
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिले सोसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरूविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो । संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।