१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o७:१२:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२३ राजमार्ग ६८ ठाउँमा अवरुद्ध

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o७:१२:oo

बिपी राजमार्गको करिब २०० मिटर सडक बाढीले बगायो, ३८० ठाउँमा एकतर्फी यातायात सञ्चालन

तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरू अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार मुग्लिन–काठमाडौं (पृथ्वी राजमार्ग), बर्दिवास–सिन्धुली–काठमाडौं (बिपी राजमार्ग), सिन्धुपाल्चोक–काठमाडौं (अरनिको राजमार्ग)लगायतका विभिन्न जिल्लासँग जोड्ने सडक अवरुद्ध छन् । साथै, विभिन्न राजमार्गका ६ वटा पुल पनि बगाएको छ । जसका कारण राजधानीसँग जिल्लाको आवातजावत टुटेको छ ।

२३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था छ । विभागका अनुसार उपत्यका भित्रिने मुख्य नागढुंगा नाका अवरुद्ध बन्न पुगेको छ । चन्द्रागिरि नपा–२ स्थित नागढुंगामा पहिरो जाँदा उपत्यका भित्रिने पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको हो । त्यसले गर्दा पश्चिमबाट काठमाडौं आउने गाडी बाटोमै अलपत्र छन् । मलेखुमा पनि पहिरो जाँदा पश्चिमको गाडी उतै अलपत्र परेका छन् । नागढुंगामा अलपत्र परेका गाडीहरूलाई शनिबार साँझ नागढुंगा सुरुङमार्फत काठमाडौं प्रवेश गराइएको छ । 

वर्षापछि काठमाडौं उपत्यकाबाट दक्षिणकाली हुँदै हेटौँडा निस्कने सिस्नेरी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । चिनियाँ नाका जोड्ने अरनिको र पूर्वलाई काठमाडौंसँग जोड्ने बिपी राजमार्ग पनि अवरुद्ध बन्न पुगेको छ । विशेष गरी काभ्रेको धुलिखेल हुँदै साँगा निस्कने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । बिपी राजमार्गको करिब २०० मिटर सडक खण्ड बाढीले बगाएको छ । ललितपुरको गोदावरी नपा–४ स्थित लेले–टीकाथली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । 

त्यस्तै, धनकुटाको चौबिसे गापा– १ राँके भेडेटार सडक खण्ड, खोटाङ हलेसी तुवाङचुङ नपा–१० स्थित मध्य पहाडी लोकमार्ग, दिप्रुङचुइचुमा गापा– ४ दिक्तेल–गाईघाट सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । इलामको इलाम नपा– ६ र ९ स्थित मेची राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध बन्न पुगेको छ । उदयपुरको कटारी नपा– १४ सिद्धिचरण राजमार्ग, नवलपरासी पूर्वस्थित बौद्धिकाली गापा– १ र गैँडाकोट नपा– ३ कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध बन्न पुगेको छ । म्याग्दीस्थित मालिका गापा– ६ बेनी–दरवाङ सडक खण्ड, तनहुँको व्यास नपा– १२ र बन्दीपुर गापा– १ स्थित पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध बन्न पुगेको छ । स्याङ्जाको वालिङ नपा– १३ सिद्धार्थ राजमार्ग, पाल्पाको बेगनासकाली गापा र तिनाउ गापा– ५ सिद्धार्थ राजमार्ग पनि पूर्ण अवरुद्ध बन्न पुगेको छ । अर्घाखाँचीको शीतगंगा नपा– २ गोरुसिंगे सन्धिखर्क सडक, रोल्पाको त्रिवेणी गापा– २ रुकुम घोराही सहिद राजमार्ग, गुल्मी छत्रकोट गापा– ३ तम्घास रिडी सडक, दाङको तुलसीपुर उमनपा– ३ दाङ सल्यान सडक र हुम्लाको सर्केगाड गापा– ४ कर्णाली करिडोर पनि पूर्ण अवरुद्ध बन्न पुगेको छ । 

यी हुन् बढी प्रभावित सडक 
विभागका अनुसार नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–मुग्लिन, बेनी–जोनसामे, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित छ । 

सातवटा पुल बगे 

कोदारी राजमार्गको लार्चा पुल 

बाढीले विभिन्न राजमार्गका सातवटा पुल बगाएको छ । मेची राजमार्गको पाँचथरस्थित हेवाखोलामा रहेको बेलिब्रिज बगाएको छ । गत वर्षको बाढीले त्यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । त्यही पुल अहिले पनि बाढीले बगाएको हो । यस्तै, खुर्काेट र रामेछाप जोड्ने सुनकोशीमा बनाइएको पुल पनि बगाएको छ । यसैगरी, घुर्मी र हर्कपुर जोड्ने सुनकोशी नदीमै बनाइएको पुल पनि बाढीले बगाएको छ । यस्तै, खोटाङ र उदयपुर जोड्न सुनकोशीमै बनाइएको फोक्सिङटार पुल पनि बाढीले बगाएको छ । इलाम–सन्दकपुर सडकको राताखोला पुल पनि बगाएको छ । कोदारी राजमार्गको लार्चा पुल पनि बगाएको छ । कान्ति लोकपथको बागमती पुल पनि बगाएको छ । बर्खामा आउने बाढीले पुल बगाउने भएपछि विभागले बेलिब्रिज स्टकमा राख्ने गर्छ । यस्तो अवस्थामा तत्काल जडान गर्न सकिने भएकाले बेलिब्रिज एकदमै महत्वपूर्ण मानिन्छ । अहिले विभागसँग हाराहारीमा १० वटा बेलिब्रिज स्टकमा छन् । पुल बगाएको ठाउँमा बेलिब्रिज जडान गरेर यात्रा गरिने विभागका प्रवक्ता उमेश श्रेष्ठले जानकारी दिए । बिभागका महानिर्देशक रामहरि पोखरेलले आवश्यताअनुसार बेलिब्रिज व्यवस्थापन हुने बताए । 

पृथ्वी राजमार्गको तनहुँ खण्ड १३ घण्टापछि सञ्चालन 
पृथ्वी राजमार्ग १३ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको पानीका कारण व्यास नगरपालिका– ३ मादी पुलनजिक सडक भासिदा राजमार्ग अवरुद्ध भएको थियो । सडक भासिएर शनिबार बिहान पाँच बजेदेखि बाटो बन्द थियो । बाटो बन्द भएपछि तत्कालै तीनवटा डोजर प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास भएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले शनिबार साँझबाट सडक सञ्चालनमा आएको बताए । शनिबार व्यास नगरपालिका– १३ स्थित घाँसीकुवामा पनि पहिरो गएको थियो । करिब चार घण्टापछि पहिरो पन्छाइएको थियो । 

अक्करको भिरको पहिरोले सडक अवरुद्ध 
शनिबार बिहान खाँदबारी–विराटनगर जोड्ने सभाखोला–लेगुवा सडक खण्डअन्तर्गत अक्करको भिरमा पहिरो गई सडक अवरुद्ध भएको थियो । धर्मदेवी नगरपालिका– ८ मा पर्ने अक्करको भिरस्थित कोशी राजमार्गमा माथिबाट सडकमा पहिरो झरी करिब २५ मिटर सडक पुरी सडक पूर्ण रूपमा अबरोध भएकोमा प्रहरी र सडक डिभिजन कार्यालय संखुवासभा तुम्लिङटारसँग समन्वय गरी जेसिबी ल्याई सडक खुलाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यो सडक अवरुद्ध हुँदा धेरै यात्रु मारमा पर्ने गर्दछन् भने मौसम प्रतिकूलताको कारण तुम्लिङटार विमानस्थलमा केही दिन देखि उडान अवरुद्ध छ । सडकसमेत बन्द हुँदा बिरामीहरूलाई धरान घोपा र विराटनगर लैजानसमेत समस्या देखिएको छ ।

अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालन 
अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टापछि सञ्चालनमा आएको छ । सडक शनिबार बिहानैदेखि अवरुद्ध थियो । सल्यान र दाङको सिमानामा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्रीनजिकै सडक भासिएपछि अवरुद्ध सडक नयाँ ट्र्याक खोलेर साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । एस्काभेटरको सहायताले भित्ता काटेर सडक निर्माणपछि एकतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत दाङ–सल्यान–सुर्खेत र सल्यान–बालुवासंग्रही–सुर्खेत सडक पनि सञ्चालनमा आएको छ । मदन भण्डारी राजमार्गको कालीमाटी गाउँपालिका चार टटेलीमा लेदोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो भने सल्यान सुर्खेत सडकको बनगाड कुपिण्डे नगरपालिका– ८ कोटभिरमा पहिरो जाँदा अवरुद्ध भएको थियो । एक्स्काभेटरको सहयोगले पहिरो हटाएपछि दुईतर्फी यातायात सञ्चालन भएको खत्रीको भनाइ छ । 

गण्डकी प्रदेश : केही सडक खुले, केही बन्द
पहिरोको कारण गण्डकी प्रदेशको राजधानी सहर पोखरा जोड्ने सडकमध्ये केही एकतर्फी खुलेका छन् भने केही बन्द रहेका छन् । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा, छिर्कनेस्थित पृथ्वी राजमार्ग सडकखण्ड र तनहुँ बन्दीपुर गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित पृथ्वीराजमार्ग सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तनहुँको भानु नगरपालिका– १ रमाइलो डाँडास्थित डुम्रे–बेँसीसहर सडकखण्ड पहिरो आई बाटो अवरोध भएकोमा हाल एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

म्याग्दी रगुगंगा गाउँपालिका– २ बेसरी बेनी–जोमसोम सडकखण्ड बन्द रहेकोमा दुवैतर्फ सवारी चल्ने गरी सुरु भएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ बांगेभिरस्थित बेनी–दरबाङ सडकखण्ड पहिरो आई बाटो अवरोध भएकोमा एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ । 

नवलपुरस्थित गैँडाकोट नगरपालिका– २ चिहानडाँडास्थित कालीगण्डकी करिडोरमा रूख ढलेर बाटो अवरोध भएको छ । नवलपुरस्थित बौद्धिकाली गाउँपालिका– ३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा पहिरो आई बाटो अवरोध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका ४ रामबजार बेँसीसहर–मनाङ सडकखण्ड पहिरो आई बाटो अवरोध भएको छ । प्रदेशमा भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द
पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । दर्जनौँ ठाउँमा पहिरो गएकाले सडक सञ्चालन गर्न केही दिन लाग्न सक्छ । बन्देउदेखि नै पहिरो खसेकाले सडक बन्द छ । सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा गएको सिन्धुपाल्चोक जिल्ला प्रहरीले जनाएको छ । चीन जोड्ने कोदारी राजमार्गको लिपिङ पुल बगाएको छ । लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी वडा नं ३ र ४ जोड्ने यो बेलिब्रिज बगाएकाले तातोपानी नाका पूर्ण रूपमा बन्द भएको हो । गाउँ पुग्ने सबै सडक पहिरोले बन्द भएका छन् । नदी तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ भागेका छन् । तातोपानी, बाह्रबिसे, खाडीचौर, मेलम्ची, जलबिरे, तिपेनी र बन्देउ क्षेत्रका स्थानीय तीन दिनदेखि त्रसित छन् । वर्षाले सबै बस्तीमा वितण्डा मच्चाएको छ । वर्षा कम भए पनि सडकबाट आवतजावत गर्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको प्रहरी स्रोतले जनाएको छ  सुनकोशी, भोटेकोशी, ब्रह्मायणी र इन्द्रावती नदीले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा ठुलो भौतिक क्षति भएको स्थानीय बताउँछन् । अरनिको राजमार्ग, मेलम्ची हेलम्बु, जलबिरे, नवलपुर जाने सहायक मार्गमा पहिरोले सडक अवरुद्ध भएका छन् ।

हेवाखोलाको बेलिब्रिज बगाउँदा मेची राजमार्ग अवरुद्ध 
पाँचथर–ताप्लेजुङ खण्डमा पर्ने मेची राजमार्गमा रहेको हेवाखोलामाथिको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध भएको छ । पुल बगाएपछि इलाम झापा हुँदै धरान, सुनसरीसँगको यातायात सम्पर्क टुटेको छ । मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फ आउने सवारीसाधनहरू बाटैमा अलपत्र बनेको छन् । हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ र पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा सवारी आवागमनमा प्रत्यक्ष असर पुगेको छ । २ असार ०८० मा आएको बाढीले बगाएर पुनः सो बेलिब्रिज २८ दिनमा तयार पारिएको थियो । 

कालीगण्डकी करिडोर अवरुद्ध
नवलपुरको हुप्सेकोट– ५ पांग्रेमा दलदले डेढगाउँ सडक अवरुद्ध भएको छ । इलाका प्र्रहरी कार्यालय रुद्रपुरका अनुसार शनिबार बिहान अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  कालीगण्डकी करिडोरको गैँडाकोट– ३ चिहानडाँडामा सालको रूख ढलेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । 

सुरुङमार्गबाट काठमाडौं प्रवेश गराइयो गाडी 
नागढुंगा पहिरोले अलपत्र परेका काठमाडौं आउने सबै गाडीहरूलाई निर्माणाधीन नागढुंगा सुरुङमार्गबाट काठमाडौं प्रवेश गराइएको छ । नागढुंगामा पहिरो गएपछि काठमाडौं आउने थुप्रै गाडी अलपत्र थिए । ती सबै गाडीलाई सुरुङमार्गबाट काठमाडौं प्रवेश गराइएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । 

शनिबार राति पनि चलेनन् रात्रि बस 
प्राकृतिक विपत्ति निम्तिन सक्ने भन्दै शनिबार राति पनि राजधानी प्रवेश गर्ने बाहिरने सवारीसाधन चलाउन रोक लगाइएको छ । काठमाडौं प्रशासनले थानकोट हुँदै बाहिरिने सवारीसाधन कलंकी, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन राति ९ बजेबाट बिहान ५ बजेसम्मका लागि रोक लगाएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार काठमाडौं जाने सडक अवरुद्ध भए पनि पोखरा जाने गाडीहरू भने मुग्लिन हुँदै भित्रिएको र बाहिरिएको बताए । यता हेटौँडा काठमाडौं जोड्ने सडक पनि पहिरो खसेर अवरुद्ध भएको छ ।

काठमाडौंमा मिलन विश्वकर्मा, तनहुँमा उपेन्द्र खनाल, संखुवासभामा नवीन गुरूङ, सल्यानमा दीपक शर्मा, कास्कीमा रोहितराज पराजुली, ताप्लेजुङमा केशवप्रसाद भट्टराई, सिन्धुपाल्चोकमा रामकृष्ण थापा, नवलपुरमा रामकुमार श्रेष्ठ, काभ्रेमा इन्द्रबहादुर थापा, मकवानपुरमा पोष्टराज अधिकारी र भरतपुरमा विवेक पोख्रेल ।