१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Sunday, 29 September, 2024
दीपक अधिकारी काठमाडाैं
२o७७ फाल्गुण २६ बुधबार o८:३३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डिप्रेसन भएको कसरी थाहा पाउने ?

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार o८:३३:oo

कोभिड महामारीले निम्त्याएको असामान्य अवस्थाका कारण धेरै मानिसमा एन्जाइटी र डिप्रेसनजस्ता समस्या बढ्दै गएको अध्ययनहरूले देखाएका छन् । यस्ता समस्या बढ्नुको एक कारण निराशा पनि हो । 

नकारात्मक सोच/निराशाजस्ता समस्यालाई सुरुमै पहिचान गरी उपचार नगरिए जटिल अवस्था आउन पनि सक्छ । सुरुमै उपचार नगरिए मनमा अनावश्यक कुरा खेल्ने, नरमाइलो महसुस भइरहने र आत्महत्याको सोच आउन थाल्छ । सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार मानिसमा हुने विभिन्न स्वास्थ्य समस्यामध्ये डिप्रेसन चौथो स्थानमा थियो, तर सन् २०२० सम्म आइपुग्दा यो दोस्रो नम्बरमा पुगेको छ । यसकारण यसको पहिचान र उपचार सुरुमै गर्न आवश्यक छ । 

मुडमा असामान्य परिवर्तन
मुडमा असामान्य परिवर्तन आइरहनु डिप्रेसनको प्रारम्भिक लक्षण हो । विशेषगरी उदासीनता, दुःखी, रित्तो, रुन मन लाग्ने हुन्छ । डिप्रेसनको पहिचानका लागि मुख्य लक्षणहरूमध्ये कमजोर मुड (लो मुड) पनि एक हो ।

 इच्छा वा खुसीमा कमी
डिप्रेसनको दोस्रो लक्षणमा इच्छा, खुसीहरू घट्दै जानु हो । कुनै पनि विषयप्रति चाहना नहुनुका साथै कुनै पनि विषयमा खुसी महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण क्षेत्रहरूमा समेत इच्छाहरू एकाएक घट्दै जाने गर्छ ।

 तौलमा एकाएक परिवर्तन
जब व्यक्तिमा डिप्रेसन हुन थाल्छ, तौलमा एकाएक परिवर्तन देख्न सकिन्छ । तौल कि त बढ्ने गर्छ कि त घट्ने गर्छ । अध्ययनअनुसार बालबालिकामा भने तौल बढ्ने गरेको छ ।

 निद्रामा असन्तुलन
डिप्रेसन भएपछि प्रायःजसो व्यक्तिहरूमा राति निदाउन नसक्ने, तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कसैलाई आवश्यकभन्दा बढी निद्रा लाग्ने, कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।

 थकान
आवश्यकभन्दा बढी थकान हुनुका साथै अत्यन्त कम ऊर्जा महसुस हुनु पनि डिप्रेसनको लक्षण हो । यसले कुनै पनि विषयमा एकाग्रता नहुने, निद्रा नपुगेकोजस्ता लक्षण देखिने हुन्छ । अत्यधिक थकानले गर्दा शारीरिक परिश्रम गर्नसमेत कठिनाइ हुने गर्छ ।

 पश्चात्ताप महसुस 
डिप्रेसनबाट पीडित व्यक्तिलाई हरेक विषयमा पश्चात्ताप हुने गर्छ । आफू अयोग्य महसुस गर्न थाल्छन् । कुनै पनि विषयमा आफ्नो नियन्त्रण नहुने, नकारात्मक विचार बढी आउने गर्छ । जसले गर्दा हरेक सकारात्मक कुरामा समेत पश्चात्ताप, हीनताबोध गर्न थाल्छन् । 

 मृत्युको विचार आउने
डिप्रेसन भएका व्यक्तिमा असाध्य हीनताबोध हुने हुँदा मृत्युको विचार बढी आउने गर्छ । डिप्रेसन अत्यधिक मात्रामा भए आत्महत्याको विचारसमेत आउन थाल्छ । आत्महत्याको विचार आउँदैमा आत्महत्या गर्छन् भन्ने हँुदैन, नैराश्यताले भने मानसिक रूपमा कमजोर बनाउँदै लान्छ । 
 समाधान

  •      दैनिक क्रियाकलाप असामान्य लाग्दै आएमा मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श लिनुपर्छ ।
  •      दैनिक ध्यान, योग, प्राणायाम गर्नु राम्रो हुन्छ । शारीरिक परिश्रम हुने कसरत गर्नुपर्छ ।
  •      आफूलाई भएको अनुभूतिका बारेमा मनमिल्ने साथी वा परिवारलाई सेयर गर्नु राम्रो हुन्छ ।
  •     कुन कारणले डिप्रेसन भएको हो पहिचान गर्नुपर्छ । उक्त विषयमा तनाव लिनु कत्तिको जरुरी हो, थाहा पाउनुपर्छ ।
  •     प्राकृतिक भोजनको प्रयोग गर्नुपर्छ । जाँड, रक्सी, धुमपानको लत छ भने हटाउनुपर्छ । 
  •     सकारात्मक ऊर्जा मिल्ने पुस्तक, भिडियोहरू हेर्नु राम्रो हुन्छ ।
  •     सामाजिक कार्यमा सहभागिता जनाउने, एक्लै नबस्नु राम्रो हुन्छ ।
  •     बिहानीपखको घाममा कम्तीमा ३० मिनेट बस्नु राम्रो हुन्छ ।