । त्यसयता सयजना संक्रमित भर्ना भइसकेका छन् । 

प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा संक्रमित दर पनि बढेको छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

अहिलेकै गतिमा संक्रमण फैलिए यहाँको स्वास्थ्य संरचनाले धान्न नसक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । अहिले लक्षणसहितका संक्रमित बढेको उनको भनाइ छ । ‘अस्पताल र आइसोलेसनमा संक्रमितलाई राख्न सीमित बेड छन् । संक्रमण अहिलेकै हिसाबले बढेमा ती संरचनाले धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले संक्रमणबाट बच्न व्यक्ति आफैँले पनि सुरक्षाका उपाय अपनाउनुपर्छ ।’

अहिले जिल्लाभर तीन सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ । बाँकी होम आइसोलेसनमा छन् । 

कैलालीमा सेतीको कोरोना अस्पतालमा ५०, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच आइसोलेसन बेड छन् । विद्यालय र सार्वजनिक भवनमा समेत गरी जिल्लाभरि साढे तीन सय आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । 

......

बुटवल कोरोना अस्पतालका आइसियू र भेन्टिलेटर ‘प्याक’

बुटवलबाट विष्णु घिमिरे

बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् । चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका छन् । 

अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार पछिल्ला दिनमा जटिल अवस्थाका बिरामीको संख्या बढिरहेको छ । बुधबार पिसिआर टेस्ट गरिएकामध्ये ५० प्रतिशतको रिपोर्ट पजिटिभ आएको छ । जिल्लाभर बिहीबार मात्रै एक सय २५ जनामा संक्रमण देखिएको छ । विशेष अस्पतालमा ३६ वटा आइसोलेसन बेड छन् । १४ चिकित्सक र ७० नर्स उपचारमा खटिएका छन् । 

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकतामा राखेर उपचार भइरहेको बताए । ‘तर, बेड प्याक भएकाले अब गम्भीर खालका बिरामीसमेत भर्ना गर्न सक्ने अवस्था छैन । सबैलाई भर्ना गरेर उपचार गर्ने अवस्था नै छैन । अहिलेकै दरमा संक्रमित बढे एक सातापछि थप जटिलता आउने स्थिति छ,’ उनले भने । प्रादेशिक अस्पतालमा छुट्टै सञ्चालन गरिएको फिबर क्लिनिकमा सात आइसोलेसन बेड छन् ।

प्रदेशका अन्य अस्पतालको पनि यस्तै अवस्था छ । भैरहवास्थित भीम अस्पतालमा नयाँ संक्रमितलाई भर्ना गर्न बेड नभएको मेडिकल सुपरिटेन्डेट डा. शकुन्तला गुप्ताले बताइन् । सबै बेड भरिएकाले बिरामीलाई फर्काउनुपरेको उनको भनाइ छ । 

......

नाकामा सतर्कता फितलो, हटस्पट बन्दै पर्सा

वीरगन्जमा तिवारी यादव

भारतसँगको खुला सीमाका कारण सहज आवतजावत र स्वास्थ्य मापदण्ड लागू गर्न सर्वसाधारण गम्भीर नहुँदा पर्सा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । स्वास्थ्य संस्थामा साधनस्रोतको अभाव छ, जसले संक्रमित बढ्दै जाने र मानवीय क्षति बढ्ने खतरा छ । युवा र बालबालिकासमेत संक्रमित भएपछि चिकित्सक पनि चिन्तित छन् । 

भारतमा भयावह रूप लिएको कोरोनाको असर सीमावर्ती जिल्लामा बढी छ । पर्सामा पनि संक्रमित हुने र ज्यान गुमाउने संख्या बढेको छ । नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार पछिल्लो समयमा अस्पतालमा परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हालसम्म नारायणी अस्पतालमा परीक्षण गराएकामध्ये पर्साका तीन सय २५ जना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेसँगै नारायणी अस्पतालमा गम्भीर बिरामी पनि बढेको डा. दासले बताए । 

उनका अनुसार बुधबारसम्म नारायणी अस्पतालको आइसियू र एचडियू कक्षमा गरी ३७ संक्रमित भर्ना छन् । अस्पतालको आइसियू र एचडियू वार्डको बेडक्षमता ४२ मात्र छ । बिरामी थपिँदै गए उपचारमा समस्या हुने अस्पताल प्रशासनको चिन्ता छ । अहिले जिल्लामा करिब तीन सय कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो एक हप्तामा पर्सामा मंगलबारसम्म सातजनाको मृत्यु भएको छ । जसमध्ये पर्साका पाँच र बारा र सर्लाही एक–एकजना छन् । 

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै चिकित्सकले स्थिति नियन्त्रणबाहिर जान सक्ने आशंका गरेका छन् । पछिल्लोपटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि रहेको र संक्रमण नियन्त्रणबाहिर जान सक्ने नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । उनका अनुसार गत वर्ष कोरोनाको संक्रमणबाट बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर, नयाँ भेरियन्टले उनीहरूलाई पनि बढी प्रभाव पारेको उनको भनाइ छ । डा. सिंहका अनुसार अहिलेको संक्रमणले धेरैलाई चिन्तित बनाएको छ । 

संक्रमित थपिँदै गए पनि स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिएको छ । जिल्लाका बजार क्षेत्रमा भिडभाड छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पर्याप्त गम्भीरता देखिएको छैन । नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किनेको व्यवस्थित स्वास्थ्य परीक्षण गरिएको छैन, यसले संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । भारतबाट फर्किनेका लागि क्वारेन्टिनको व्यवस्था छैन, उनीहरू सीधै घर गएका छन् । वीरगन्ज नाकामा स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले तापक्रम जाँचिरहेका छन् । 

सय डिग्रीभन्दा माथि तापक्रम भएकालाई शंका लागेमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । हेल्थ डेस्कमा अहिलेसम्म परीक्षण गरिएका साढे पाँच सयमध्ये २० जनामा एन्टिजेन पजिटिभ देखिएको छ । 

वीरगन्ज महानगरपालिकाका तर्फबाट हेल्थ डेस्कमा खटिएका ल्याब असिस्टेन्ट विपिन चौरसियाका अनुसार बुधबार परीक्षण गरिएकामध्ये चारजनाको पजिटिभ रिपोर्ट आएको छ । उनीहरूमध्ये दुईजना भारतीय हुन् । पजिटिभ देखिएका भारतीयलाई उतै फर्काइएको छ । कोरोनाको लक्षण देखिएका दैनिक ४० जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले जरिवाना गर्न थालेको हो । 

अस्पतालमा बेड अभावमा होम आइसोलेसनमा रहेका संक्रमित सबै चिकित्सकको परामर्शमा छन् । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सराबगीले आमनागरिक तथा सर्वसाधारणले व्यक्तिगत र सामुदायिक सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी भेला नहुन र पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा पूर्वस्वीकृति लिनुपर्ने प्रशासनले सूचना जारी गरेको छ ।

......

मोरङ पनि उच्च जोखिममा, पहिलाका पूर्वाधार नहुँदा संक्रमण रोकथाम चुनौतीपूर्ण 

विराटनगरमा गणेश लम्साल

पूर्वाधार र जनशक्ति अभावसँगै खुला सीमाका कारण मोरङ पनि कोरोनाको उच्च जोखिममा छ । पहिलो चरणको संक्रमण शून्यमा झरेपछि विराटनगरमा स्थापना गरिएको प्रदेशस्तरीय कोभिड अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बिदा भइसकेका थिए ।

अस्पताललाई प्रदेश सरकारले मुटुरोग विशेष अस्पताल बनाउने तयारी गर्दै थियो । तर, केही महिना नबित्दै दोस्रो चरणको संक्रमण सुरु भयो । अहिले हतार–हतार आंशिक कर्मचारी भर्ना गरेर संक्रमितको उपचार थालिएको छ । विराटनगर– १० मलाया रोडस्थित कोसी कोभिड अस्पतालमा अहिले २५ सक्रिय संक्रमितको उपचार भइरहेको छ । 

कोरोना संक्रमण रोकथाम गर्न पहिलो चरणमा प्रदेश १ सरकारले निर्माण गरेका प्रदेशभरिका आइसोलेसन र क्वारेन्टिन हटाइसकिएको छ । तर, ती क्वारेन्टिन र आइसोलेसन सेन्टर सुचारु गराउने पहल भएको छैन । जसका कारण प्रदेश १ मा कोरोना संक्रमण रोकथाम पहिलो चरणमा भन्दा बढी चुनौतीपूर्ण देखिएको छ । 

जनस्वास्थ्यविज्ञ डा. नवराज सुब्बाले सरकारको मात्र भर पर्दा अवस्था गम्भीर बन्ने बताए । ‘दोस्रो चरणको कोरोना संक्रमण झन् जोखिमपूर्ण अवस्थामा देखापरेको छ । भारतको संक्रमण र नेपालको संक्रमण उस्तै अवस्थामा छ । नेपालमा जनसंख्या थोरै भएकाले मात्र कम देखिएको हो । यस्तो अवस्थामा राज्यका सबै तहका सरकार झन् संवेदनशील हुनुपर्नेमा भएको पाइएको छैन,’ उनले भने, ‘हिजो बनेका आइसोलेसन, क्वारेन्टिन, हेल्थडेस्क, कोभिड अस्पताल सबै लथालिंग अवस्थामा हुनुले अवस्था झन् जटिल हुने पक्का छ । यसैले अब सर्वसाधारणले आफैँ सतर्क हुनुपर्छ । स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गर्नुपर्छ । सरकारको मात्र भर प¥यौँ भने झन् ठूलो जोखिममा पर्छौँ ।’ 

निजी अस्पतालले निर्माण गरेका कोभिड उपचार केन्द्र पनि हटाइसकेका थिए । अहिले विराटनगरका केही ठूला अस्पतालले आफैँ उपचार केन्द्र बनाउन थालेका छन् । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारको रबैया अहिलेकै जस्तै रहे संक्रमण रोक्न असमर्थ हुने बताए । ‘खराब बानी हामीले कहिल्यै सुधार गर्न जानेनौँ, जसले फेरि भयंकर महामारीको खतरामा पुगेका छौँ । हिजो पाएको दुःखबाट सिक्न नै चाहेनौँ, पहिलो चरण शून्यमा झरेपछि सरकारले सबै बिर्सियो । थप तयारी गरेर जोखिम टार्न सक्षम हुनुपर्नेमा बनाएका संरचना हटाउन सरकार हतारियो,’ उनले भने, ‘बालबालिका र जवान नै उच्च जोखिममा परिसकेका छन् । दोस्रो चरणको कोरोनाले विकराल रूप पक्कै लिने देखिन्छ । सरकारले अझै निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको छैन । सरकारको यस्तै रबैया रह्यो भने हामी संक्रमण रोक्न असमर्थ हुनेछौँ ।’

भारतमा निकै ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन्, तर मोरङका नाकामा आवतजावत खुल्लमखुल्ला छ । नाकामा स्वास्थ्य डेस्क पहिले जस्तै राखिएका छैनन् । केही स्थानमा राखिए पनि प्रभावकारी छैनन् । 

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक नितु गडतौलाले सरकारको मात्र भर परेर अहिलको संक्रमणबाट जोगिन सक्ने अवस्था नरहेको बताइन् । ‘सरकारको मात्रै भर परेर जोगिन सक्ने अवस्था छैन । सबै आफैँ सजग हुन आवश्यक छ ।

सरकारले पनि जारी सुरक्षा निर्देशिका आफैँले पनि पूर्ण पालना गरेर कार्यान्वयन गराउन प्रतिबद्ध हुन आवश्यक छ,’ उनले भनिन्, ‘उपचार सेवामा कुनै पनि प्रकारको विभेद हुनुहँुदैन । हिजो बनाएका सबै संरचना ब्युँताएर थप व्यवस्थित बनाउनुपर्छ । यसमा निजी क्षेत्र र नागरिक समाजले पनि सहयोग गर्नुपर्छ ।’

प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारले युद्धस्तरमा काम गर्नुपर्ने र नागरिकले पनि स्वास्थ्य निर्देशिका आफैँले पूर्ण पालना गर्ने वेला आएको बताए । ‘पहिलो चरणमा प्रदेश १ का १४ वटै जिल्लामा आइसोलेसन, क्वारेन्टिन स्थापना भएका थिए, ती सबैलाई सकारले पुनः तयारी अवस्थामा राखेर सञ्चालनमा ल्याउन आवश्यक छ । नाका र अस्पतालहरूमा हेल्थडेस्क फेरि सुचारु गराउनुपर्छ । निजी अस्पताललाई पनि जिम्मेवार बनाउनुपर्छ । सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका आफैँले पूर्ण पालना गरेर नागरिकलाई पनि पालना गराउन लगाउनुपर्छ,’ उनले भने ।

मनोविमर्शकर्ता मन्जिता उपाध्यायले दोस्रो चरणको संक्रमण बढेसँगै मानसिक समस्या भएकाहरू बढ्न सक्ने बताइन् । ‘पहिलो चरणको कोरोना संक्रमणकालमा धेरै व्यक्ति र घरपरिवार मानसिक समस्या झेल्न बाध्य भइसकेका छन् । कतिले आत्महत्या नै गरेका थिए,’ उनले भनिन्, ‘दोस्रो चरणमा यो समस्या झन् धेरै बढ्ने अवस्था छ । यसैले सरकारले नागरिकको मनोबल उच्च बनाउन मनोविमर्श सेवा अविलम्ब सुरु गराउनुपर्छ ।’

पहिलो चरणको संक्रमणमा परेका सरोज पोखरेलको भनाइ छ, ‘सेवामा वर्गीय विभेद हुनुहुँदैन । नागरिकले सरकारको मात्र मुख ताकेर संक्रमण रोकिँदैन, आफैँ जागरुक हुनुपर्छ ।’

दलित अधिकारकर्मी उमेश विश्वकर्माले पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि दलित र गरिब मारमा पर्ने जोखिम रहेको बताए । जिफन्ट प्रदेश १ समिति सचिव नीलम ढुंगेलले सीमा क्षेत्रमा विशेष निगरानी बढाउनुपर्ने अवस्था आएको बताए । अभियन्ता कपिल सुनारले युवा र नागरिक समाज सहयोगका लागि अगाडि आउनुपर्ने वेला भएको बताए । महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिमल्सेनाले संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नभएको सुनाए ।