१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ असोज १३ आइतबार o६:१o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानन्यायाधीशले लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको गम्भीर आरोप

प्रधानन्यायाधीश श्रेष्ठमाथि छानबिन हुन्छ कि बार अध्यक्ष घिमिरेलाई कारबाही ?

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o६:१o:oo

नेपाली कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन नेतृत्वले प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चमा दुई न्यायाधीश सिफारिस गर्दा लेनदेन गरेको गम्भीर आरोप लगाएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठले अवकाश पाउनुभन्दा एक साताअघि न्यायाधीश सिफारिस गरेर गैरसंवैधानिक र गैरकानुनी काम गरेकोसमेत आरोप लगाएका छन् । 

‘तपाईं (प्रधानन्यायाधीश)ले लेनदेनको आधारमा नियुक्ति गर्नुभयो भनेर भनिसकेँ । तपाईंले आफूले लिएको हिसाबकिताब मिलानको लागि न्यायाधीश नियुक्ति गर्नुभयो,’ शुक्रबार काठमाडौं जिल्ला बारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता घिमिरेले भनेका थिए, ‘सक्नुहुन्छ भने थुन्नुस् । के कानुन लगाउने हो ? तपाईंले सबै कानुन लगाउन सक्नुहुन्छ ।’

शुक्रबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको सिफारिस सर्वोच्चको न्यायाधीश पदका लागि गरेको थियो । ६ न्यायाधीश नियुक्त गर्न सक्ने ठाउँ कानुनले दिएकोमा उक्त बैठकबाट दुई न्यायाधीश नियुक्तिको सिफारिस भएको थियो । 

प्रधानन्यायाधीश श्रेष्ठले गैरसंवैधानिक र गैरकानुनी काम गरेकाले ती नियुक्तिको साक्षी नबस्न बार अध्यक्ष घिमिरेले सरकार र संसद्लाई समेत आग्रह गरेका थिए । सिफारिस भएका दुवै न्यायाधीशलाई संसदीय समितिबाट स्वीकृत गर्न नहुने उनको आशय थियो ।

बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशले कार्यकारी शैली देखाएको टिप्पणी गरे । र, यस्तै व्यवहारका कारण पनि प्रधानन्यायाधीशलाई आफूहरूले न्यायाधीश नियुक्तिलगायत कार्यमा भूमिका खुम्च्याउन आग्रह गरेको उनको भनाइ छ ।

प्रधानन्यायाधीशमाथि लगाइएको आरोपको आधारबारे प्रश्न गर्दा बार अध्यक्ष घिमिरेले न्यायपरिषद् अध्यक्षको हैसियतमा उनीमाथि प्रश्न उठाएको बताए । ‘उहाँलाई प्रधानन्यायाधीश होइन, न्यायपरिषद् अध्यक्षको हैसियतले मैले भनेको हुँ । नियुक्ति गर्नै परेपछि खाली ६ मध्ये दुई मात्र किन गरियो ?’ उनले प्रश्न गर्दै शनिबार राति नयाँ पत्रिकासँग भने, ‘यस्तो व्यापक आशंका र अस्पष्टता रहेको वेलामा उहाँ कार्यकारीजस्तो हुन खोज्नुभयो । उहाँको कामगराइ ठिक छैन । जनगुनासो आयो, आलोचना आयो अनि सामाजिक अभियन्ताको हैसियतमा मैले त्यो प्रश्न गरेको हुँ ।’ 

न्यायपरिषद्मा बारले धर्ना दिइरहेकै वेला परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । जसपछि बारले विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति ‘गम्भीर असहमति र चिन्ता’ व्यक्त गरेको थियो । 

सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी अवकाशको मुखमा गरिएका निर्णयले आलोचना र विवाद निम्त्याउने गरेको बताउँछन् । यद्यपि, बार अध्यक्षको आरोपबारे उनले जानकारी नभएको बताए । प्रमाण नभई यस्तो गम्भीर आरोप कसैले कसैलाई लगाउन नहुने उनको भनाइ छ । ‘उहाँ (प्रधानन्यायाधीश)लाई आफूले जितेजस्तो लाग्यो होला, तर यो गलत परम्परा बस्यो । यो नजिर राम्रो होइन,’ पूर्वन्यायाधीश केसी भन्छन्, ‘वरिष्ठतम न्यायाधीशलाई संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ । परिषद् अध्यक्ष आफैँ अवकाशको मुखमा हुनुहुन्छ । यस्तोमा परिषद्का अन्य सदस्यहरूले पनि उहाँलाई रोक्न सक्नुपथ्र्यो ।’ 

न्यायपरिषद् सदस्य तथा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको नाम भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गरी पठाइसकेको छ । संसदीय समितिले उनीमाथि उजुरी आह्वान गरिसकेको अवस्थामा त्यस्ता व्यक्ति र अवकाश पाउन लागेका व्यक्तिले दीर्घकालीन असर गर्ने महŒवपूर्ण निर्णय गर्न नहुने बारको भनाइ थियो । 

गत वर्ष असोजमा भएको न्यायपरिषद् नियमावली संशोधनका लागि बार निरन्तर विरोधमा छ । संशोधन खारेज नगरीकन कुनै पनि नियुक्ति गर्न नहुने अडानमा रहँदै बारले परिषद्मा धर्ना दिने गरेको छ । तर, २० असोजमा अवकाश पाउन लागेका प्रधानन्यायाधीश तथा परिषद् अध्यक्ष श्रेष्ठले शुक्रबार ती नियुक्तिको निर्णय गरेका थिए । 

वरिष्ठ अधिवक्ता सविता भण्डारीले हतारमा गरिएको नियुक्तिले प्रश्न उब्जाएको बताइन् । न्यायपरिषद्को यस्तो गलत अभ्यासले नै विकृति–विसंगति बढेको उनको भनाइ छ । ‘नियुक्ति नगरी नहुनेजसरी गर्नुपर्ने के थियो ? उहाँपछि परिषद्मा अर्को अध्यक्ष आउनुहुन्नथ्यो र ? अवकाश पाउन एक साता बाँकी हुँदा उहाँले हतारमा दुईजना मात्र नियुक्ति गर्नुपर्ने कारण के त ? बार अध्यक्षले जहाँ प्रमाण दिनुपर्ने दिनुहोला, तर यस्तै प्रवृत्तिले गर्दा विकृति–विसंगति व्याप्त भएको हो,’ उनले भनिन् । 

न्यायाधीश नियुक्तिको विषयमा हरिकृष्ण कार्की प्रतिवेदनले पनि उल्लेख गरेको छ । प्रतिवेदनको सुझाव खण्डमा कार्यगत सुधार गर्नुपर्ने विषय छ । जसमा न्यायाधीश नियुक्ति राजनीतिक प्रभाव, भागबन्डा, आर्थिक प्रभाव, नातावाद, कृपावाद एवं मनोगत आधारमा निकटस्थ व्यक्तिलाई नियुक्त गर्ने गलत अभ्यास रहेको जनाइएको छ । साथै, कानुनले तोकेअनुसारको समयभित्रै नियुक्ति गर्न सुझाव दिइएको छ । 

बारले प्रधानमन्त्री केपी ओलीलाई १८ साउनमा बुझाएको पत्रमा पनि भावी प्रधानन्यायाधीश सिफारिसबाहेक अन्य संवैधानिक भूमिकामा नरहने गरी संविधान संशोधन गर्न आग्रह गरिएको छ । बारको १६औँ राष्ट्रिय सम्मेलनबाट जारी घोषणापत्रमा उक्त कुरा उल्लेख छ । 

प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा रहेको परिषद्मा वरिष्ठतम न्यायाधीश तथा भावी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा कानुनमन्त्री अजयकुमार चौरसिया सदस्य छन् । यसैगरी सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी तथा नेपाल बारका तर्फबाट वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ सदस्यका रूपमा छन् ।