मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत २४ मंगलबार
  • Sunday, 13 July, 2025
टेकराज थामी काठमाडाैं
२o७७ चैत २४ मंगलबार o५:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा 

वृद्धा आमाको बेवास्ता गर्ने सन्तान पक्राउ

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत २४ मंगलबार o५:५५:oo

ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्ने’ व्यवस्था

प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ । ८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ । छोरीविरुद्ध आमाको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मी छिन् । सुष्मा जाहेरवाला शोभाकी सहोदर छोरी हुन् ।

भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै आमा शोभाले छोरीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । 

उनले भने, ‘जाहेरीअनुसार भएभरको सबै सम्पत्ति छोरीले लिएको देखिन्छ । तर, आमालाई छोरीले बेवास्ता गरेको देखिन्छ । सोही आधारमा जाहेरी पर्‍यो । त्यसलगत्तै हामीले अनुसन्धान गर्‍यौँ । छोरी सुष्मालाई पक्राउ गर्‍यौँ ।’

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि जाहेरवाला शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । मृतक भूपेन्द्र र जाहेरवाला शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको आरोप छ । 

त्यसबाहेक मृतक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मीले झुक्याएर झिकेको आरोप छ । कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । 

जाहेरवाला शोभाको नाममा त्यसबोहक पनि विभिन्न कम्पनीमा सेयर थियो । त्यो पनि छोरी सुष्मा र ज्वाइँ कमलप्रसादले अनधिकृत झिकेका  थिए । सोहीअनुसार परेको जाहेरीका आधारमा सुष्मालाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘जाहेरवालाका श्रीमान् र जाहेरवालाको संयुक्त नाममा खोलिएको बैंकमा करिब तीन करोड रुपैयाँ नगद रहेछ । त्यो छोरी सुष्माले झुक्याएर झिकिछिन् । त्यसबाहेक सहकारीमा पनि जाहेरवालाका श्रीमान् भूपेन्द्रप्रसादका नाममा सम्पत्ति रहेछ । विभिन्न कम्पनीमा सेयर पनि रहेछ । त्यो पनि अनधिकृत रूपमा झिकेको भन्ने छ । यही आधारमा हामीले सुष्मालाई पक्राउ गरेका हौँ ।’

प्रहरीका अनुसार सुष्माविरुद्ध विशेष गरी ज्येष्ठ नागरिक ऐन, २०६३ को धारा आकर्षिक हुन्छ । ऐनको दफा ४ मा कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन भनी उल्लेख छ । सोही दफाको उपदफा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख छ । 

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था छ । 

ऐनको दफा २६ को उपदफा २ मा छ,‘ हेरचाह केन्द्र वा दिवासेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गर्नु–गराउनुहुँदैन । कसुर गरेको कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।’