१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ७ शुक्रबार
  • Friday, 05 July, 2024
श्रवण थापा सर्लाही
२o७७ फाल्गुण ७ शुक्रबार o७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जित सुनिश्चित गर्न आन्दोलनमा दृढतापूर्वक लागौँ : प्रचण्ड

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७७ फाल्गुण ७ शुक्रबार o७:o७:oo

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरोधी आन्दोलनको जित सुनिश्चित गर्न दृढतापूर्वक आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई बिहीबार हरिपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार प्रतिगमनकारी बनेकाले लामो संघर्षपछि प्राप्त संविधान र लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । ‘ओली सरकार प्रतिगमनउन्मुख बनेको छ, त्यसैले केपी ओली प्रवृत्तिलाई परास्त गरी संविधान, लोकतन्त्र र गणतन्त्रको जित सुनिश्चित गर्न पहिलाको भन्दा थप दृढता र संकल्पका साथ आन्दोलन गर्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले भने, ‘प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध संविधानमा भएका सकारात्मक र प्रगतिशील कुरालाई हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने, निरंकुशता फेरि लाद्न खोज्ने प्रवृत्ति अहिले केपी ओलीको सरकारमा देखा परेको छ ।’ 

वर्तमान सरकारले निम्त्याएको समस्या सबै नेपालीको साझा समस्या भएको बताउँदै उनले विरोधमा पनि सबैले साझा धारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, अध्यक्ष प्रचण्डले संविधानका अधिकारको रक्षा गर्दै बाँकी अधिकारका लागि संविधान संशोधन गर्न आफू लचक रहेको पनि प्रस्ट्याए । 

मधेसी, आदिवासी जनजाति, महिला, दलित तथा अल्पसंख्यक समुदायको हक–अधिकारको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुको कुनै विकल्प नभएको दाबी गर्दै उनले अन्त्यमा सम्पूर्ण नेपालीलाई एक भएर आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे ।

अर्का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याजी र सुदखोरहरूको विरुद्धमा लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । नेता नेपालले गरिब, महिला र दलितहरूमाथि दमन र अत्याचार गर्नेहरू कम्युनिस्ट हुनै नसक्ने दाबी गर्दै उनले त्यस्ता प्रवृत्तिका जोकोही कार्यकर्तालाई सुध्रिन चेतावनी पनि दिए । सुदखोरहरूसँग मायाप्रीति गाँस्ने, सुदखोरलाई बचाउने, उनीहरूको पैसामा मोजमस्ती गर्ने कसैलाई पनि पार्टीले माफी नदिने उनको भनाइ थियो ।अध्यक्ष नेपालले नेता वाग्लेले जिल्लाका विपन्न परिवारलाई मिटरब्याजीबाट जोगाउन ठूलो योगदान पुर्‍याएको स्मरण गरेका थिए । 

कार्यक्रममा वाग्लेकी धर्मपत्नी सरस्वती मिश्र वाग्लेले पतिको निधन रहस्यमय रहेको जानकारी गराउँदै घटनाको छानबिनमा प्रहरीले कमजोरी देखाएकोमा आक्रोशसमेत व्यक्त गरिन् । रातिको समयमा भएको घटनालाई प्रहरीले सामान्य ढंगले लिएका कारण अनुसन्धान निष्पक्ष हुन नसकेको उनले दाबी गरिन् । उनले श्रीमान्को सपना पूरा गर्न अब राजनीतिमा आउने घोषणा पनि गरिन् । 

केन्द्रीय सदस्य वाग्लेको गत २१ माघमा राति सडक दुर्घटनामा परेर निधन भएको थियो । पार्टीले बरहथवामा आयोजना गरेकोे मसाल जुलुसलाई सम्बोधन गरेर फर्कँदै गरेका उनी बरहथवा नगरपालिका– ९ मूर्तिया जंगलमा मोटरसाइकलसहित दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो । शोक–सभामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका कार्यकारणी समिति सदस्य महेन्द्र राय यादवलगायतका नेताहरू पनि सहभागी थिए । 

ad
ad
ad
ad