नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी महाधिवेशनबाट कांग्रेसमा युवा नेतृत्व, युवाको चाहना र भावनाको सम्बोधन हुने बताएका छन् । ‘१४औँ महाधिवेशन आउँदै छ, अबको नेतृत्व राम्रो हुन्छ, युवासँग समन्वयात्मक नेतृत्व आउँछ, महाधिवेशनले युवा र युवाहरूलाई आगामी महाधिवेशनले सम्बोधन गर्छ भन्ने मलाई लाग्छ,’ बडूले भने ।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली कांग्रेस : नीति, नेतृत्व, संघर्ष र युवा पुस्ता’ विषयक विचार–विमर्शमा बोल्दै नेता बडूले लोकतन्त्र, संविधान र कानुनी शासनप्रति कमजोर निष्ठा भएका व्यक्तिहरूको जिम्मामा सत्ताको बागडोर पुगेका कारण मुलुकमा अस्थिरता बल्झिएको बताए । ‘यदि हामीले अहिले पनि जनतालाई प्रशिक्षित गर्न सकेनौँ भने फेरि पनि यो अवस्था दोहोरिनेछ,’ उनले भने ।
नेता बडूले नेपालमा प्रजातन्त्र स्थापना भए पनि स्थिरता कायम नरहँदा सधैँ समस्यामा फसेको बताए । ‘प्रजातन्त्रपछि हामी संविधान बनाउनमै अभ्यस्त भयौँ । सात दशकसम्म हामी संविधान बनाइरह्यौँ । हाम्रो सँगसँगै प्रजातन्त्र स्थापना गरेको भारत अहिले विश्वको शक्ति राष्ट्रका रूपमा अघि बढिरहेको छ,’ उनले भने ।
केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले बिपी कोइरालाको बाटोमा पार्टीलाई अघि बढाउन नसकेको बताए । ‘नेपाली कांग्रेसको नीति राम्रो छ, तर हाम्रा नेताहरूको नियत राम्रो छैन, पार्टीले बिपीको बाटो छाडिसक्यो,’ उनले भने ।
चौधरीले कांग्रेसको विधान र नीति समावेशी भए पनि नेतृत्वको व्यवहार समावेशी नहुँदा समस्या आएको बताए । ‘बिपी कोइरालाकै पालामा कांग्रेसले हिमाल, पहाड र तराई जोडेको थियो । त्यहाँ ब्राह्मण, क्षेत्री मात्रै होइन, महिला, दलित मधेसी, आदिवासी जनजाति र थारूहरूको प्रतिनिधित्व थियो, उनको अधिकारको सम्बोधन भएको थियो, र कांग्रेसले दुईतिहाइ बहुमत पाएको थियो,’ चौधरीले भने, हामी कहाँनेर चुक्यो रु यसको कारण हो, कांग्रेस समावेशी छ, कांग्रेसका नीति समावेशी छन् । तर, व्यवहार समावेशी छैन ।’
उनले पार्टीको नेतृत्व आपूmले गरेको गल्ती स्वीकार गर्न तयार नहुँदा चुनाव हारेको बताए । ‘आज कांग्रेस केन्द्रमा मात्रै होइन, प्रदेश र स्थानीय तहमा पनि हार्ने अवस्थामा कसरी पुग्यो रु यत्रो हारेको छ, तर पार्टीको नेतृत्व हारेको छैन भन्छ,’ चौधरीले भने, ‘कुनै वेला मधेस भनेको कांग्रेस थियो, र कांग्रेस भनेको मधेस थियो । तर, आज मधेसमा चौथो स्थानमा कांग्रेस छ । तर, हाम्रो नेतृत्व भन्छ, कांग्रेस हारेकै छैन । त्यसैले जबसम्म हामी आत्मसात् गर्दैनौँ, तबसम्म हामी जितका लागि लड्न तयार हुँदैनौँ ।’
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे र महालक्ष्मी उपाध्याय डिनालगायत नेताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए ।