Skip This
ad
एमनेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन : नेपाली जनताप्रति सरकार कठोर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमनेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन : नेपाली जनताप्रति सरकार कठोर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:३o:oo
गत साउन पहिलो साता चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी तथा सैनिकले कुसुम खोलास्थित घरमा आगो लगाइदिएपछि बिचल्लीमा परेका विष्णुहरि प्रजा । हात्तीले भत्काएर तथा आगो लगाएर विष्णुहरिजस्तै १० परिवारको घरवास उठाइएको थियो । यो विषयलाई पनि एमनेस्टीले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।  फाइल तस्बिर  / नयाँ पत्रिका

महामारीका वेला नागरिकप्रति न्यूनतम जिम्मेवारी पनि पूरा नगरी कठोर रूपमा लकडाउन लागू ,  विदेशमा भएका कामदार अलपत्र ,क्वारेन्टिनमा अमानवीय व्यवहार , भोकले मृत्यु र बलात्कार ,  आवाज उठाउने नागरिकमाथि अत्यधिक बल प्रयोग , विपन्नका घरमा राज्यले नै आगो लगाइदिएको विषयमा एमनेस्टीको चिन्ता

नेपालमा शान्तिपूर्ण प्रदर्शनमा पनि नागरिकमाथि बल प्रयोग बढेको भन्दै एमनेस्टी इन्टरनेसनलले  चिन्ता व्यक्त गरेको  छ । प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने र नागरिक आवाज दबाउन नेपाल सरकार उद्यत् भएको एमनेस्टीको ठहर  छ । मानव अधिकारसम्बन्धी यो अन्तर्राष्ट्रिय संस्थाले सन् २०२० मा विश्वका एक सय ४९ मुलुकको मानव अधिकार अवस्था मंगलबार एकैसाथ सार्वजनिक गरेको छ । एमनेस्टीले गत वर्ष नेपालमा नागरिक स्वतन्त्रता कुण्ठित हुने घटना बढेको निष्कर्ष दिएको छ । 

‘विभिन्न विषयमा सरकारको आलोचना गर्न सडकमा निस्किएका नागरिकको शान्तिपूर्ण प्रदर्शनमा पनि प्रायः अत्यधिक बल प्रयोग भएको छ,’ एमनेस्टीले भनेको छ, ‘महामारीको समयमा लगाइएको लकडाउन कार्यान्वयन गराउनसमेत सुरक्षा बलले अक्सर अत्यधिक बलको प्रयोग गरेको छ ।’

त्यस्तै अभिव्यक्ति स्वतन्त्रतालाई पनि गम्भीर असर पार्न सरकार प्रयासरत रहेको एमनेस्टीको टिप्पणी छ । ‘अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर ढंगमा कुण्ठित गर्ने प्रावधानसहितका सरकारले ल्याएका मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक तथा सूचना प्रविधि विधेयकलगायतका विधेयकहरू संसद्मा विचाराधीन छन्,’ प्रतिवेदनमा भनिएको छ ।

एमनेस्टीले कोभिड– १९ का कारण लकडाउन भएपछि विदेशमा अलपत्र परेका लाखौँ नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल भएको पनि निष्कर्ष निकालेको छ । त्यस्तै, क्वारेन्टिनमै महिला बलात्कृत भएको, क्वारेन्टिनमा श्रमिकको सुरक्षा र स्वास्थ्यको प्रत्याभूति नभएको प्रतिवेदनमा उल्लेख  छ । धनुषामा प्रहरी हिरासतमा शम्भु सदा र कैलालीमा रोशन विकको मृत्यु भएको, तर प्रहरीमाथि पर्याप्त अनुसन्धान नभएको पनि एमनेस्टीले आरोप लगाएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले १० विपन्न चेपाङ परिवारको घरमा आगो लगाएर तथा हात्ती लगाएर घर भत्काइदिएर घरवास उठाएको विषय पनि प्रतिवेदनमा समेटिएको  छ । एमनेस्टीले द्वन्द्वका समयमा राज्यका सुरक्षा बल र सशस्त्र विद्रोही समूहद्वारा गरिएका अपराधसम्बन्धी ६३ हजारभन्दा बढी उजुरी परेको, तर पीडितहरूलाई सत्य, न्याय र परिपूरण गर्न सरकार असफल भएको मूल्यांकन प्रतिवेदनले गरेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगहरू प्रभावकारी र स्वतन्त्र अनुसन्धान गर्न विफल भएको पनि एमनेस्टीको टिप्पणी छ । ‘पीडितहरूसँग पर्याप्त परामर्श नगरी अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधहरूमा क्षमादान दिन मिल्ने कानुनको संशोधन नै नगरी दुई आयोगमा नयाँ आयुक्तहरूको नियुक्ति टुंगो लगाइएको छ,’ एमनेस्टीले भनेको छ, ‘द्वन्द्वकालीन अवधिमा संलग्न भएकालाई पूर्ण र स्वतन्त्र अनुसन्धानविना शक्तिशाली पदहरूमा नियुक्ति गर्ने कार्य जारी राखिएको छ ।’ 

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न घटनामा पीडक भनिएका दुई सय ८६ जनाको नाम सार्वजनिक गरेर जवाफदेही गराउने प्रयत्न गरे पनि सरकारले बेवास्ता गरेको एमनेस्टीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

वार्षिक प्रतिवेदनमार्फत एमनेस्टीका नौ चिन्ता 

-न्यायिक निकायको अनुमतिविना कुनै पनि नागरिकको फोन तथा अन्य सञ्चारको जासुसी तथा निगरानी गर्ने कानुन संसद्मा 

-प्रेस स्वतन्त्रता कुण्ठित गर्न, सरकारको आलोचना गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई दण्डित गर्न न्यायालयबाहिर नै निकाय खडा गर्ने गरी मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक तथा सूचना प्रविधि विधेयक संसद्मा विचाराधीन 

-कोभिड– १९ नियन्त्रणका लागि लगाइएको लकडाउनमा नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्ने कुनै पनि जिम्मेवारी बहन नगरी बल प्रयोग मात्र, तर क्वारेन्टिनमै महिला बलात्कृत, क्वारेन्टिनमा श्रमिकको सुरक्षा र स्वास्थ्यको आधारभूत प्रबन्धको पनि अभाव 

-आधारभूत अधिकारका लागि सरकारको आलोचना गर्दैै सडकमा उत्रिएका आमनागरिक तथा अधिकारकर्मीमाथि अत्यधिक बल प्रयोग, शान्तिपूर्ण आन्दोलनमाथि पनि सीधै सुरक्षाकर्मीको ज्यादती 

-विदेशमा अलपत्र परेका लाखौँ नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल

-धनुषामा प्रहरी हिरासतमा शम्भु सदा र कैलालीमा रोशन विकको मृत्यु भएको, तर प्रहरीमाथि पर्याप्त अनुसन्धान भएन 

-चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसोवास गर्दै आएका विपन्न चेपाङ परिवारको घरमा आगो लगाएर तथा हात्ती लगाएर घर भत्काइदिएर घरवास उठाइयो

-द्वन्द्वकालमा राज्यका सुरक्षा बल र सशस्त्र विद्रोही समूहद्वारा गरिएका हिंसा र अपराधसम्बन्धी ६३ हजारभन्दा बढी उजुरी परेकोमा पीडितलाई सत्य, न्याय र परिपूरण गर्न सरकार असफल 

-राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न घटनामा पीडक भनिएका दुई सय ८६ जनाको नाम सार्वजनिक गरेर सरकालाई जवाफदेही गराउने प्रयत्न गरे पनि बेवास्ता

ad
ad